किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ विश्वका चर्चित धर्म गुरुहरूमध्ये एक हुनुहुन्छ। वहाँको जन्म इलामको माङसेबुङ गाउँपालिका–२ (तत्कालीन इभाङ–२) आगौटेबारीमा २०११ मंसिर १८ गते भएको हो। बाल्यकालदेखि नै आध्यात्मिक अभ्यास गर्ने र महागुरु फाल्गुनन्द लिङ्देन कालीन घटना र वस्तुको सोधीखोजी गर्नुभएकाले वहाँलाई सानो छँदा ‘बालागुरु’ नामले पुकारिन्थ्यो।
बाल्यकालदेखि नै आध्यात्मिक साधनामा लाग्नुभएका वहाँले २०२७ सालमा करिब ६ महिना गुफासाधन गर्नुभयो। त्यही बेला जिजुबाजे महागुरु फाल्गुनन्दका अधुरो कामलाई पूर्णता दिनुपर्ने वहाँलाई देवआज्ञा भयो। उक्त साधना सफल भएपछि नै वहाँलाई ‘किरात धर्मगुरु’ घोषणा गरिएको हो। किरात धर्मगुरु घोषणापछि नै वहाँले उक्त जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
धर्मगुरुको जिम्मेवारी सम्हालेसँगै वहाँले महागुरु फाल्गुनन्द कालीन तपोभूमि र महागुरुसँग सम्बन्धित वस्तुको खोज, अध्ययन सँगसँगै धर्मको प्रचारप्रसार शुरु गर्नुभयो। यसक्रममा विभिन्न थुममा रहेका किरात समुदायको वस्तीहरू घुम्नुभयो। धार्मिक तथा सांस्कृतिक जागरण अभियान सञ्चालन गर्नुभयो।
यस्तै, २०२९ सालमा माङइङघङ (भविष्यवाणी) गर्नुभएको छ। मुलुक र प्राणी जगतका विषयमा छिटफुट रुपमा धेरै पटक भविष्यवाणी गर्नुभएको भए पनि २०४९ माघ ३ गते गर्नुभएको भविष्यवाणीको विशेष चर्चा हुने गरेको छ। वहाँले आफ्ना भक्तजनहरूलाई सामान्य भेटघाटका क्रममा र कार्यक्रम आयोजना गरेर नै माङसिवाखाहुन (उपदेश) दिनुका साथै र भविष्यवाणी पनि सुनाउँदै आउनुभएको छ। यस लेखमा वहाँका उपेदश र भविष्यवाणीबारे चर्चा गरिएको छ।
माङसिवाखाहुन (उपदेश)
धर्मगुरु आत्मानन्द लिङ्देनले भक्तजनहरूलाई मिहिन ढंगले सम्झाउँदै आउनुभएको छ। उपदेश दिने क्रममा मानिसले दैनिक व्यवहारमा गर्नुपर्ने कामलाई कसरी सुधार गर्न सकिन्छ भनी सुझाउने गर्नुहुन्छ। जस्तै– सरसफाइ, खानपिन, शिक्षा र सेवाभक्ति आदि।
सरसफाइः सरसफाइ सामान्य र झिनामसिना कुरा जस्तो लाग्छ। तर, धर्मगुरुले यही विषयलाई विशेष महत्त्व दिंदै आउनुभएको छ। यो पंक्तिकार करिब नौ वर्षको हुँदाताका अर्थात् २०४९ सालदेखि धर्मगुरुको आशीर्वचन श्रवण गरिरहेको छ। त्यो बेलादेखि अहिलेसम्म पनि मानव जीवनमा सरसफाइको भूमिका र महत्त्वबारे धर्मगुरुले उपदेश दिंदै आइरहनुभएको छ। दैनिक जीवनशैलीसँग जोडिएका यी कुराहरू सामान्य जस्तो लागे पनि यो मानव स्वास्थ्य, सभ्यता र वातावरणसँग जोडिएका हुन्छन्।
खानपिनः सरसफाइ जत्तिकै महत्त्वपूर्ण विषय हो, खानपिन। यो अति संवेदनशील पनि छ। खानपिन मानिस बाँच्नका लागि त आवश्यक छ नै तर बाँच्नका लागि मात्रै खानपान गरिंदैन। खानपिपनले मानव सभ्यता पनि देखाउँछ। स्वास्थ्य रहन पनि खानपानकै हात हुन्छ। मनोरञ्जन र संगतका कारण पनि विभिन्न वस्तु सेवन गरिन्छ। तीमध्ये केहीले स्वास्थ्यमा नकारात्मक असर पार्दछ। त्यसैले धर्मगुरुले खानपिनलाई महत्त्व दिएर उपदेश दिंदै आउनुभएको छ।
धूमपान, मद्यपान, लागुओैषध जस्ता वस्तु सेवनले मानव स्वास्थ्य बिग्रिन्छ। त्यसैले शुद्ध, शाकाहारी, सात्त्विक भोजनमा धर्मगुरुले महत्त्व दिनुभएको छ।
शिक्षाः मानवलाई सभ्य, स्वस्थ र सचेत बनाउन शिक्षा अनिवार्य छ। महागुरु फाल्गुनन्दले पुरुष वा महिला जो सुकैलाई समान शिक्षा दिनुपर्छ भन्नुभएको छ। धर्मगुरुले पनि यस विषयलाई जोड दिंदै आउनुभएको छ। प्रत्येक आशीर्वचनमा वहाँले सबैले शिक्षा लिनुपर्ने बताउँदै आउनुभएको छ। जसमा मातृभाषाको शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गर्दै आउनुभएको छ।
सेवाभक्तिः मानवीय जीवनलाई शान्ति, समृद्ध र मर्यादित बनाउनका लागि आध्यात्मिक चेतनाको आवश्यकता पर्दछ। माङ (ईश्वर), प्रकृति र प्राणीसँग नजिक हुन माङको सेवाभक्ति आवश्यक छ। जसका लागि आस्था र विश्वास राख्नुपर्छ। त्यससँगै त्याग र तपस्या पनि गर्नु पर्दछ। यी चिजको अभ्यासबाट मात्रै ज्ञान प्राप्त हुन्छ। माङ चिनिन्छ, प्राप्ति हुन्छ।
जब मानिसले ज्ञान हासिल गर्छ तब दया, माया, करुणाको विजारोपण हुन्छ। प्रकृति, जीव र मानवीय संवेदनशीलता बुझ्ने हुन्छन्। आचरण, अनुशासन र मर्यादाको महत्त्व बुझ्छन् र त्यसलाई आत्मसात् गर्छन्। यी कुराहरूलाई अवलम्बन, अनुशरण गर्ने व्यक्ति माङको नजिक हुन सक्दछ। त्यसैले माङको भक्ति गर्न धर्मगुरुले सदैव उत्प्रेरित गरिरहनुभएको छ।
भविष्यवाणी (माङइङघङ)
किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले विभिन्न समयमा भविष्यवाणी गर्दै आउनुभएको छ। कहिले आध्यात्मिक साधनाको क्रममा, कहिले भव्य समारोहबीच भविष्यवाणी गर्नुभएको छ। कहिले भक्तजनसँग भेटदर्शनमा अचानक भविष्यवाणी गर्दै आउनुभएको छ। वहाँले विभिन्न समयमा गर्नुभएको माङइङघङबारे छोटो चर्चा गरौं।
(क) २०२७ सालः ‘पूर्वमा नजानु रगतको खोला बगेको देख्दैछु, जहाँ नयाँ देशको निर्माण हुन खोज्दैछ।’
भक्तजनहरूसँगको भेटदर्शनमा किरात धर्मगुरुले वि.सं. २०२७ साल (सन् १९६९/७०) तिर यो भविष्यवाणी गर्नुभएको हो। सन् १९७१ मा पाकिस्तानमा सशस्त्र संघर्ष भयो। त्यही संघर्षका कारण पाकिस्तानबाट छुट्टिएर बंगलादेश नयाँ मुलुक बन्यो।
(ख) २०३६ सालः ‘यस पटक पञ्चायतले विजय गरे पनि पञ्चायतको आयु १० बर्ष मात्र हुनेछ।’
राजा महेन्द्र शाहले शुरु गरेको दलविहीन पञ्चायतको विरोध हुन थालेपछि तत्कालीन राजा वीरेन्द्र शाहले २०३६ सालमा बहुदलीय व्यवस्था वा दलविहीन पञ्चायती व्यवस्था छान्ने जनमत संग्रहको घोषणा गरेका थिए। यसलाई लक्षित गरी किरात धर्मगुरुले लारुम्बास्थित निजी गुरुआश्रममा यो भविष्यवाणी थियो। २०३७ वैशाख २० गते भएको जनमत संग्रहमा पञ्चायतको पक्षमा जनमत आयो। भविष्यवाणी गर्नुभएको १० वर्षपछि २०४६ फागुन ७ गतेदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि जनआन्दोलन शुरुभयो। ५० दिनसम्म चलेको आन्दोलनले निर्दलीय पञ्चायती व्यवस्था ढल्यो। र, २०४६ चैत २६ गते राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्स्थापना भएको घोषणा गरे।
(ग) २०२९ कात्तिक २१ गतेः ‘इलिक सेवा केजोक्पा, नोयाम्बक नो खाजोङ केजोक्पा नु ताफेम्बा याम्बक केजोक्पा, लायोलासो केजोक्पा केरेक इङ्गा सेन्दुङसिङ पातुआङ वारो। (धेरै सेवाभक्ति गर्ने, राम्रो काम गर्ने र नराम्रो कर्म गर्ने, पाप कर्म गर्नेहरू म छुट्याउँछु है।)’
इलामको माङसेबुङ गाउँ पालिका वडा नं ३, २ र ६ को संगम स्थल (साविक बाँझो, इभाङ गाविसको संगमस्थल थालाचेप्पा) माङमालुङमा किरात धर्मगुरु तपस्यामा रहनुहुँदा यो माङघङ गर्नुभएको हो। युमामाङ आत्मामा प्रकट भएर उक्त सन्देश दिनु भनेकाले आफूले दिएको धर्मगुरुले बताउनुभएको थियो।
धर्मगुरुका अनुसार, कलियुगको अन्त्यतिर धर्म र अधर्मबीच ठूलो द्वन्द्व हुनेछ। समाजमा झै झगडा, कलह बढ्नेछ। नेपाल लगायत संसारमा हिंसात्मक गतिविधि बढ्नेछ। मानवीय संवेदनशीलता हराउने र रक्तपात बढ्नेछ। सृष्टिको नियम विपरीत हुने यस्ता अमानवीय क्रियाकलापले माङ रिसाएर ठूलठूला विनाशकारी प्रकोपहरू आउनेछन्। यस समय मानिसका लागि परीक्षाको घडी हुनेछ। जसले माङको भक्ति गर्छ, समाजलाई राम्रो काम र सन्देश दिन्छ, उसलाई मात्रै युमामाङले संरक्षण गर्नेछन् भन्नुभएको छ।
धर्मगुरुको यो भविष्यवाणीलाई अध्ययन गर्दा संसार अहिले यही अवस्थामा छ। किनकि, विश्वमा अनेकौं विवाद छन्। मानवीय संवेदनशीलता हराएको छ। हत्या, हिंसा, बलात्कार आदि संवेदनहीन गतिविधि बढ्दो छ। यससँगै दैवीप्रकोप पनि भइरहेको छ। यही जटिल अवस्थामा माङको भक्ति र सकारात्मक काम गर्यौं भने मात्रै सत्यको मार्गमा हुनेछौं। यस विपरीत अमानवीय गतिविधिमा संलग्न भए माङले छुट्याएर कलीको भागमा जानेछौं।
(घ) २०४९ माघ ३ र ४: धर्मगुरुको आज्ञा अनुसार किरात चोत्लुङ गुरु माङगेन्ना सेवा समितिको आयोजनामा इलामको माङसेबुङ गाउँपालिका–५ (तत्कालीन बाँझो गाविस–९) भालुटारमा २०४९ माघ ३ र ४ गते भविष्यवाणी समारोह आयोजना गरेको थियो। स्वदेश तथा विदेशका हजारौं भक्तजन तथा शुभेच्छुकहरू सहभागी उक्त समारोहमा धर्मगुरुले विभिन्न विषयबारे भविष्यवाणी गर्नुभएको थियो।
(१) विश्वको आयु तथा महाप्रलय, (२) भारत र पाकिस्तान युद्ध, (३) अमेरिकी शक्ति क्षय हुने, (४) युरोपेली शक्ति टुक्रिने, (५) विनाशकारी तेस्रो विश्वयुद्ध, (६) भूतपूर्व सैनिकहरू विदेश जाने, (७) अग्नि शक्ति बढ्ने, (८) २/२ माइलमा मात्रै मान्छे, (९) पृथ्वीको दक्षिणी भागमा अँध्यारो, (१०) शक्तिशाली चट्याङ, (११) सत्य तोलामा १ लाल मात्र, (१२) महाआँधीबेहरी, (१३) पृथ्वी बिमार हुने, घर एकतले मात्र, (१४) शक्तिशाली धर्मको अन्त्य नयाँ दर्शनको राज, (१५) महाप्रलयकारी भूकम्प आउने संकेत, (१६) सूर्यको तापक्रम तेज: ६ महिना घाम ६ महिना पानी, (१७) सूर्यको चाप चीन र अमेरिकामा बढी, (१८) हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने, (१९) अन्नको सह घट्दै जाने, भयंकर अनिकाल, (२०) शक्तिशाली राजाहरू समाप्त, (२२) आत्मायानहरू, (२३) चीनमा जातीय युद्ध, (२४) चीनको जनसंख्या ५० लाख मात्र, विश्वको सवा करोड, (२५) विश्वका राष्ट्रले ३० वर्षमा सोध्ने, (२६) ज्ञानीहरूको ज्ञान र धनीहरूको धन हराउने, (२७) वर्तमान दर्शनको अन्त्य एउटै दर्शनको शुरु, (२८) अब ३६ वर्षमा टोकाटोक मारामार हुने, मान्छेले मान्छे खाने, (२९) जीवन पूरा हुने आदि ।
(ङ) २०५७ मंसिर १९ गतेः ‘मैले राजाको आयु बढोस् भनेर निम्तो दिएको थिएँ, बुझेनन्, आएनन्। अब राजदरबारमा संसारमा अहिलेसम्म नघटेको घटना हुनेछ।’
किरात धर्मको प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन काठमाडौंमा २०५७ कात्तिक २४ देखि २६ गतेसम्म आयोजना गरिएको थियो। महासम्मेलनमा तत्कालीन राजा वीरेन्द्रलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। तर, विभिन्न कारण देखाएर राजा महासम्मेलनमा उपस्थित हुनुभएन। धर्मगुरुले सोही वर्षको मंसिर १९ गते इलामको माङसेबुङमा आयोजना गरिएको वहाँकै ४७औं जन्मोत्सव कार्यक्रममा उक्त भविष्यवाणी गर्नुभएको हो।
धर्मगुरुले भविष्यवाणी गर्नुभएको ६ महिनापछि अर्थात् २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्ड भयो। उक्त हत्यकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो। यसअघि तत्कालीन युवराज दीपेन्द्र र पारस शाहको बारेमा पनि भविष्यवाणी गर्नुभएको थियो। युवराज दीपेन्द्रले राजगद्दी आरोहण गर्न नपाउने र पारस शाह योगी झैं हुने बताउनुभएको थियो।
धर्मगुरुको भविष्यवाणीबारे मेरो अनुभूति
किरात धर्मगुरुले विश्व, छिमेकी मुलुक, नेपाल, विनाशकारी घटना, परिघटनाबारे धेरै भविष्यवाणी गर्नुभएको छ। वहाँले गर्नुभएको भविष्यवँणीहरू प्रायः पुगिसकेका छन्। केही पूरा हुन बाँकी छन्। ती भविष्यवाणी पूरा भए मानवलाई नकारात्मक असर गर्ने भएकाले धर्मगुरुले ती पूरा नहुन् भनी सेवाभक्ति तथा अनुष्ठानहरू गर्दै आउनुभएको छ।
२०४९ माघ ३ र ४ गते वहाँले भविष्यवाणी गर्नुभएको मध्ये स्मरणीय विषयहरुः (क) एकपटक संसारले मलाई सोध्ने छ र त्यो समस्या मेरो मुखबाट मात्रै समाधान हुनेछ, मिल्नेछ। (ख) माङसेबुङमा संयुक्त राष्ट्रसंघका महासचिव लगायत विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरू आउनेछन्। यी दुईवटा मुख्य भविष्यवाणी पुग्न बाँकी छन्। अन्य धेरै भविष्यवाणी पूरा भएको हामीले देखे भोगेका छौं। समाज रुपान्तरण, राजनीतिक परिवर्तन, रक्तपातपूर्ण क्रान्ति, दैवीप्रकोप लगायतका थुप्रै भविष्यवाणीहरू पूरा भएको मैले देखेको र भोगेको छु। ती कुरा यो छोटो आलेखमा समेट्न सकिंदैन।
अन्त्यमा,
किरात धर्मगुरु सत्य, शान्ति र अहिंसाका संवाहक हुनुहुन्छ। वहाँ अहिले जीवनको उत्तरार्धमा हुनुहुन्छ। मानव शान्ति र एकता वहाँको दृढ संकल्प हो। वहाँका कयौं योजना पूरा हुन बाँकी छन्। कठोर त्याग, तपस्या र साधनाबाट सिद्ध गर्नुभएको ज्ञान र शक्ति हामीले ग्रहण गर्न सकेका छैनौं। सानोतिनो मतभेद र तिक्ततालाई त्यागेर वहाँले देखाउनुभएको मार्गमा हिंड्न सक्यौं भने हाम्रो मुक्ति अवश्यम्भावी छ। संस्कारमा देखिएका बेथिति, बिचलन र अराजकतालाई हामीले त्याग्न सक्नुपर्छ। सुधार गर्न सक्नुपर्छ।
धर्मगुरुले हामीलाई सन्देश दिइसक्नुभएको छ, ‘तिमीहरू एकढिक्का भयौ भने देवविद्या मात्रै होइन संसार थाम्ने, चलाउने राजविद्या पनि दिनेछु। तर, एक भएनौ भने यो शक्ति त्यत्तिकै फिर्ता जानेछ।’ तसर्थ, हामी एक हुने बाटोमा जुटौं, सानोतिनो मनमुटावहरूलाइ तिलाञ्जली दिएर माङशक्ति आर्जनमा जुटौं।