प्रारम्भ
मुकुमलुङ अर्थात पाथिभरा देवी ताप्लेजुङ जिल्लामा अवस्थित छ। केही समययता यहाँ बहुआयामिक विवाद र द्वन्द भइरहेको छ। शुरुवातमा यहाँ नामको बिषयमा विवाद भएको थियो । स्थानीय भाषामा हजारौं बर्षअघि यसलाई मुकुमलुङमा भनिन्थ्यो । पछिल्लो अवस्थामा यसलाई हस्तक्षेप गरि हिन्दुकरण गरियो र यसको नाम पाथीभरा बनाइएको हो भन्ने बिषय चर्कोरुपमा उठ्यो । यो बिषय निकै चुनौतीपूर्ण तरिकाले उठेको थियो ।
यही पेरिफेरिमा अर्को विवादको प्रारम्भ भयो। वि सं २०७२ मा तत्कालीन गाविस सचिवले पाथिभरा क्षेत्रमा केवलकार बनाउन आवश्यक छ भन्ने बिषय सम्बन्धित निकायमा पठाएको कुरा स्थानीय बासिमा गाइँगुईं फैलियो । त्यसपछि यसको विरुद्धमा निरन्तर आवाज उठिरहेको छ। स्थानीय बासि र सरोकारवाला पक्षले विभिन्न तवरले केवलकार निर्माणको विरुद्ध संगठित रुपमा आन्दोलन गरिरहेका छन् ।
यसक्रममा विभिन्न खालको घटना परिघटना हुँदै आएका छन्। निर्माण पक्षले विभिन्न कुटनैतिक र रणनीतिक कदमहरु उठाए।स्थानीय जनता भन्दा पनि उपल्लो तहका नेता/नेतृत्व सँग अनुनय विनय गरे तर स्थानीयले ती कुरा मानेनन् र आन्दोलन निरन्तर चलिरहेको छ। अहिले यो विवादको बिषय सर्वोच्च अदालतमा बिचाराधीन अवस्थामा छ।
यही विवादको बिच ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनको विवादास्पद अभिव्यक्ति सार्वजनिक भएको थियो/छ। उहाँ ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाका निर्वाचित जनप्रतिनिधि ( मेयर ) अमिर मादेन हुन। उहाँले पुर्वको सु-परिचित शक्तिपिठ ( पाथीभरा ) मुकुम्लुङमा निर्माण हुन लागेको केवलकारको विवादित बिषयमा बोलेको कुरा सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ।
मुकुमलुङ/पाथिभरा क्षेत्रमा केवलकार बन्न हुन्छ/हुँदैन भन्ने मुद्दा स्थानीय सरोकारवालाको बिषय हो। र यश बारेमा स्थानीय बाट सर्वाधिक बिरोध र आलोचना भइरहेको छ। यो ठाउँ सार्वजनिक महत्त्वको बिषय पनि भएको हुनाले विभिन्न संघसंस्था र समाजले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । यो अस्वभाविक बिषय पनि होइन ।
किनभने, कतिपय धार्मिक साँस्कृतिक क्षेत्रको आफ्नो महिमा र महत्त्व हुन्छ । यसलाई बचाउने या संरक्षण गर्ने दायित्व राज्यको हो। उदाहरणका लागि हिन्दुहरुको तीर्थ धाम कैलाश पर्वत, शिवधारा, भारतमा रहेको महाशक्ति पिठहरु बिष्णुपादुका, श्रीलंकाको रावण दरबार आदि ठाउँमा पैदलयात्रालाइ नै महत्त्व दिइन्छ र यहाँ केवलकार मात्रै होइन सवारीसाधन समेत वर्जित छ। तसर्थ मुकुमलुङ/पाथिभरामा पनि पैदलमार्गको बिशेष अर्थ र महत्त्व हुनसक्छ । यश बिषयमा स्थानीयले आफ्नो धारणा राख्नु विरोध गर्नु उनको नैसर्गिक या संवैधानिक अधिकारको बिषय हो।
स्थानीयको सहभागीता किन
कुनै पनि आयोजना सम्पन्न गर्नका लागि स्थानीय समर्थन र सहभागीता अनिवार्य हुन्छ ।निर्माण कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्दा या स्थापना गर्दा स्थानीय सरोकारवालाको परामर्श र प्रत्यक्ष सहभागीता गराउन अनिवार्य हुन आउँछ। त्यसैले स्थानीयलाई सेयर आह्वान गरेर कम्पनीले व्यवसायमा सहभागी गराउँछ ।
यश बारेमा नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि अनुसार पनि स्थानीय जनताको इच्छाविपरीत जबर्जस्ती गर्न मिल्दैन। त्यसैले स्थानीय जनतालाई आयोजना प्रति सहमत गराउन अनिवार्य मानिन्छन्। यश महत्त्वपूर्ण कार्यका लागि स्थानीय जनताका प्रतिनिधि नगरप्रमुख/पदाधिकारीहरुको भुमिका ठूलो हुन्छ । किनकि उहाँहरुले जनताको आवाज भएर बोल्ने हो। तर मेयर मादेन विवादास्पद केवलकार निर्माणको पक्षमा मात्रै होइन असन्तुष्ट समुहलाइ कुनै फटाहा या डकैत समूह जस्तो हेय राखेर खिशीटिउरि सहितको अभिव्यक्ति दिँदै आएका छन् ।
कुनकुन संस्था आवद्ध छन् आयोजनाको विरुद्धमा
मुकुम्लुङ/पाथिभरा क्षेत्रमा केवलकार राख्नुपर्छ भन्ने कम्पनी पक्ष र विपक्षमा शुरुदेखि मतभेद छ। प्रारम्भिक सर्वेक्षण कसैसँग परामर्श र छलफल बिना गरिएको आरोप स्थानीय बासि र त्यहाँका सामाजिक तथा राजनीतिक संस्थाहरुले लगाउँदै आन्दोलित छन् । जसमा विभिन्न सामाजिक, राजनीतिक संस्था समेत सक्रिय छन् । आयोजनाको विरुद्धको आवाजलाई सशक्त बनाउनका लागि आन्दोलन समिति नै गठन गरेर सशक्त आवाज उठाइरहेका छन् ।
संस्थागत रुपमा उपस्थिति जनाउने संस्थाहरु
किरात याक्थुङ चुम्लुङ संघीय समिति, लिम्बू थरगत संस्था सहजीकरण समूह, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समिति, मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, मुकुम्लुङ ताङसेप चुम्भो, याक्थुङ मुनचइत चोक् सयङ, प्रदेश नं १ पुनः नामंकन अभियान समिति, संयुक्त संघर्ष समिति लगायतका संस्था/ अभियान कर्ताहरु निरन्तर आयोजनाको विरुद्धमा आन्दोलित छन् । यससँगै विभिन्न संस्थाहरुले आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्नेक्रम पनि जारी छ। स्थानीय जनता, सरोकारवाला पक्ष र संघसंस्थाले यसरी आवाज उठाइरहेका बेला यसको बेवास्ता गर्दै जबर्जस्ती गर्नु राज्य र निर्माण पक्षको गम्भीर लापरबाही हुनुका साथै दुर्घटना निम्तिने अवस्था देखिन्छ।
विरोध र घटनाक्रमहरु
वि सं २०७२ मा तत्कालीन गाविस सचिवले मुकुम्लुङ/पाथिभरा क्षेत्रमा केवलकार राख्न आवश्यक रहेको निर्णय सहितको प्रतिवेदन स्थानीय निकाय मार्फत पठायो। त्यसपछि आवश्यक प्रक्रिया राज्यले अगाडि बढाएको कुरा स्थानीयले गाइगुँई थाहा पाए।वि सं २०७५ देखि स्थानीय जनताले केवलकार निर्माणको विरुद्धमा आवाज उठाए। सम्बन्धित पक्ष, जिल्ला प्रसाशन, स्थानीय तह लगायतका निकायमा ज्ञापनपत्र बुझाए । यसरी विरोध हुँदाहुँदै निर्माणका लागि आवश्यक गतिविधि रोकिएन ।
वि सं २०७६ मा केवलकार निर्माणकार्यलाई प्रतिवाद गर्ने निर्णय स्थानीय जनताहरु पुगे । सोही अनुसार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति र पाथिभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति गठन गरियो र निरन्तर दबाब सिर्जना गरियो।निर्माण पक्षले अनेकौं हत्कण्डाहरु ( आर्थिक प्रलोभन लगायत ) अपनाएर जनतालाई दिगभ्रमित बनाउने र आफ्नो पक्षमा ल्याउने प्रयास गर्यो र केही हदसम्म सफल पनि भए। तथापि आन्दोलन निरन्तर चलिरह्यो।
वि सं २०७७ मा सर्वोच्च अदालत काठमाडौंमा यसविरुद्ध मुद्दा पर्यो र अहिलेसम्म बिचाराधीन अवस्थामा छ। कानुनी उपचार सहितको विरोध र आन्दोलनका बाबजुद माटो परिक्षणका लागि ईन्जिनियर टोली आइपुगे । तर आन्दोलनकारि र अभियन्ताहरुले सामाग्री समेत जफत गरेर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा बुझाए । दुई पक्षीय सहमति विना थप निर्माणकार्य अगाडि नबढाउने लिखित सहमति पछि सामग्री फिर्ता गरियो । त्यसपछि निर्माण पक्ष संयमित बन्यो ।
वि सं २०८० फागुनमा निर्माण पक्षलाई सहयोग गर्नका लागि स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बललाई आन्दोलनकारिले जनदबाब मार्फत फिर्ता हुन बाध्य बनाएको ।
वि सं २०८१ बैशाखमा राष्ट्रिय फुल लालीगुराँस, स्थानीय रुख लोडसल्ला र गोब्रे सल्ला लगायतका हजारौं बिरुवा फडानी गरियो । जुनकुरा धार्मिक साँस्कृतिक मात्रै होइन पर्यावरणीय हिसाबले पनि खण्डनीय छ।
वि सं २०८१ कात्तिक २३ गते केवलकार निर्माण पक्षले सांघातिक हतियार प्रयोग गरि २ जना आन्दोलनकारि/अभियन्ता र १ जना तीर्थयात्रीलाई घाइते बनाइ झापा स्थित बि एण्ड सि अस्पतालमा उपचार गरिएको थियो । वि सं २०८१ पुसमा ( कात्तिक २३ को घटना पछि ) पर्यटन प्रहरीको नाममा प्रहरी क्याम्प स्थापना गरिएको छ। यसले स्थानीय जनता, तीर्थयात्री र आम मानिसलाई त्रसित बनाएको छ।
खण्डनीय मेयरको भनाइ
मुकुम्लुङ/पाथिभरा क्षेत्रमा केवलकार राख्ने/नराख्ने बिषयमा शुरुदेखि विवाद हुँदै आएको छ। यश बारेमा विभिन्न संस्था र सरोकारवालाहरुले संघर्ष समिति समेत गठन गरेर आयोजनाको विरुद्धमा आन्दोलन गरिरहेका छन् ।
प्रत्यक्षरुपमा यति धेरै संघसंस्था र सरोकारवाला अभियान कर्मीहरु आन्दोलनमा उत्रिएका छन्। यश बारेमा मेयर सापले अध्ययन गर्नुभएको छ कि छैन? उहाँले स्थानीय जनताको प्रतिनिधित्व गरेर आफ्नो धारणा राख्नुपर्ने होइन र?
स्थानीय जनताको प्रतिनिधि र राज्यको स्थानीय तहको प्रतिनिधिको हैसियतले विवाद निरुपणका लागि सहजीकरण गर्नुपर्ने थियो मेयर सापले। यसो नगरीकन ठेकेदारको पक्षमा लागेर स्थानीय जनताको मानमर्दन हुने गरि, देशको चौथो ठूलो धर्म ( जसमा उहाँकै पनि योगदान छ ) किरात धर्मको खिल्ली उडाएका छन् । निधारमा हातले संकेत गर्दै के घस्ने रे………भन्दै साम्प्रदायिक बिचार राखेका छन् । यसप्रति मेरो आपत्ति छ।
स्थानीय तहको निर्वाचन २०७९ ताका नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएपछि किरात धर्मगुरु आत्मानन्द लिङ्देन ज्युको सरणमा आशीर्वाद माग्न आएका मेयर मादेनले अहिले उनकै अनुयायी र किरात धर्मगुरु कै मानमर्दन हुने खालको अभिव्यक्ति दिँदै आएका छन् । एक जिम्मेवार जनप्रतिनिधि र बुद्धिजीवीको हैसियतले कुनै एकको पक्षमा बहस गर्न जरुरी छैन। दुवै बिच भए/रहेको मतभेद र वैमनस्यतालाइ सहजीकरण गरेर समस्या समाधानको बाटो पहिल्याउनुको साटो एकपक्षीय र साम्प्रदायिक धारणा राख्दै आएका छन् ।
पाथिभरा क्षेत्रमा केवलकार राख्नु हुँदैन भन्ने लारुम्बा पक्षीय किरात धर्मावलम्बी मात्रै छैनन् । माथि उल्लेखित संघसंस्था, सरोकारवाला अभियान्ता र राजनीतिक संगठनहरु समेतको सहभागीता छ। यति धेरै अभियानकर्ता र आन्दोलनकारिहरु सबै खरानी धस्ने ( मेयरको शब्दमा ) मात्रै हुन त।धर्म निरपेक्ष मुलुकमा एक जिम्मेवार मेयरले यस्तो अभिव्यक्ति दिनु कत्तिको युक्तिसंगत होला ? उहाँको यो भाषा संविधान विपरीत छ कि छैन । अझ उहाँले मेरो जनता लगेर जान्छु, यतिबेला यिनीहरूले रोक्न सक्छन् ! भन्दै धम्की दिनुभएको छ। यसप्रति घोर आपत्ति सहित खण्डन गर्न चाहान्छु।
अन्त्यमा
मुकुम्लुङ/पाथिभरा क्षेत्रमा केवलकार राख्ने कुरामा जबर्जस्त नगरौं । ठेकेदार र राज्य पक्षबाट गरिएको लापरबाही ( स्थानीय सँग परामर्श विना ) का कारण ठूलो धन जनको क्षति हुने सम्भावना बढ्दै गएको छ। यसअघि ३ जना आन्दोलनकारिहरुलाइ केवलकार निर्माण पक्षले धारिलो हतियार प्रयोग गरि सक्त घाइते बनाएका छन् । यसको लेखाजोखा हुन बाँकी छ।
अझै जबर्जस्ती गरियो भने थप संघर्ष हुने अवस्था सिर्जना हुँदै गएको छ। मेयर सापले हिंसात्मक अभिव्यक्ति छाडेर आन्दोलनकारि र अभियान्ताहरुको मनोविज्ञानलाई आत्मसात गरि यसबारेमा सहजीकरण गरेको राम्रो हुनेछ । कुनै समुदाय/अभियन्ताहरुलाइ खिशीटिउरी गरेर केवलकार निर्माणकार्य हुने सम्भावना देखिँदैन।
निर्माण पक्ष सबैभन्दा धेरै संयमित र धैर्य हुनुपर्छ । तर यहाँको गतिविधि उल्टो भएको छ। बरु आन्दोलनकारिले संयमता अपनाएको देखिन्छ । ठेकेदार चन्द्र ढकाल पक्षकाले सांघातिक हमला गरेको दृष्टान्तहरु छन् । राज्यको शक्ति समेत दुरुपयोग गर्दै प्रहरी प्रसासन खुलेआम धरपकडमा लागेको देखिन्छ। एउटा व्यवसायी/ठेकेदारको लागि राज्य किन यति निर्मम हुने ? राज्य पक्षले आवश्यक सहजीकरण गर्दै वार्ता र संवाद बाट समस्या समाधान गरोस् जनताको तर्फाट मेरो अपिल छ।