४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

गुरु गुरुआमाज्युको सान्निध्यतामा वितेका दिनहरु



मैले धर्मगुरु ’सेईङ’ आत्मानन्द लिङ्देनज्युलाई पहिलो पटक २०२९ सालमा आफ्नै घरमा दर्शन गर्न पाएको थिएँ ।लामो कपाल, सेतो कमिज, गलामा रुद्राक्षको माला लगाउनु भएको थियो। त्यतिबेला सिङ्गो जौबारी गाउँमा मात्र तीन घर रहेको थियो। गुरुज्यु आउनु हुँदा ’जौबारी कान्छा’ डिल्लीप्रसाद तुम्बापोले जोर गाग्री, जोर दियो कलश राखेर करिब ७÷८ हात लामो सेतो कपडा बिछ्याइएर लाम्दाक अथवा स्वागत गर्नु हुन्थ्यो । साँझ बिहान ’माङसेवा’ पुजापाठ गर्नु हुन्थ्यो । माङसेवा गर्दा शङ्ख ,घण्टी , डमरु ,एकतारे बजाउनु हुन्थ्यो । गुरुज्युले माङसेवा समापन भएपछि विघोत लगाई दिएर आशिर्वाद दिनुहुन्थ्यो। त्यतिबेला म मात्र तीन वर्षको थिएँ । मलाई तिलबाज भनेर बोलाउनु हुन्थ्यो। माङसेवा हुँदा तिनै घरका सदस्यहरू जम्मा हुनु पर्थ्यो । साँझ खाना खाईसके पछि एकतारे र झ्याम्टा बजाउँदै एकडेढ घण्टा सम्म माङलाङ नाच सिकाउनु हुन्थ्यो। गुरुज्युको पछि पछि लागेर दिदीहरू र दाजु दिलीपसिङ्ग कुगेनाम्बाहरू थेबा, युमा, नाहेनलाक्मा नाचहरू सिक्नु हुन्थ्यो। गुरुज्युसङ्ग माङलाङ नाच नाच्ने कति को त मृत्यु भैईसकेको छ ।

दोस्रोपटक पनि गुरुज्युको दर्शन घरमै गर्न पाएँ । त्यो कुनसाल थियो कुन्नी? स्मरण भएन करिब एक महिना लामो समय गुरुज्यु हाम्रो घरमा बस्नु भएको थियो। हाम्रो मुल घर छाउने गुहारी थियो। गुरुज्यु स्वयमले पनि खरको मुठा छाना सम्म फ्याकेर सहयोग गर्नु भएको थियो। यसरी खरको मुठा छाना सम्म फ्याक्दा गुरुज्युको लामो कपाल पनि उसैगरी पिङ खेलेको दृश्य मेरो स्मृतिमा कञ्चन बिहानी झैँ अद्यापि ताजै छ। फक्ताङ्लुङ जाँदा आउँदा पनि गुरुज्युको बास हाम्रै घरमा हुन्थ्यो। २०३८ सालमा परिपक्व अनुभवी शिष्य जौबारी कान्छाको अल्पायुमै दुःखद निधन हुन पुग्यो। यस घटनाले गुरुज्युलाई शोकमा डुब्न बाध्य बनायो। यहीँताका २०३९/४० तिर गुरुज्युको बिरोधितत्वहरू पनि सक्रिय भइरहेको स्थिति थियो । गुरुआश्रमलाई सुरक्षा दिनुपर्ने भयो। यहीँ सिलसिलामा म पनि गुरुआश्रम प्रवेश गरेँ। तिनताका गुरुआश्रम लामा लामा सिरु खरले उँधोमुन्टो पारेर छाईएको जोडि मलिबासको भाटाले बुनेको चिमेघरहरू थियो। करिब २/३ मिटरको फरक दुरिमा रहेका यी चिमका घरहरू मध्ये गुरु परिवार पश्चिम तर्फको घरमा बस्नु हुन्थ्यो; हामी भक्तहरू पूर्वतर्फको घरमा बस्थ्यौँ। दुबै घरहरुको एउटा एउटा प्रवेशद्वार ( दैलो ) बाहेक अरु झ्याल ढोका केही थिएन। तिनताका गुरुआश्रमलाइ गरीबी, अभावले आक्रान्त पारेको थियो। हरेक साँझ सिमल तरुल र पिँडालु खाएर सुत्नु पर्थ्यो । बिहानको भात भान्सा पनि कोदोपिठो मकैपिठो ,गहतभएमा धानचामल सबै एउटै भाँडामा पाक्थ्यो। गुरुआश्रम भन्दा केही मुनि थोरै सम्म परेको ठाउँमा खेत बिराउँने काम भयो। खेत बिराउदा गुरु गुरुआमा ज्युको प्रत्यक्ष सहभागी हुने गर्थ्यो। दाँदे पट्टामा चढेर गराखेत मिलाउनु हुन्थ्यो, खेतका आली ताच्ने लगाउने गर्नु हुन्थ्यो। यी नयाँ बिरौटा खेतबाट २/३ मुरी धान उत्पादन हुन्थ्यो। गुरुज्युका नानीहरूले यसैलाई खोलेफाँडो बनाएर खान्थे। गाईवस्तु , खसी, बोका, पहेँली दाल र तोरी मुख्य आयस्रोत थियो । मधुमल्ला बजार पुर्याए पछि दाल , तोरी प्रति केजि २०/२२ मा विक्री हुन्थ्यो। चोयाको घुम तयारी रु.१०, डोको रु. १४/१५ , घर छाउँने बाताचोया प्रति सयकडा रु. ६, कुरिलो प्रति केजि रु. २८ त्यतिबेला अम्रीसो विक्री हुँदैनथियो। गुरुआश्रमको अभावसङ्ग संघर्ष गर्ने क्रममा ह¥रो(एक आयुर्वेदिक फल) ले नुन साटेर खाईन्थ्यो। बर्खायाम सुरु हुनु पूर्व नै वर्ष भरी खाने नुन, तेल, मट्टितेल जोहो गरेर राख्नु पर्थ्यो। नुन, तेल, चामल, मट्टितेल इत्यादी बोकेर गुरुज्युको पछि पछि लाग्थ्यौँ। झापाको दमकमा ’किराँत धर्म तथा साहित्य उत्थान संघ’ को केन्द्रीय कोषाध्यक्ष प्रेमकुमार सिप्तुङ्खाको घरमा गुरुज्युको डेरा थियो। तिनताका अहिलेको फाल्गुनन्द चोकलाई पिपल चोक भनिन्थ्यो। बेल्डाङ्गी रोडमा गोरूगाडा बाहेक अरु सवारी साधन केही पनि चल्दैनथ्यो। तसर्थ ः हामीले सिप्तुङ्खाज्युकै घरबाट भारी बोकेर हिड्नु पर्थ्यो। हामीसँग आ–आफ्नै अप्ठ्यारा र बाध्यताहरू पनि थियो। शहरीयाहरूले दिएको भात भान्सा मीठो त हुन्थ्यो नै ,तर जति थपे पनि भाँडा रित्तिनु लागे पनि पेट भरिन्नथ्यो। लाज सरमले अघाएर हिड्नु पर्थ्यो। बाहिर किनेर खाने ठाउँहरू प्रसस्त थियो तर गोजीमा सुक्का नभएपछि हेरेरै अघाउँनु हाम्रो बध्यता थियो। जहिले पनि म ८० कुरुवा चामल बोक्थेँ यानिकि १० पाथी। तिनताका दमक बजारमा केजीको भन्दा कुरुवाकै चलन थियो। जीवनमा मैले पहिलो पटक ’ँबलतब“ नामक पेय पदार्थ खाएको पनि त्यहीँ बेला हो। गुरुज्युले रु. ३२ मा ४ ओटा ४ जनालाई एउटा एउटा ँबलतब किनेर दिनु भएको थियो। कुनै मात्ने चिज होकि ! भनेर म दुबिधामा परेको देखेपछि गुरुज्युले ’आम्मनेन साहिला ,अर्थातः मात्दैन साहिला भन्नू भएपछि फेन्टा पिएको थिएँ । तोरी पेल्ने मिल देखेको पनि त्यहीँ बेला हो। तोरी तौल गरि सकेपछि मिलवालाले बिल बनाउनका लागि गुरुज्युलाई नाम के हो ? भनेर प्रश्न गर्दा गुरुज्युले श्यामबहादुर लिम्बू , ठेगाना? बाँझो–९ भनि दिएर म भए तिर मुहार घुमाएर मुसुक्क मुस्कुराउँनु भएको थियो। दमक देखि लागेपछि चपेटी भन्ने स्थानमा बिहानको भान्सा पकाई खान्थ्यौँ (अहिले चपेटी बजार छैन)। कहिले बतासे डाँडामा आएर खाना पकाई खान्थ्यौँ। त्यहाँ गुरुआमाज्युको माहिला मामाको घर थियो। मामाको बानी रमाइलो थियो। सेवारो भनेपछि सेवारो थाप्दा उहाँको हातमा भएको लौरो, हँसिया, सिकल जे भए पनि थाहा नै नपाई फ्याकी पठाउने उहाँको बानी थियो। कहिलेकाही त सेवारो भन्नेले नै यसरी फ्याक्नु भएका वस्तुहरू खोजी गर्नु सहयोग समेत गर्नु पर्थ्यो।

सामान्य अवस्थामा यसरी बाटोमा आराम साथ भात भान्सा पकाईखाँदै आईन्थ्यो। कहिलेकाही भने चिउरा, कोला मात्र खानु पर्थ्यो। रतुवा खोलाको बगरमा प्लास्टिक बिछ्याएर त्यसमाथि मानेपीँडालु वा भर्लाको पातमा कोला, चिउरा भाग लगाएर खाईन्थ्यो। गुरुज्यु पनि एकछेउमा बसेर कोला, चिउरा खानुहुन्थ्यो। कोला चिउराले घाँटी लाग्दा खोलाको पानी अञ्जुलीमा उघाएर खाईन्थ्यो। खोलाको पानी खाई सकेपछि गुरुज्युले आत्मै सुचि चोखो चोखो भन्नुहुन्थ्यो। १/२ घण्टा नपुग्दै चिउराले उर्जा दिन छोड्थ्यो। अघि खाएर बचेको चिउरा, कोला साथमै भए पनि एकदुई मुठी खाउँ गुरु ? भन्नै नसकिने ! भोकहरूकै गाँस निल्दै, प्यासहरू प्युँदै पिठ्युँमा भारी बोकेर उकालो चडिन्थ्यो ,मझुवा गाउँको पुच्छार मट्टिट्यङ खोल्सीको छेउमा घुमाउने चौतारा थियो(अहिले छैन)। त्यहाँ भारी बिसाएर पसिनाले निथ्रुक्क भिजेको कपडा खोलेर उत्तर तर्फबाट दक्षिण , पश्चिम तर्फ बगेको गोधूलि साँझको चिसो हावालाई नाङ्गो छाती भरी थापेर आनन्द लिईन्थ्यो। कताकता मन भित्र लाग्थ्यो यो चिसो हावाले मेरो गाउँलाई पनि स्पर्श गरेर आएको होला। खानीटार गाउँको सिरानमा अर्को ढुङ्गे चौतारा थियो। त्यहाँ आई पुगेपछि गुरुआश्रमको सधैँ भात पकाउने भाँडाकुडा बजेको खत्राङ खुत्रुङ आवाजहरू सहजै सुनिन्थ्यो। यी आवाजहरू सुन्दा मात्र पनि थकित शरीरलाई उर्जा प्राप्त भएको अनुभुति हुन्थ्यो।

असार लागेपछि पलासेको जोगीटारमा रोपाइँ गर्न झरिन्थ्यो। त्यहाँ पनि नयाँ गरा खेतहरू निर्माण गर्ने काम भयो। आधुनिक उपकरणहरू नभएको त्यो अवस्थामा दाँदेको एक पट्टि अनौ समातेर गराखेतको हिलो माटो मिलाउँदै नयाँ गराखेत निर्माण गरिन्थ्यो। जोगीटारमा अति अव्यवस्थित ढङ्गले बस्नु परेको थियो। त्यहाँको करौते र लज्जावती झारले निक्कै पीडा दिन्थ्यो। खुट्टाका औंलाहरूको चेपचेपमा हिलो माटोले खाएर रगताम्य बनाईदिन्थ्यो। माई खोलाको बगरमा गाईवस्तु चराउन जाँदा दिउँसो कडा घाममा काँसका ठुटाठुटीहरूले च्वास च्वास घोचेर थप पीडा दिन्थ्यो। उफ! कस्तो हैरानी? चुनाव लागेपछि नेताहरू भोट माग्न गुरुकहाँ आउँथ्यो। धान रोपि सकेपछि पुनःगुरुआश्रम लारुम्बा आउँथ्यौँ।

त्यतिबेला गुरुआश्रममा रैथान रहेर सेवा गर्नेहरू डिल्लीराम चाम्लिङ, सन्तप्रसाद दिल्पाली, ( धाराकान्छा) बाजहाङ योङ्हाङ (’तोबाङ्साहिला’ )लगायत हामी पाँच जना रहेका थियौँ। गुरुपरिवारको आकार पनि सानो थियो; भक्तजनहरू पनि थोरै थिए। प्रत्येक वर्षको मङ्सिर १८ गते माङ्गेना कार्यक्रम हुन्थ्यो। माङ्गेना कार्यक्रम सुरुहुन पूर्व आश्रममा माङसेवा हुन्थ्यो। सेवाका लागि आवश्यक सरसामानहरू दमकबाट ल्याउनु पर्थ्यो। रात्रि २÷३ बजे सम्म भात पकाएर भारी बोक्ने भरियाहरूलाई दिनु पर्थ्यो। भात बाड्दा बाड्दै चुला छेउमा थाहा नै नपाई भुसुक्कै निदाईन्थ्यो। त्यतिबेला माङ्गेना कार्यक्रम आश्रमकै आगनमा सम्पन्न हुने गर्थ्यो। चिसोपानी पञ्चमीबाट सानका साथ बन्दुक बोकेर प्रहरीहरू झर्थे। प्रहरी हवल्दारले ठुलै सम्मान पाउँथ्यो। फूलमाला लगाएर गुरुज्युसङ्ग बस्ने अवसर मिल्थ्यो। कार्यक्रम सञ्चालन हर्कवीर योङ्हाङले गर्नु हुन्थ्यो। हामी गुरुआश्रममा रैथान बसेर सेवा गर्नेहरू आश्रमको आगनमै कार्यक्रम भए पनि कामको बोझ र व्यस्तताको कारण गुरुपदेश, प्रवचन केही सुन्न पाइँदैन थियो। अझ गाईवस्तु हेर्ने जिम्मा पाएकोले त गोठ मै बस्नु पर्थ्यो। अरुबेला यस्ता कार्यक्रमहरू हुँदैन थियो। यस अर्थमा हामी अभागी थियौँ। धर्म, दर्शन, मुन्धुम, चेतना, आत्मा, जन्म, मृत्यु, भाषा, साहित्य र कला जस्ता ज्ञान, विज्ञान, ध्यान सङ्ग सम्बन्धित विषयमा कुरा गर्न कोहि आउँदैन थियो। खाली पेट दुख्यो, टाउको दुख्यो, मेरो छोरा ब्रीटिस आर्मी हुन्छ कि हुँदैन ? जागीर खान्छ कि खादैन? लाहुरे बन्छ कि बन्दैन भन्ने जोखाना हेराउनेहरु मात्र आउँथ्यो। कुनै कुनैले त अति घटिया प्रश्न पनि राख्ने गर्थे। गुरुज्यु काम विशेषले दमक झरेर १÷२ दिन बस्नुहुँदा पनि त्यस्तै घटिया प्रश्न सोध्नेहरू मात्र आउँथ्यो। एक थरी भक्त आउँथ्यो केवल अरुको सिकायतको कुरा मात्र लिएर आउँने। कहिलेकाहीँ गुरुज्यु आजित हुँदै भन्नुहुन्थ्यो–“हाम्रो मान्छेहरूले ज्ञानगुणका कुराहरु सोध्न कहिले जानेनन् खाली पेट दुख्यो, टाउको दुख्यो, मेरो छोरा लाहुरे हुन्छ कि हुँदैन? जागीर खान्छ कि खाँदैन? भन्दै उनिहरुको जुनी जाने भयो।“ कहिलेकाहीँ प्रहरी प्रशासन आएर गुरुज्युलाई अनावश्यक दुःख दिन्थ्यो। भक्तजनहरूको वृद्धिसङ्गै गुरुआश्रमको भौतिक पूर्वाधार पनि बढाउदै लानु आवश्यक थियो। तसर्थः चुली भित्र चिरानी काठको व्यवस्था गर्नु पर्ने भयो। सायद चिसोपानी पञ्चमी स्थित प्रहरी चौकीलाई त्यस क्षेत्रको सरकारी वनको रेखदेख गर्न जिम्मा दिइएको थियो होला; उनिहरू महिना महिनामा बन्दुक बोकेर झर्थे। गाउँमा प्रहरी आएको थाहा पाउँन साथ सचेत हुनु पर्थ्यो। २०४५ सालको कुरा हो ,प्रहरीहरू गाउँमा पसेको कुरा थाहा पाएपछि नयाँ चिरानी काठलाई मोसो, गोबर, माटो दलेर नक्कली पुरानो बनाउँदै थियौँ प्रहरिहरू झ्याप्प आईपुगे। हाम्रो काम देखेपछि प्रहरीहरू हासे। गुरु गुरुआमा हामीले पनि हाँसेरै जवाफ दियौँ। वास्तवमा त्यो काम नै हाँस उठ्ने खाल्को थियो। प्रहरीहरू सरकारी वनको संरक्षण र अपराधीलाई कार्वाही गर्ने उद्देश्यले भन्दा पनि पैसा, भाले पक्राउ गर्ने उद्देश्यले झर्थे। २०४४ सालमा एउटा छुट्टै मामिलामा गुरुज्यु झण्डै पक्राउ पर्नु भयो। मात्र पाँच मिनेट ढिलो भएको भए प्रहरीको फन्दामा फस्नु हुन्थ्यो गुरुज्यु। तर भाग्यवश गुरुज्यु भाग्न सफल हुनुभयो। २०४५ सालको माङ्गेना कार्यक्रममा पनि तत्कालीन राज्य मन्त्री वेनुपराज प्रसाईं नआई दिएको भए सम्भवत गुरुज्यु पक्राउ पर्नुहुन्थ्यो होला।

वि.सं. २०३९ सालमा गुरुआश्रम वरिपरि भीषण पहिरो बग्यो। उक्त पहिरो २०४२ सालमा पुनः बग्नथाल्यो। तिनताका गुरुआश्रममा जनशक्तिको ठूलो अभाव थियो। चारै तिर पहिरो जान थालेपछि गुरुज्युबाट ३÷४ माना धान ओख्लिमा कुटेर चामल बनाउनु भन्ने आज्ञा भयो। त्यसपछि गुरुआश्रमको चारै दिशा आपतकालिन सेवा लगाउने काम गर्यौँ। चारै दिशा उपयुक्त ठाउँ हेरेर थोरै माटो उठाउने अनि आठ दिशा लासो राख्ने त्यसपछि घरमै बालेर आधा आधा सल्केका अगुल्टोहरू जोडेर गुरुज्यु हान्छोक पोल्नु हुन्थ्यो। एक ठाउँ हान्छोक लगाई सकेपछि तिनै अगुल्टोहरू अर्को ठाउँमा लगेर जोडेर पुन हान्छोक लगाउनु परेको थियो। म सामग्री तयार गर्दै जान्थे गुरुज्यु हान्छोक लगाउदै आउँनु हुन्थ्यो। एकै बिहानमा चार ठाउँ सम्म हान्छोक लगाउँनु परेको थियो त्यतिवेला।सायद पहिरो थाम्नका लागि यसरी माङ्सेवा गर्नु परेको थियो होला। गुरुआश्रमको शब्दकोशमा थाकेँ, थकाइलाग्यो,नमिठो भयो, भोलि मात्र गर्छु,विश्राम, आराम भन्ने शब्दहरू हुदैनथ्यो। अविश्राम कामको बोझले कहिलेकाहीँ बिराम परिन्थ्यो। खान अरुचि हुन्थ्यो। पहेँली मकैको भान्सा, त्यसैको खोले, हेर्नै मन लाग्दैन थियो। तर त्यो बाहेक अरु विकल्प पनि के नै पो थियो र! यस्तो स्थितिमा आमाको तस्बिर आँखा सामु आएर नाचिदिन्थ्यो। आमाले चिम्भिन, वारेक्पा, खानाक्पा कुटेर त्यसको झोल निधारमा लगाई दिनुभएको याद आउँथ्यो। बिरामीबाट तङ्ग्रीदै गएपछि काममा लाग्नु पर्थ्यो। थोरै बल प्रयोग गर्नसाथ शरीर भित्र कताकताबाट थरथर.. कम्पन छुट्ने, खलखली पसिना बग्ने गर्थ्यो। चोर औँलालाई करुवा जस्तै बनाएर पसिना सोहोर्दै फ्याक्नु भन्दा अरु विकल्प थिएन। त्यसरी सोहोर्दै फ्यकिएँको पसिनाहरू लारुम्बाको पुण्य भुमिको ढुङ्गा माटोमा रसिएर बिलाएको होला। २०५२ सालको माङ्गेना कार्यक्रम भरखर सम्पन्न भएको थियो। गुरु गुरुआमालाई कुन्नी के काममा समस्या पर्यो? गुरुआमाज्युले आज राती १ बजे गुरु र तिमी दमक जानुपर्ने भयो; एउटा भारी बोक्ने डोको र खुकुरी, छ भने टर्चलाइट पनि तयारी गरेर राख्नु भन्ने आज्ञा भयो। मसङ्ग टर्चलाइट नभएकोले गुरुसुपुत्री निर्मलाले एउटा पुरानो टर्चलाईट दिनुभयो धेरै पुरानो भएकोले धागोले फनफनी टनटनी कसेको। गुरुज्युको लामो चार्जिङ टर्चलाइट थियो। रातको १ बजेपछि हामी आश्रमबाट बाटो लाग्यौँ। गुरुज्यु अघिअघि हात्तीछाप चप्पल लगाएर म डोको बोकेर पछि पछि सम्वादहिन यात्रा केवल हात्तीछाप चप्पलको आवाज मात्र फ्याट फ्याट। रतुवा खोला पुगेपछि “साहिला आज कस्तो सपना पायौ?“ भन्नुभयो। मैले एकैछिन निदाउँदा देखेको सपना जस्ताको तस्तै भने–“गुरु कमला (गुरुको माहिली सुपुत्री) ले एउटा गाई दुहुदै गरेको सपना पाएँको छु।“ गुरु–“सपना ठिकै पाएछौ साहिला।“ हामीलाई धेरै पैसा चाहिएको छ। यति सम्वाद पछि पुन अगाडी बढ्दै थियौँ। सिङ्फेरे भन्ने स्थानमा एउटा चितुवा हामीतिरै आउदै रहेछ। गुरुज्यु टक्क अडिएर “यो मत्ते केन्धबाईन थाङ्लपत् “=उ हेर तिम्रो बाजे यता आउँदैछ।) दुईओटा टर्चलाईटको प्रकाश सिधै चितुवामा फोकस गर्यौँ। चितुवाले हेर्न नसकेर होला बाटो छोडेर बायाँ तर्फको जङ्गल तिर लाग्यो। त्यसपछि चितुवाको पाइलाछाप नियालेर हेर्यौँ; गुरुज्युले निक्कै ठूलो पो रहेछ भन्नुभयो। हामी बेल्डाङ्गी पुग्दा उज्यालो हुन निक्कै बाँकी थियो। चौतारामा एकछिन बसेर रिक्सा पाईन्छकि भनेर प्रतीक्षा गर्यौँ तर रिक्सावालाहरू उठेकै थिएनन्। रिसावालाहरू कहिले उठ्छन गुरु हिडेरै जाउँ होला भन्दा गुरुज्युले पनि म पनि पो हिडेरै जाउँ कि भन्दै छु भन्नू भएपछि पुनः बाकी रहेको बाटो लियौ प्रेम सिप्तुङ्खाको घरमा पुग्दा घरमुलि मनु दिदी उठ्नु भएको थिएन। गुरुज्युको हासो सुनेपछी लज्जाउदै उठ्नु भएको थियो।२÷३ दिन सम्म दमकमा रहँदा गुरुज्युलाई एककासी हन्हनी ज्वरो आउँन थाल्यो। त्यसपछि डा.बालचन्द्र आङ्देम्बेलाई बोलाएर उहाँले गुरुज्युको स्वास्थ्य जाँच गर्नु भयो। साथै शुद्ध चिसो पानीमा कपडा भिजाएर निचोरेर गुरुज्युको निधारमा राख्नु, कपडा तातिए पछि पुनः भिजाउँदै निचोर्दै राख्नु भन्नू भएपछि मैले दिनमान त्यसै गरेँ ;गुरुज्युले कारुणिक भाषामा मेरो खुट्टाहरू मालिस गरिदेउ भनिरहनु हुन्थ्यो, म मालिस गरिरहन्थेँ। करिब ५ दिन पछाडिअब जाती भएँ । हिड्न सक्छु जस्तो छ ,जाउँ भन्नू भयो। त्यसपछि गुरुज्यु लौरो टेक्दै अघि अघि तेजमान साम्बा( साम्बासर) र म भारी बोकेर पछि दमकबाट आश्रम तर्फ बाटो लाग्यौँ। बाटोमा चिउरा कोला मात्र खायौँ; गुरुज्युले त्यो पनि एकदुई मुठी मात्र खानु भयो। सदा झैँ हिड्नु सक्नु भएन। हामीलाई लाग्यो ,आज बाटोमा के होला! मझुवा दोभानबाट बाटो उकालो चड्नु पर्ने थियो। गुरुज्यु सय सय मिटरको दुरिमा जताततै सुत्न थाल्नु भयो। ला! अब के गर्ने? तेजमान र मेरो आआफ्नै टन्न भारी थियो। मैले एक मुठा बन्सो घाँस उखेलेर भारी माथी राखेँ । गुरुज्यु जहाँ सुत्नुहुन्छ त्यहीँ विछ्याइ दिने। त्यहीँ क्रमले आउँदा आउँदा आश्रम पुग्नै लाग्दा गुरुज्यु सुतेको ठाउबाट उठ्नु सक्नु भएन। मलाई बोक भन्नू भयो। तेजमान सम्बालाई मान्छे लिएर आउँनु भनी आश्रम पठायौँ । मैले गुरुज्युलाई पर्खिबसेँ। झमक साँझ पर्यो दुर्भाग्य! आश्रममा पनि मान्छे खड्क ब. सम्बा बाहेक अरु कोही रहेनछ। अन्ततः खड्क सम्बा र मैले पालै पालो बोकेर गुरुज्युलाई आश्रम पुर्याएका थियौँ। यी पङ्तिहरू लेख्दै गर्दा चुली भित्र गोठ बस्दा पाडा बाछाहरूलाई डोकोमा बोकेर गाई वस्तु धपाउँदै गोठ सारेको क्षणहरू पनि याद आईरहेको छ।
गुरु गुरुआमा र गुरुपरिवारसङ्ग सङ्ग सङ्गै भोगिएका अविस्मरणीय घटनाहरू अरु पनि कति छन कति । लेख्दै जाँदा एउटा महाभारत बन्न सक्छ। समय क्रममा संयोग मिलेमा लेख्दै जाउँला। गुरुज्युले भन्नू भएको एउटा उक्ति यस्तो छ। “आफ्नो घर आफैले बढारेर सफा गर्नु पर्छ अरुले बढारी दिदैनन् ।“ वास्तवमा यो उक्ति साह्रै जीवन उपयोगी छ। तसर्थः हामी सबैले हरसम्भव यसैलाई जीवन दर्शन बनाउँने प्रयत्न गर्न आवश्यक छ। गुरुज्युको यो भनाइको सरल अर्थ “आफू भित्रको आनीबानी, आचरण, व्यावहार,खराब प्रवृत्तिहरू आफैले सुधार गर्ने हो। हटाउदै जाने हो। अरु कसैले सुधार गरी दिदैन; हटाइ दिदैन।“ भन्ने हो। छलकपट, षड्यन्त्र, दाउपेच, व्यभिचार, दूराचार, सिकायत, अहंकार, क्रोध इत्यादि खराब प्रवृत्ती हुन्। गुरुज्युको भनाइले यिनै प्रवृत्तिहरूलाई धुलो,मैलो, कसिङ्गारको रूपमा टड्कारो सङ्केत गरेको छ। यसैलाई आफैंलाई बढार्नु पर्छ;अरु आएर बढारी दिदैन भन्नू भएको छ। अतः आफुले आफैंलाई गम्भीर समीक्षा गर्दै अगाडी बढेमा श्रद्धेय गुरुको भनाइ(उपदेश) ले सार्थकता प्राप्त गर्ने छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : १४ बजे