माङसेबुङ । पवित्र भूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले बिकास गर्दै लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।
‘माघे संक्रान्ति(कक्फेक्वा तङनाम) प्राकृतिक चाड हो’ अङसीमाङज्यूले भन्नु भयो, ‘यो चाड किरातीहरुले पुर्खौ देखि मनाउदै आएको प्राकृतिक चाड हो । वहाँले थप्नुभयो, ‘पुर्खाहरुले सदियौं कालदेखि मान्दै आएको चाडलाई हामीले पनि निरन्तर मान्दै आएका हौं ।’
‘माङसेबुङ गाउँपालिका संसारले हेर्ने पवित्र स्थल बन्छ’ अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘माङसेबुङ गाउँपालिकाको लागि मैले यहाँको बाटो बलियो बनाउने सोचेको छु ।’ वहाँले थप्नुभयो, ‘एउटा बाटो देउमाई कातिके हुदैं गजुरमुखी धाम जोड्ने र अगौटे जोड्ने । यति जोड्न सकियो भने माङसेबुङ गाउँपालिका बिकासको लागि नयाँ नमुनाको रुपमा आउँछ । र माङसेबुङ बासीहरु धनी हुन्छन्, ज्ञान, बुद्धि बिवेक सबैको मालिक बन्छ ।’
‘माङसेबुङ माङले रोजेको ठाउँ हो’ अङसीमाङले माङसेबुङ गाउँपालिका जनप्रतिनिधिहरुलाई भन्नुभयो, ‘नाम नै पवित्र भएको माङसेबुङ गाउँपालिकालाई पवित्र बनाउनु । यस्लाई इलामकै नमुना गाउँपालिका बनाउनु पर्छ ।’
‘हामी साँस्कृतिक रुपमा धनी छौं’ अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘संस्कृतिको जगेर्णा गर्दै लैजाने हो भने, हामी सभ्य बन्छौं । हाम्रो समाज सभ्य बन्छ ।’ वहाँले आशीर्वचनमा महागुरुको विश्व शान्ति तथा मानव एकतालाई शिरोधार्य गरेर राज्यले विकास गर्ने हो भने यो मुलुक सुन्दर फुलबारी वन्ने समेत बताउनु भयो ।
अहंकार, क्रोध, र घमण्ड नगर्नु, उच्च विचार राखेर कर्म संस्कारहरु सुधार्दै जानुपर्ने बताउनुहुँदै वहाँले भन्नुभयो, ‘खानपीनमा शुद्ध हुनुपर्छ, धर्म गर्नु पर्छ, कर्म गर्नु पर्छ र हामीले कृति रहने कर्म गर्नुपर्छ ।’ वहाँले थप्नुभयो, ‘एउटा कृति रहने काम गर्ने र समाजलाई असल ज्ञानको बाटो देखाउने लक्ष छ ।’
‘मैले सिद्धि प्राप्त गरेको पवित्र ठाउँ यहि ठाउँ हो ।’ वहाँले आशीर्वचनमा थप्नुभयो, ‘यो पवित्र स्थल महान ठाउँमा पवित्र मनले माग्यो भने, सबै चिज माङले पुर्याउछ ।’