माङसेबुङ: राज्यका नेताहरुले मुलुकका जनताको माग र चाहनालाई समेटेर लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।
‘जनताको माग र चाहनालाई राज्यले दबाउनु हुँदैन, दमन गरियो भने झन विकराल समस्या बनेर जान्छ’ अङसीमाङज्यूले भन्नु भयो, ‘नेताहरुले समस्यालाई एक आपसमा वार्ता गरेर समधान गर्नु पर्छ । हामीमा एक आपसमा सद्भाव राख्नुपर्छ । माङसेबुङमा सबै राजनेताहरु आउछन् आशीर्वाद मागेर जान्छन ।’ आशीर्वचनमा वहाँले थप्नुभयो, ‘विश्वमा झैझगडा नहोस्, युद्ध नहोस् भनेर माङसँग विश्व शान्ति मानव एकताको लागि सेवा गरेका छौं ।’
‘प्राकृतिक पूजक भनेको पृथ्वीको उत्पतिसँगै आएको हो’ अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘चेरेङनाम कक्फेक्वा तङनामदेखि गर्मीयाम सुरु हुन्छ।’ वहाँले थप्नुभयो, ‘खिकेक्वा याक्वा सेवा पछि गएर राष्ट्रिय मान्यता प्राप्त पर्व हुन्छ । सबैमा सत् ज्ञान, बुद्धि बिवेक आओस् ।’
‘पृथ्वीमा मान्छे धेरै भएपछि मारामार हुन्छ, अनि मान्छे सकिन्छ । शक्तिशाली बम विस्फोट भए पृथ्वीनै तहसनहस हुन्छ ।’ अङसीमाङले भन्नुभयो ‘पृथ्वीमा जति जनता फैलिएका छौं सबैलाई रक्षा गर्ने बुद्धि विवेक शक्तिशाली मुलुकका नेताहरुमा आओस् कसैले पनि हत्या हिंसा, युद्ध नगर्र्रौ । वहाँले थप भन्नुभयो, ‘भूकम्प आउने चेष्टा गरिरहेको छ, यसको विषयमा मैले थुप्रै पटक भविष्य वाणी गरेको छु त्यो पनि अध्ययन् गर्नुहोस् ।’
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का आर्थिक मामिला मन्त्री राम राना मगर, अतिथिहरु माङसेवुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, प्रा. डा. बमबहादुर अधिकारी, प्राध्यापक खगेन्द्र बराइली, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका पूर्व अध्यक्ष चन्द्रप्रसाद योङया लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट विशेष आशीर्वचन भएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तकरपुस्तिका विमोचन भयो ।
प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व)को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।
समारोह सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमबहादुर लिङदेनले स्वागत मन्तव्य राखेको थियो भने समारोह सह सचिव समिता थेबेले कार्यक्रम सञ्चालन गरकी थिइन ।