- धनबहादुर फागो
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मस्थान चुक्चिनाम्बालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सबैभन्दा पहिले जन्मस्थलको जग्गा व्यक्तिबाट समुदायको स्वामित्वमा ल्याउनुपर्छ‚ त्यहाँसम्म पुग्ने सडक कालोपत्रे हुन आवश्यक छ। यस्तै‚ महागुरुसँग सम्बन्धित संग्रहालय निर्माण गरिनु पर्दछ ।
१. परिचय
नेपालको पूर्वी भेगमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, सांस्कृतिक, जातीय, धार्मिक तथा भौगोलिक विविधता भएको जिल्ला हो इलाम । यस जिल्लालाई राज्य पुनर्संरचना गरी १० वटा स्थानीय तहमा विभाजन गरिएको छ । ती तहमध्ये चार वटा नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । छ वटा गाउँपालिकामध्ये इलामको पश्चिम–दक्षिणमा अवस्थित गाउँपालिका हो, माङसेबुङ गाउँपालिका । छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिका भाषिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक रूपले धनी छ । भौगिलिक रूपमा चुरे र महाभारत श्रृङ्खला रहेको यहाँको तल्लो भेगमा गर्मी र माथिल्लो भेगमा जाडो हुन्छ । त्यसैले यहाँ जैविक विविधता पनि छ । १४२.४१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको माङसेबुङ गाउँपालिका समुन्द्र सतहबाट ५१.५ मिटरदेखि देखि २०२० मिटरसम्मको उचाईमा फैलिएको छ ।
यस गाउँपालिकाको नाम किरात लिम्बू भाषामा राखिएको छ । किरात लिम्बू भाषामा ‘माङ’ भनेको ईश्वर, ‘से’ भनेको रोजेको र ‘बुङ’ भन्नाले स्थान भन्ने बुझिन्छ । अर्थात्, ईश्वरले राजेको स्थल भन्ने अर्थमा माङसेबुङ नामकरण गरिएको हो । यस गाउँपालिका नामजस्तै विभिन्न धार्मिकस्थलहरूले भरिपूर्ण छ । त्यस्तै, धर्मगुरुहरूको जन्मस्थल पनि यही गाउँपालिकाभित्र रहेका छन् । माङसेबुङ गाउँपालिकामा किरात धर्मावलम्बीहरूको केन्द्रीय स्थल माङसेबुङ, पूर्वकै चर्चित धाम गजुरमुखीधाम, चुक्चिनाम्बा सेन्दिपेसाप माङहिम, विराटज्योति माङहाङ मन्दिर, माङमालुङ, थालाचेप्पा, नाःक्वालुङ, फुलुङ्गी, अन्धाराजा अन्धारानीजस्ता धार्मिकस्थल रहेका छन् । यस्तै, यसै क्षेत्रमा राष्ट्रिय विभूति, किरात धर्मका दर्शनदाता महागुरू फाल्गुनन्द लिङ्देन, ज्योतिनन्द गुरू, सचितानन्द गुरू (विद्यापति), किरात धर्मगुरू आत्मानन्द लिङ्देन‚ धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङ्देनको जन्मस्थान रहेका छन् । पञ्चायती शासन विरुद्ध लड्दा शहीद भएका रत्नकुमार बान्तावाले सहादत्त प्राप्त गरेको स्थान इभाङ माङसेबुङ गाउँपालिकामा नै पर्दछ । यहाँ घोर्लेभीर, गिद्धेभीर, चमेरे गुफालगायत प्राकृतिक सम्पदाहरू पनि रहेका छन् ।
महागुरु फाल्गुनन्द जन्मस्थल । तस्बिरः धनबहादुर फागो
२. चुक्चिनाम्बा नाम र यस ठाउँको महत्त्व
चुक्चिनाम्बा माङसेबुङ गाउँपालिका वडा नं. २ मा पर्दछ । चुक्चिनाम्बा नाम किरात लिम्बू भाषाबाट राखिएको हो । उहिले उहिले यस क्षेत्रमा सउरको रुख बाक्लो थियो । सउर फुल्दा बास्ना चल्ने गर्दथ्यो । सउरको फूलको बास्ना चल्ने भएकाले यस ठाउँलाई सउरको बास्ना चल्ने ठाउँ चुक्चिरे कुनाम भनी यस ठाउँका बासिन्दाले भन्दथे । यसैबाट चुक्चिनाम्बा भएको जानकारहरू बताउँछन् । किरात लिम्बू भाषामा सउर वृक्षलाई चिक्चो र बास्नालाई कुनाम वा नाम्बा भनिन्छ ।
चुक्चिनाम्बाको डाँडागाउँमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मस्थल, गैरीगाउँमा उहाँको जीवनकालमा निर्माण भएको दोस्रो माङहिम ‘चुक्चिनाम्बा सेन्दिपेसाप माङहिम’‚ महागुरु परिवारबाट पहिलोपटक छुट्टिएर बस्नुभएको लेछेबुङ र चुक्चिनाम्बा पुछार अगौटेबारीमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थान भएकाले यस ठाउँको ऐतिहासिक महत्त्व रहेको छ । यस ठाउँमा विश्वका विभिन्न स्थानमा रहेका किरात धर्मावलम्बीहरू माङहिम दर्शन, महागुरु र धर्मगुरुको जन्मस्थानमा श्रद्धा प्रकट गर्न र अवलोकन गर्न आउने गर्दछन् ।
३. को हुन् महागुरु फाल्गुनन्द लिङ्देन ?
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्म वि.सं. १९४२ कात्तिक २५ गते चुक्चिनाम्बा, डाँडागाउँमा भएको हो । महागुरु फाल्गुनन्दबारे दिलीप जबेगुले किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ-२०६७ (२०७१, पृ. ४१८) को ‘मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको संक्षिप्त जीवनी’ शीर्षक लेखमा उल्लेख गर्नुभएको छ । जगुनबाज लिङ्देन र हंसमति बेघाका साइँला छोरा फाल्गुनन्दले करिब आठ वर्षको उमेरमा देउमाई नगरपालिका वडा नं. ९ र माई नगरपालिका वडा नं. १ मा रहेको खत्रक्पामा युमामाङको दर्शन र ज्ञान प्राप्त गर्नुभएको थियो । १९६४ सालमा अंग्रेजको गोर्खा फौजमा भर्ना हुनुभएका फाल्गुनन्दले दोस्रो विश्व युद्धसमेत लड्नुभएको थियो । सैनिक जीवनमा रहँदा उहाँले युद्धको कहालीलाग्दो दृश्य देखेपछि करिब ८ वर्ष सैनिक जीवन बिताएर हवल्दार पदबाट स्वेच्छिक अवकास लिनुभएको थियो । त्यसपछि आफ्नो जीवन धार्मिक तथा सामाजिक काममा समर्पण गर्नुभएको थियो ।
किरात धर्मावलम्बीले किरात धर्मका दर्शनदाताका रूपमा मान्दै आएका महागुरु फाल्गुनन्दले मौखिक रूपमा रहँदै आएको किरात साम्जीक मुन्धुमको लेख्य परम्परामा शुरु गर्नुभएको हो । यस्तै, उहाँले कर्मसंस्कार, रीतिरिवाजमा भएका त्रुटिहरू सच्याउनुपर्छ भनी पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुस्थित लोब्रेकुटी माङहिम परिसरमा तात्कालीन १० लिम्बुवान १७ थुमका गण्यमान्य तथा बुद्धिजीवीहरूको भेला गराई सात बुँदे निर्णय गराउनुभएको थियो । त्यसै निर्णयलाई ‘सत्यधर्म मुचुल्का’ भनी नाम दिइएको किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ–२०६७ (२०७१, पृ. ४६९) को ‘सत्यधर्म मुचुल्काः किरात समाज सुधारको लिखित दस्तावेज’ नामक लेखमा डकेन्द्रसिंह थेगिमले उल्लेख गर्नुभएको छ । सत्यधर्म मुचुल्कामा महिलालाई पुरुष सरह अधिकार, शिक्षा दिनुपर्ने, आफ्नै भाषा र लिपिमा शिक्षा लिनुपर्ने कुरालाई जोड दिइएको छ । महागुरु फाल्गुनन्दले मुन्धुमको लेख्य परम्पराको शुरुवात तथा समाज सुधारका लागि पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ मंसिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
महागुरुको जीवनकालमा निर्माण भएको चुक्चिनाम्बास्थित माङहिम । तस्बिरः नबिन लिङ्देन
४. चुक्चिनाम्बाको वर्तमान अवस्था
नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ मा नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने उल्लेख छ । सोही अनुसार‚ नेपाल सरकारले पर्यटन प्रवर्द्धन र विकासका लागि सय गन्तव्यको सूची सार्वजनिक गरेको थियो । तीमध्ये केहीलाई ‘स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यहरू’ र केहीलाई ‘नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरू’ भनी छुट्याइएको छ । नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरूमा ‘गुरु फाल्गुनन्द सर्किट’ राखिएको छ । गुरु फाल्गुनन्द सर्किटमा पाँचथरको लोब्रेकुटी, इलामको चुक्चिनाम्बा, गजुरमुखीधाम र लारुम्बा समावेश छन् ।
सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेको करिब सात वर्ष बितिसक्दा पनि चुक्चिनाम्बाको डाँडागाउँमा अहिलेसम्म कुनै भौतिक पूर्वाधार निर्माण भएको छैन । महागुरु जन्मिएको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेको छ । त्यहाँ खेतीपाती गर्दै आइएको छ । त्यस जग्गालाई सामुदायिक बनाउन सरकारले कुनै पहल गरेको छैन । महागुरुको दर्शनलाई प्रचार–प्रसार र संवर्धन गर्दै आएका धार्मिक र सामाजिक संस्थाहरू किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले प्रयास गर्दै आए पनि सफल हुन सकेका छैनन् (केहेरसिं योङहाङसँगको कुराकानी आधारित) । यस्तै, उक्त जग्गा संस्थागत बनाउन किरात धर्मगुरु आत्मानन्द लिङ्देनले पनि प्रयास गरिरहनुभएको छ । तर, जग्गाधनीले जग्गा बिक्री गर्न नमानेकाले महागुरुको जन्मस्थलको संरक्षण तथा संवर्धन गर्न समस्या भएको छ (डकेन्द्रसिंह थेगिमसँग कुराकानीको आधारित) ।
महागुरुको जन्मस्थल नजिक महागुरु मूल घरबाट छुट्टिए बसेको ठाउँ लेछेबुङ, उहाँको जीवनकालमा निर्माण भएको दोस्रो माङहिम र धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थल रहेका छन् । यी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि सरकारको दृष्टि पुगेको छैन । सरकारले पर्यटकीय नयाँ गन्तव्य घोषणा गरे पनि यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न अहिलेसम्म बजेट विनियोजन भएको छैन । यस क्षेत्रमा अहिलेसम्म जे जति पूर्वाधार निर्माण भएका छन्, ती सबै किरात धर्मावलम्बी भक्तजनहरूको भेटीबाट भएका हुन् (अम्बर लिङ्देनसँगको कुराकानीमा आधारित) ।
यस क्षेत्रमा सवारीसाधन आउने सडकको ट्र्याक शुरुमा किरात धर्मावलम्बी भक्तजनहरूले श्रमदान गरेर निर्माण गरेका थिए । उनीहरूले फाल्गुनन्द मार्गको माङमालुङबाट चुक्चिनाम्बासम्म पुग्ने सडक हप्तौं श्रमदान गरी निर्माण गरेका हुन् (केहेरसिं योङहाङसँगको कुराकानीमा आधारित) । पछि सरकारले यही सडकको स्तरोन्नति गरेको थियो । माङमालुङ, चुक्चिनाम्बा, अगौटेबारी, तोभाङ हुँदै गजुरमुखी जोड्ने सडकका लागि सङ्घीय सरकारले करिब आठ करोड रूपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटले अगौटेबारीसम्म सडक स्तरोन्नति भएको छ । अहिले उक्त सडक निर्माणको जिम्मा सङ्घीय सरकारले प्रदेश सरकारलाई दिएको छ । तर, बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन (माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईसँगको कुराकानीमा आधारित) ।
यस्तै, रेखदेख र मर्मतसम्भार स्थानीय र किरात धर्मावलम्बी भक्तजनहरूबाट हुँदै आएको छ । त्यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पूर्वाधार निर्माण आवश्यक रहेका छन् । जसका लागि आवश्यक जग्गासमेत भक्तजनहरूको भेटीबाट खरिद भइरसकेको छ (अम्बर लिङ्देनसँगको कुराकानीमा आधारित) । महागुरु फाल्गुनन्दको पालामा निर्माण भएको माङहिम २०४५ सालको भूकम्पले क्षति पुर्याएपछि त्यसयता काम चलाउ निर्माण गरी पूजाआजा गरिँदै आएको अवस्था छ । माङहिम पुनः निर्माण, धर्मशाला, पूजारीघर आदि आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी छ ।
चुक्चिनाम्बालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न किरात धर्मगुरु आत्मानन्द लिङ्देन र धर्मगुरु आमा पवित्रहाङमा साँबा लिङ्देन लागिपर्नुभएको छ । महागुरु जन्मस्थल, महागुरुको जीवनकालमा निर्माण भएको माङहिम, महागुरु परिवारबाट पहिलोपटक छुट्टिएर बसेको स्थान लेछेबुङ र धर्मगुरुको जन्मस्थलमा भक्तजनको भेटी र निजी गुरुआश्रमको लगानीमा पूर्वाधार निर्माणको काम भएरहेको छ । यी चारै स्थानलाई जोड्ने सडक, ती क्षेत्रमा आवश्यक जग्गा खरिद, पूर्वाधार निर्माण लगायतको काम चरिहरेको छ (केहेरसिं योङहाङसँगको कुराकानीमा आधारित) ।
चुक्चिनाम्बा सेन्दिपेसाप माङहिम परिसरको पूजास्थल । तस्बीरः योगेश लावती
५. धार्मिक पर्यटनको सम्भावना
चुक्चिनाम्बालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने यथेष्ट सम्भावना छन् । माङसेबुङ गाउँपालिका वडा नं. ५ मा रहेको किरात धर्मावलम्बीहरूको केन्द्रीय माङहिम किरात हाङसाम मुजोत्लुङ माङहिममा वर्षमा तीन पटक सामूहिक सेवा/पूजा, किरात धर्मगुरुको प्रवचन हुँदै आएको छ । उक्त सेवा/पूजामा सामेल हुन र धर्मगुरुको प्रवचन श्रवण गर्न देश तथा विदेशबाट हजारौँ भक्तजन आउने गर्दछन् । यस्तै, यसै क्षेत्रमा रहेको निजी गुरुआश्रममा रहँदै आउनुभएका धर्मगुरु र धर्मगुरुआमासँग दर्शनभेट गर्न पनि भक्तजनहरू आउने गर्दछन् । महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गरेको स्थान देउमाई नगरपालिका वडा नं. ९ र माई नगरपालिका वडा नं. १ मा रहेको खत्रक्पा र माङसेबुङ गाउँपालिका वडा नं. ३ मा रहेको फुलुङ्गी पनि नजिकै रहेका छन् । यस क्षेत्रमा बर्सेनि माघ १ गते धार्मिक मेला लाग्ने गर्दछ । मेलामा हजारौँ भक्तजनहरू आउने गरेका छन् ।
माङसेबुङ, निजी गुरुआश्रम, खत्रक्पा र फुलुङ्गीमा आएका धार्मिक पर्यटकहरूलाई महागुरु फाल्गुनन्दको जन्मस्थल, त्यसको नजिकै रहेको धर्मगुरु आत्मानन्दको जन्मस्थलसम्म पुर्याउन सके चुक्चिनाम्बामा धार्मिक पर्यटकहरूको आवागन बढाउन सकिन्छ । यसका लागि माङसेबुङमा केन्द्रीय कार्यालय रहेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा नामक संस्थाले ‘माङसेबुङ सर्किट’को अवधारणा ल्याई त्यसलाई विकास गर्न नेपाल सरकारसँग माग गरेको थियो । तर, त्यसको अहिलेसम्म कुनै सुनावाई भएको छैन (नन्दकुमार नेम्बाङसँगको कुराकानीमा आधारित)। माङसेबुङ सर्किटमा माङसेबुङ, खत्रक्पा, फुलुङ्गी, अगौटेबारी, चुक्चिनाम्बा, उत्तरे र माई नगरपालिकाको मैनाचुली र हाङसाम वरकलाई समेटिएको छ । सडक राम्रो भए यी क्षेत्रमा एकैदिन घुम्न सकिन्छ । साथै, माङसेबुङ र गुरुआश्रममा आउने धार्मिक पर्यटकहरूलाई ती क्षेत्रसम्म पुर्याउन सके धार्मिक पर्यटनको प्रवर्द्धन हुने देखिन्छ ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थान आगौटेबारी । तस्बीरः धनबहादुर फागो
यसरी नै चुक्चिनाम्बाट नजिकै जैविक विविधता रहेको धार्मिक क्षेत्र माङमालुङ छ । पूर्वको चर्चित धाम गजुरमुखीधाम पनि नजिकै छ । त्यस क्षेत्रमा आउने पर्यटकहरूलाई पनि चुक्चिनाम्बासम्म पुग्ने वातावरण बनाउन सकिन्छ । शहीद रत्नकुमार बान्तवा सहादतस्थल, घोर्लेभीर‚ नाःक्वालुङ पनि नजिकै रहेका छन् । ती क्षेत्रलाई पर्यटकीय स्थल बनाए त्यहाँबाट नजिकै रहेको चुक्चिनाम्बालाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सहज हुने देखिन्छ ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सम्भावना रहे पनि यहाँसम्म पुग्ने सडक राम्रो छैन । यहाँ पुग्न झापाको दमक हुँदै आउने फाल्गुनन्द सडक र झापाकै बिर्तामोड, इलामको माई नगरपालिका हुँदै आउने सडक छन् । यी दुवै सडकबाट हिउँद याममा कष्ट गरेर पुग्न सकिए पनि वर्षा याममा पुग्न गाह्रो छ । सकड कच्ची, बीचबीचमा खोला भएकाले वर्षा यामको यात्रा जोखिमपूर्ण हुन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकारले यहाँसम्म पुग्ने सडकमा पर्ने खोलामा पुल, सडक कालोपत्रे गर्न आवश्यक छ । (अम्बर लिङ्देनसँगको कुराकानीमा आधारित) ।
६. निष्कर्ष
चुक्चिनाम्बा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको ठाउँ हो । चुक्चिनाम्बालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबैभन्दा पहिले महागुरुको जन्मस्थान रहेको जग्गालाई व्यक्तिको स्वामित्वबाट सार्वजनिक सम्पत्ति बनाउनु आवश्यक छ । जसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको पहलकद्मी हुनुपर्छ । जन्मस्थलको जग्गालाई समुदाय मातहत ल्याएपछि त्यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने बाटो खुल्छ । भौतिक संरचना निर्माण गर्नुअघि त्यहाँको संस्कृति, परम्परा, वास्तुकलाको अध्ययन हुन जरुरी छ । यस्तै, त्यहाँको ऐतिहासिक तथा पुरातात्विक अध्ययन गर्नु जरुरी छ । ती भौतिक संरचनामा ती कुराहरू झल्किनु आवश्यक छ ।
सन्दर्भ साम्रगी
केदेम, ज्ञानु र अरु (२०८१), माङसेबुङ दर्पण । इलाम । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय (माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रालि र किरात इङभो पान्जुम्भो) ।
चेम्जोङ, इमानसिंह (मूल सम्पादक), (२०६७), लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश, कमलादी, काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठान ।
जबेगु, दिलीप (२०७१), किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ, मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको संक्षिप्त जीवनी । दमक, झापा । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ प्रकाशन उपसमिति ।
थेगिम, डकेन्द्रसिंह (२०७१), किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ, सत्यधर्म मुचुल्काः किरात समाज सुधारको लिखित दस्तावेज । दमक, झापा । किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृतिग्रन्थ प्रकाशन उपसमिति ।
माङसेबुङ गाउँपालिकामा अवस्थित प्रमुख धार्मिक स्थलहरू (२०८०), माङसेबुङ, इलाम । किरात मल्टिमिडिया प्रा.लि.
पराजुली, कृष्णप्रसाद (सम्पा.), (२०५८), नेपाली बृहत् शब्दकोश, कमलादी, काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठान
यी हुन् एक सय वटा नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित) (कात्तिक १५, २०७५)‚ https://deshsanchar.com/2018/11/01/115718/
कुराकानी
केहेरसिं योङहाङ, अध्यक्ष, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा (२०८२ जेठ १ गते गरेको कुराकानी)
डकेन्द्रसिंह थेगिम, अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान संघ (२०८२ जेठ ४ गते गरेको कुराकानी)
हेमन्त राई, अध्यक्ष, माङसेबुङ गाउँपालिका (२०८२ जेठ ३ गते गरेको कुराकानी)
नन्दकुमार नेम्बाङ, पूर्वसचिव, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा (२०८२ वैशाख ३१ गते गरेको कुराकानी)
अम्बर लिङ्देन, अध्यक्ष, किरात सेन्दिपेसाप माङहिम सञ्चालक समिति, माङसेबुङ–१, चुक्चिनाम्बा (२०८२ वैशाख २९ गते गरेको कुराकानी)