१६ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025

मंसिर ७ देखि आत्मानन्द कप



माङसेबुङ । इलामको माङसेबुङमा आयोजना हुँदै आएको ‘आत्मानन्द कप’ फुटबल प्रतियोगिताको १८औं संस्करण आगामी मंसिर ७ गतेदेखि शुरु हुने भएको छ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’को जन्मोत्सवको अवसरमा पुरुष अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता माङसेबुङ गाउँपालिका-५ मा आयोजना हुँदै आएको छ । धर्मगुरुको ७२औं जन्मोत्सवको अवसरमा यो संस्करण आगामी मंसिर ७ गतेदेखि शुरु हुने भएको छ।

आत्मनन्द कप २०८२ का संयोजक मनप्रसाद आङबुहाङका अनुसार प्रतियोगिता माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरू सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

प्रतियोगितमा नेपालबाट दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा, दुधे युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पाँचथर, माङसेबुङ गाउँपालिका‚ युथ अफ माङसेबुङ इलाम र भारत सिलगुडको कञ्चनजंघा फुटबल क्लब सहभागी हुनेछन्।

प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने संयोजक आङबुहाङले जानकारी दिनुभयो। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन् ।

आत्मानन्द कप प्रदेश नं १ मा आयोजना गरिने एक प्रतिष्ठित फुटबल प्रतियोगिता हो। यो सालको आत्मानन्द कप १८औं संस्करण हो। गत सालको आत्मानन्द कप दुधे युथ क्लब झापाले जितेको थियो।

यस्तै‚ किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा फुटबलको साथै म्याराथन, छेलो हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाउने लगायतका खेलहरूसमेत आयोजना हुने आयोजकले जनाएको छ । खेलको आयोजना किरात धर्मगुरु नोमाङगेन्ना सेवा समितिको मातहतमा रहेर आत्मपवित्र खेलकुद समितिले गर्दै आएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, शनिबार  १२ : १५ बजे