मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जन्मावतरण भएको आज १४१औं वर्ष लाग्दैछ । आफ्नो ६३ वर्षे जीवनकालमा गर्नुभएको कामको आधारमा उहाँ किरात धर्मदर्शनदाता तथा समाज सुधारकको रुपमा समाजमा पूज्य हुनुहुन्छ । खोज अनुसन्धानकर्ता, अध्ययनकर्ता, विश्लेषक तथा लेखकहरुले त्यही रुपमा प्रस्तुत गर्दै आएकाले उहाँप्रति यही आमधारण बनेको छ ।
अद्यापि, मुहिङगुम अङसीमाङ फाल्गुनन्दबारे अध्ययन, अनुसन्धान बाँकी छ । उहाँले गर्नुभएको काम, विभिन्न समयमा दिनुभएको माङसिवाखाहुन (दिव्योपदेश) र माङइङघङ (भविष्यवाणी)बारे केही अध्ययन तथा विश्लेषण भए पनि मिहिन तथा व्यवस्थित अध्ययन, अनुसन्धान र विश्लेषण हुन बाँकी छन् । जति गरिएका छन्, ती सीमित जनशक्ति, स्रोतसाधन र लगानीमा भएको पाइन्छ । यसरी गरिएका अध्ययन, अनुसन्धान व्यवस्थित र व्यापक हुन सक्दैन र त्यसबाट व्यापक र आधिकारिक जानकारी बटुल्न असम्भव हुन्छ ।
त्यसैले मुहिङगुम अङसीमाङ फाल्गुनन्दबारे भएका/गरिएका कतिपय लेखन, विश्लेषणले भ्रम सिर्जना गरेको पाइन्छ । त्यो कुरा साँचो हो वा होइन भन्ने विवाद हुने गरेका छन् । कतिले आफूभन्दा अघिकाले त्यही लेखेका थिए, मैले पनि त्यसलाई नै आधार बनाएर लेखें भन्दै आएका छन् । त्यसैले मुहिङगुम अङसीमाङ फाल्गुनन्दसँग सरोकार राख्ने संस्थाहरुले उहाँबारे व्यवस्थित अध्ययन गर्न जरुरी छ । यो काम गर्न जति ढिलाइ हुन्छ, फाल्गुनन्दबारे भ्रम उति धेरै सिर्जना हुनेछ ।
किनकि, कतिपय व्यक्ति र संस्थाहरु आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि मुहिङगुम अङसीमाङ फाल्गुनन्दबारे भ्रम सिर्जना गर्न र उहाँको कामलाई गलत साबित गर्न लागिपरेको समाजमा छर्लङ्ग छ । फाल्गुनन्दले समाज सुधार, एकता होइन; याक्थुङ समुदायमा चलिआएको संस्कार, कर्मकाण्ड बिगारेको, समाजमा विग्रह ल्याएको आरोप लगाउँदै आएका छन् । मुन्धुमलाई संग्रहित गरेको नभई त्यसलाई आफूखुसी लेख्न लगाएर बिगारेको लगायत अन्य धेरै गम्भीर आरोप लगाउँदै आएका छन् । जबरजस्ती विवाद सिर्जना गर्ने कुचेष्टा गरिरहेका छन् ।
यस्ता दूषित मानसिकता भएका व्यक्तिले सिर्जना गरेको भ्रमबाट समाजलाई सचेत गराउन मुहिङगुम अङसीमाङ फाल्गुनन्दबारे मिहिन अध्ययन गर्दै त्यसलाई पाठकसम्म पुर्याउन जरुरी छ । यसले फाल्गुनन्दबारे बनिएका दृष्टिकोणलाई अझ फराकिलो बनाउन सहयोग गर्नेछ । साथै, उहाँबारे छरिएका भ्रमलाई केही हदसम्म भए पनि चिर्नेछ ।
अन्त्यमा, किरात चाड ‘महागुरु फाल्गुनन्द जयन्ती’को अवसरमा किरात मल्टिमिडया प्रा.लि. र किरात समाचार डटकमको हाम्रा पाठक तथा शुभचिन्तकमा हार्दिक शुभकामना ।


