२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

किरात धर्मावलम्बीहरू सधैं शान्तिको पक्षमा छौं : किरात धर्मगुरु लिङ्देन



किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ले किरात धर्मावलम्बीहरू सधैं शान्तिको पक्षमा रहेको बताउनुभएको छ।

मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्तीको अवसरमा झापाको कमल गाउँपालिका-३‚ केरखा‚ फाल्गुनन्द टोलमा आयोजित कार्यक्रममा धर्मगुरु लिङ्देनले आशीर्वचन दिनुहुने क्रममा किरात धर्मावलम्बीहरू सधैं शान्तिको पक्षमा रहने बताउनुभयो।

‘हामी किरात धर्मावलम्बीहरु झै झगडा नहोस् भन्ने भावनाका छौं‚’ उहाँले भन्नुभयो‚ ‘विश्व शान्ति मानव एकता होस्। मानव मानव बाझेर के पाउने! सद्भाव राखेर अगाडि बढ्ने भन्ने हाम्रो कामना हो।’

धर्मगुरु लिङ्देनले नेपाल अहिले अप्ठ्यारो अवस्थामा रहेकाले जनता एकापसमा बाझ्न नहुने बताउनुभएको हो।

‘अहिले नेपालको वातावरण अप्ठ्यारो भएको छ‚’ धर्मगुरू लिङ्देनले भन्नुभयो‚ ‘नेपाली जनता नबाझौं। नजुधौं। नबाझी‚ नजुधी देशलाई विकास गरौं। देशलाई उन्नतिशील बनाऔं। यही नै मेरो आशीर्वाद छ।’

कार्यक्रम स्थलमा आउनुहुँदै धर्मगुरु तथा गुरुआमा। तस्बिरः योगेश लावती

आशीर्वचन दिने क्रममा धर्मगुरु आत्मानन्द लिङ्देनले अहिले सबै नेपाली मिलेर देशको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो। ‘देशको रक्षा गरौं। देश रहेन भने हामी हराउँछौं‚’ कार्यक्रममा उपस्थित प्रदेश नं. १ का मुख्यमन्त्री हिकमत कार्कीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो‚ ‘हाम्रो प्रदेशका मुख्यमन्त्री यहाँ आउनुभएको छ। उहाँ देशको रक्षा गर्ने ठाउँमा पुग्नुभएको छ। देशको रक्षा गर्नुहोला। देश भोलि इन्डिया र चाइना भयो भने हाम्रो उपाय छैन। त्यसैले गर्दा देशलाई डुब्न नदिनू। म त्यो ठाउँमा पुगेको छैन।’

धर्मगुरु लिङ्देनको पृथ्वीको रक्षाका लागि सम्पूर्ण मानिस गम्भीर हुनुपर्ने उपदेश दिनुभयो। ‘हामीले पृथ्वीलाई खन्नु‚ जोत्नु‚ सुरुङ खन्न मात्र जानेका छौं‚’ उहाँले भन्नुभयो‚ ‘पृथ्वीलाई बिमार लाग्यो सकिन्छ। पृथ्वी सकियो भने हामी पनि सकिन्छौं।’

धर्मगुरु आत्मानन्द लिङ्देनले पृथ्वीमा समय समयमा प्रलय भएको उल्लेख गर्नुहुँदै भविष्यमा पनि यस्तो प्रलय हुनसक्ने सम्भावना रहेको बताउनुहुँदै सचेत गर्नुभयो। तर‚ यस्तो अवस्था आउन नदिन मानिसले माङको सेवा गर्नुपर्ने सुझाव दिनुभयो।

‘पृथ्वीले शरीर फेर्दा जल‚ अग्नि प्रलय‚ हावा प्रलय हुन्छ। यस्तो हुँदै आएको छ‚’ उहाँले भन्नुभयो‚ ‘पृथ्वीमा मानिस धेरै भएका छौं। त्यसैले कुनै समय फेरि त्यस्तो हुनसक्छ। यस्तो नहोस् भनी हामीले माङसँग प्रार्थाना गर्नुपर्छ।’

पृथ्वीमा यस्ता नराम्रो घटना हुन नदिन माङलाई सम्झिनु र सेवा गर्नुपर्ने धर्मगुरुले उपदेश दिनुभयो। ‘हामीले माङलाई सम्झिनुपर्छ। माङलाई सम्झियौं भने हामीलाई रक्षा गर्नुहुन्छ‚’ उहाँले भन्नुभयो‚ ‘महागुरुले भन्नुभएको छ‚ तिमीहरूले सत्य चिताउनु। सत्य चितायौ भने माङ प्रसन्न हुनुहुन्छ। माङ प्रसन्न हुनुभयो भने तिमीहरुको चिताएको‚ हाँकेको सम्पन्न हुन्छ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ३ : ०६ बजे