१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

महागुरु फाल्गुनन्द र हाम्रो दृष्टिकोण



  • पूर्णकुमारी लिङ्देन

मेरो बाल्यकालको संस्मरणबाट यो लेख शुरु गर्न चाहन्छु। बाल्यकालको अत्यन्तै रमणीय तथा अविस्मरणीय क्षणहरूमध्ये हाम्रो घरमा हुने वाार्षिक पूजा हो। पूजा प्रायः चैत महिनामा हुन्थ्यो। यो पूजा, म र मेरो उमेर समूहका बालबच्चाहरूका लागि ठूलो उत्सव हुन्थ्यो। पूजाका बेला नुहाइधुवाइ गरी चोखोनितो हुनुपर्छ भन्ने मान्यताले परिवारका सदस्य बिहानै उत्सुकतासहित नुहाउने, सफा लुगा लगाएर चट्ट पर्ने तथा घर, आँगन बढारकुँडार गरेर सफा राख्थ्यौं।

वर्ष दिनको पर्खाइपछि आएको ठूलो उत्सवले घरको माहोल उल्लासमय हुन्थ्यो। रंगीचंगी कागजका त्रिकोणात्मक एवं आराधारे बुट्टासहितका कागजी फूलहरूले घर सजिन्थे। सेतो कुर्था–सुरुवालमा सजिएका सेवासाबाहरूको आगमन हुँदा घरमा साँच्चिकै माङ/साम्माङको आगमन भएको महसुस हुन्थ्यो।

पूजा सामग्री तयार पार्न तथा पूजामा काम सघाउन पहिले नै कामदारी गुहारिएको हुन्थ्यो। गाउँका चेलीबेटी तथा दाजुभाइहरू कामदारीको रूपमा उपस्थित हुन्थे। समयानुकूल उपलब्ध फलफूल, विशेष गरी केरा, स्याउ पखाल्ने, काट्ने; कन्दमुल, खास गरी घरतरुल उसिन्ने, सेलरोटी पोल्ने जस्ता चुलाचौकाको काममा दिदी, काकी तथा फुपुहरू ऊर्जाशील देखिन्थे।

सेवासाबाहरू चिया र तरुल खाने विश्रामसहित दिनभर किरात सिरिजंगा लिपिमा लेखिएका ‘किरात साम्जीक मुन्धुम’ वाचन गर्दै सेवा गर्नुहुन्थ्यो। साँझमा लाधुङसेमी सेवा सकिएपछि दिनभरको अनुष्ठान अन्त्य हुन्थ्यो। यो बेलासम्म झ्याम्टासहित माङलाङ (शुभकार्य, विशेषगरी सेवा अनुष्ठानमा नाचिने एक प्रकारको नाच) नाच्न गाउँभरिका आगन्तुकहरू उपस्थित भइसकेका हुन्थे। निम्तेरूहरूको पनि उपस्थितिले घरमा निकै ठूलो भिडभाड भइसकेको हुन्थ्यो। प्रसाद बाँड्ने र निम्तेरूलाई नछुटाइ खाना दिने काम छिटोछिटो हुन्थे। त्यसपछि रातभर लाधुङसेमी सेवा ताक्तेन् वरिपरि घुम्दै झ्याम्टासहित माङलाङ नाच हुन्थ्यो। बिहानको ३ र ४ बजेसम्म नाचेपछि आगन्तुकहरूको बिदाबारी हुन्थ्यो। त्यो सालको घरपूजा सकिन्थो। हाम्रो परिवारले सत्यहाङ्मा पन्थ अनुसरण गरेको थियो।

हाम्रो परिवारले सत्यहाङ्मा पन्थ अनुसरण गर्नुअघि ब्राह्मण बोलाएर सत्यनारायण पूजा गरेको मलाई याद छ। बाँकी संस्कार लिम्बू परम्परा अनुसार नै गरेको हुनुपर्छ; किनभने माङ्गेन्ना, न्वागी, थेबा, युमाको अनुष्ठानहरू याक्थुङ (लिम्बू) माङ्देम्बाले गर्थे। यस हिसाबले हेर्दा त्यो बेला हाम्रो परिवारले अवलम्बन गरेको कर्मसंस्कार न त पूर्णरूपमा याक्थुङ मौलिक थियो न त पूर्णरूपमा हिन्दु संस्कारमा आधारित नै। यो दृष्टान्तले जहानियाँ राणा शासन र ३० वर्ष लामो पञ्चायती व्यवस्थाले स्थापित गरेको ‘एक देश, एक भेष’को नीतिको प्रभावका कारण याक्थुङहरूको मौलिक र सनातनी परम्पराहरू हिन्दु संस्कार उन्मुख हुँदै गएको र याक्थुङ समाजमा सांस्कृतिक संकट उत्पन्न भएको देखाउँछ।

एकातिर एकल जातीय र नश्लीय राज्यले लादेको भाषिक, राजनीतिक तथा सांस्कृतिक दमन त अर्कोतर्फ याक्थुङ समाजले मौलिकताको नाममा भरणपोषण गर्दै आएको बोझिलो/भड्किलो संस्कार जस्तै– सुनौलीरूपौली (विवाहका बेला बेहुला पक्षले बेहुली पक्षलाई सुन, चाँदी, रुपैयाँ दिने प्रचलन), तीन दशैं (विवाह भएको सालको दशैंदेखि तीनवटा दशैंसम्म सिङ्गै सुँगुर, जाँडरक्सी, राँगाको फिला लगायत मासुका परिकार केटीको घरमा कोसेलीका रूपमा लाने प्रचलन) र मैतालु (चेलीले कोसेली स्वरूप माइतीमा राँगा, सुँगुर, जाँडरक्सी लगायत वस्तु लगेबापत माइती पक्षले गच्छेअनुसार भाँडावर्तन दिने प्रचलन) जस्ता प्रथा तथा अत्यधिक मदिरा सेवनलाई पहिचानको रूपमा गर्वका रूपमा लिने कार्यले याक्थुङ समाज थाङथिलो भएको थियो। यस्तो अवस्थामा वि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नं. २ चुक्चिनाम्बा गाउँमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भएको थियो।

अनेकन कुरीतिहरूको जालोमा फस्दै गरेको याक्थुङ समाजमा क्रमशः याक्थुङ भाषा र लिपिको संरक्षण र प्रवर्द्धनमा पनि विविध प्रशासनिक तथा कानुनी अवरोधहरू तीव्ररूपमा खडा हुँदै गए। अमर तुम्याहाङले मेन्याङ्बो (२०६२)लाई उद्धृत गर्दै www.amartumyahang.blogspot.com (१ अप्रिल, २०२०) प्रकाशित ‘याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्यः एक सिंहावलोकन’ शीर्षक भ्लगमा उल्लेख गर्नुभए अनुसार, वि.सं. १९७२ को भदौ महिनामा लिम्बुवानमा याक्थुङ भाषा, लिपि, साहित्य र धर्मको प्रचारप्रसार गरेको उजुरी धनकुटा गौंडामा परेपछि आफ्ना २४ जना चेलाभुलासहित अभियन्ता लालसोर सेन्दाङ लिम्बुवान छोडेर सिक्किम भागेको इतिहास पाइन्छ।

राणाकालीन निरंकुश राज्य व्यवस्थामा आफ्नो भाषा, लिपि र संस्कृतिबारे खुलेर बहस गर्न पाइँदैन थियो। यसैबीचमा हिन्दु संस्कृतिको उपनिवेशका कारण याक्थुङ समाजमा सांस्कृतिक विचलनको विकराल रूप देखा पर्न थाल्यो। भाषा, लिपि र संस्कृतिमा आएको विचलनले याक्थुङ अस्तित्व नै धरापमा पर्ने देखेपछि महागुरु फाल्गुनन्दले लिम्बुवानका याक्थुङहरूमा सामाजिक चेतनाको विकास गराउने अभियानमा आफूलाई समर्पित गर्ने निधो गर्नुभयो। यस्तो कठिन अवस्थामा पनि लिम्बुवानका थुमहरूमा पुगेर याक्थुङहरूलाई आफूले पालना गर्नुपर्ने अनुशासन, विधि विधानबारे र मातृभाषाको अध्ययन, अध्यापन गर्नुपर्ने आवश्यकताको प्रचार गर्दै हिँड्नुभयो। हामीले अवलम्बन गर्दै आएका संस्कार र रीतिथिति हाम्रो हितविपरीत छ भनी जनचेतना फैलाउनुभयो। यति मात्र होइन, सबै थुमका गण्यमान्यहरूलाई भेला गरी वि.सं. १९८८ वैशाख २४ गते पाँचथर जिल्लाको चोकमागुस्थित लब्रेकुटी माङहिम परिसरमा महाचुम्लुङ (फिपराज बेघा, तान्छोप्पा, कात्तिक, २०८१) गरी याक्थुङहरूको संस्कार, संस्कृति र जीवनदर्शनबारे सात बुँदे ‘सत्यधर्म मुचुल्का’ पारित गराई सभ्य र सुशील याक्थुङ समाज निर्माणको खाका कोर्नुभयो।

पाँचथरको लब्रेस्थित साङसेन वरक चोःलुङ माङहिम। तस्बिरः धनबहादुर फागो

मेरी बोजुले सुनाउनुभएको एउटा कथा मलाई याद छ। बोजु त्यतिखेर ७–८ वर्षको हुनुहुन्थ्यो रे। त्यो बेला बिहानदेखि साँझसम्म बालक, वयस्क र वृद्धको स्वरूपमा आफूलाई रूपान्तरण गर्दै याक्थुङ गाउँहरूमा एउटा साधु कमाण्डलु र त्रिशूल बोकेर घुम्दै छन् रे भन्ने सुनेको उहाँले हामीलाई बताउनुहुन्थ्यो। बोजुले सुन्नुभए अनुसार, महागुरु फाल्गुनन्द मिक्लाजुङ थुमको याक्थुङ गाउँमा घरी महिला त घरी पुरुषको रूप धारण गरेर देखा पर्नुहुन्थ्यो; गाउँगाउँ डुल्दै ‘छोरीचेली बेचिखानु हुँदैन, जाँडरक्सी पिउन, मासुमंस खानु हुँदैन, पूजाआजा गर्दा पशुको बलि नचढाइ फलफूल र दियोबातीले गर्नुपर्छ’ भन्दै हिँड्नु हुन्थ्यो।

बाल्यकालमा फलामसिंह नामबाट परिचित महागुरु फाल्गुनन्द सात्त्विक र अध्यात्मवादी रहेको उहाँको जीवनकालका शिष्यहरूको भनाइबाट थाहा हुन्छ। आध्यात्मिक चिन्तनको परिणामस्वरूप उहाँले प्राप्त गर्नुभएको ज्ञान याक्थुङ समाजको मार्गदर्शनको रूपमा रहेको छ। मेरो बोजुले सुनाउनुभएजस्तै महागुरु फाल्गुनन्दले एक योगीको भेषमा याक्थुङ गाउँहरू डुल्दै समाजलाई सही दिशानिर्देश गर्नुभएको थियो।

महिलाको स्वरूपमा प्रस्तुत हुन रुचाउने महागुरु फाल्गुनन्दले शिक्षामा महिलाहरूको सहभागिता र महिलामाथिको भेदभावविरुद्ध जनचेतना फैलाउने काम गर्नुभयो। सुनौलीरुपौली, तीन दशैंको प्रचलन र मैतालु प्रथाले छोरीचेलीमा ऋणको भार थपिने र छोरीचेलीलाई जनावर सरह बेचिने वस्तुको रूपमा चित्रण गर्ने भएकाले यी प्रथाले महिला हिंसा प्रवर्द्धन गर्नुका साथै महिलाहरूको स्वतन्त्रतामाथि अंकुसे लगाउने उहाँको बुझाइ थियो। महागुरु फाल्गुनन्दले याक्थुङ मौलिक संस्कृतिको नाममा महिलाहरूमाथि हुँदै आएका अन्यायलाई कुरीतिको संज्ञा दिएर अबदेखि यस्तो संस्कार अँगाल्नु हुँदैन भनी थुमथुममा पुगेर सम्झाउनुभयो, बुझाउनुभयो। सत्यधर्म मुचुल्कामा समेटिएका बुँदाहरूमध्ये छोरीचेलीको सोतरीत नखानु भन्ने प्रमुख अंश रहेको छ। बिडम्बना, सत्यधर्म मुचुल्काको बहसमा सहभागी र पारित गर्ने हस्ताक्षरकर्ताहरू एकाधबाहेक सबै पुरुष मात्र रहेका छन् (रमेश तुम्बापो र मनकुमार फेजङ, निस्सेहाङमा’ फल्गुनन्दको जीवनी, २०७९: ९१–१००)। यसबाट याक्थुङ समाजले पितृसत्तात्मक संरचनालाई यस बेलासम्म अँगालिसकेको अनुमान गर्न सकिन्छ।

महागुरु फाल्गुनन्दको नेतृत्वमा लिम्बुवानको विभिन्न थुमहरूमा माङहिमहरूको स्थापना भयो। उक्त समयमा माङहिम स्थापना गर्नु केवल पूजाआजाका लागि मात्र थिएन। राणाकालीन निरंकुशतन्त्रमा माङहिमलाई सामूहिक पूजाअर्चनाको नाममा आफ्नो भाषा, लिपि र संस्कृतिबारे छलफल गर्ने चुम्लुङस्थलको रूपमा प्रयोग गर्ने उद्देश्य रहेको बुझ्न सकिन्छ। यही चुम्लुङहरूमा महागुरु फाल्गुनन्दले आफ्ना सन्ततिहरूलाई मातृभाषामा शिक्षा दिनुपर्छ भन्दै फेदाङ्मा, साम्बा, येबा/येमाले मौखिक रूपमा वाचन गर्दै ल्याएका मुन्धुमहरू किरात सिरिजंगा लिपिमा लेखिनुपर्नेमा जोडदिनुभयो। आफ्ना अनुयायीहरूलाई आफ्नो मातृभाषा र किरात सिरिजंगा लिपि अनिवार्य सिक्नुपर्ने सुझाव दिई याक्थुङ भाषा बोल्न र किरात सिरिजंगा लिपि लेख्न सिकाउनुभयो।

यस्तै, अनुष्ठानहरू सेवासाबा/सेवासामाहरूबाट सम्पन्न गर्नुपर्ने प्रचलन बसाउनुभयो। सेवासाबा/सेवासामाहरूले किरात सिरिजंगा लिपिमा लिखित साम्जीक मुन्धुम वाचन गर्नुपर्ने अडानका साथ याक्थुङ भाषा र लिपि प्रयोगको जागरणमा लाग्नुभयो। यसै सिलसिलामा फिपराज बेघा (उही, कात्तिक, २०८१) का अनुसार, मौखिक परम्परामा रहेको मुन्धुमलाई लिपिबद्ध गर्नुभयो। अमर तुम्याहाङ (उही, १ अप्रिल, २०२०) का अनुसार महागुरुको जीवनकालमा स्थापित माङहिमहरू जस्तै, काबेली माङहिम, मारुङपारुङतेम्बे माङहिम, चिल्लिङसे माङहिम, सिलौती माङहिम, सत्रथुम गोश्वारा माङहिम, चुक्चिनाम्बा माङहिम, आठजिल्ला माङहिम, जितपुर माङहिम, भोटाङ सिब्सु माङहिम, सत्यहाङ्मा माङहिम भुटानमा याक्थुङ भाषामा शिक्षा दिइन्थ्यो।

ताप्लेजुङको मुक्कुमलुङस्थित महागुरु फाल्गुनन्दको शालिक। तस्बिरः धनबहादुर फागो

कार्ल मार्क्सले धर्म अफिम हो भने झैं महागुरु फाल्गुनन्दले याक्थुङ समाजमा व्याप्त विसंगति र कुरीतिलाई निर्मुल गर्ने तथा आफ्नो मातृभाषा र लिपिको संरक्षण र संवर्द्धन गर्ने अभिप्रायले सत्यहाङ्मा पन्थको धार्मिक आवरणमा किरात धर्मलाई हतियारको रूपमा अगाडि ल्याउनुभयो। उहाँको नेतृत्वमा स्थापित माङहिमहरूमा बिहान–साँझ माङसेवा गर्ने चलन बसाउनुभयो। माङसेवा गर्नका लागि चोखोनितो गर्नुपर्ने नियमका साथै आफ्ना भक्तजनहरूलाई सात्त्विक जीवन जिउन उत्प्रेरित गर्नुभयो। सत्यधर्म मुचुल्कालाई जीवनदर्शन र कानुनी मूल्यमान्यताका रूपमा पालना गर्न लगाउनुभयो। परिणामस्वरूप सत्यहाङ्मा पन्थका अनुयायीहरूले छोरीचेलीको सुनौलीरुपौली खाने चलन छाड्दै गए। विवाह, घरपैंचोजस्ता शुभकार्य तथा मरिमराउ र सुध्याइजस्ता दुःखको कार्यमा मदिरा र मासुमंसको प्रयोगमा प्रतिबन्ध लाग्यो। पूजापाठमा बलिप्रथा अन्त्य भई फलफूलको प्रयोग हुनथाल्यो। यो अभियानलाई याक्थुङ समाज सुधार अथवा सामाजिक रुपान्तरणमा सुनौलो पाइलाको रूपमा चित्रण गर्न सकिन्छ। महागुरु फाल्गुनन्दका शिष्यहरू सबैले आजीवन सात्त्विक जीवन जिउनुभयो, सामाजिक अग्रजको रूपमा हिंसारहित समाज निर्माणका लागि प्रयत्नरत रहनुभयो।

अहिंसा, लैंगिक समानता, मातृभाषा तथा सामाजिक न्यायका पक्षपाती महागुरु फाल्गुनन्दका समाज सुधारका अभ्यासहरू आजको दिनसम्म आइपुग्दा पनि आलोचनामुक्त भने छैनन्। उहाँमाथि मौलिक रीतिथितिहरूलाई हिन्दु संस्कारतर्फ मोडी याक्थुङहरूलाई दिग्भ्रमित गरेको आरोपहरू लाग्ने गरेका छन्। तथापि, मेरो अनुभवलाई मात्र आधार मान्दा महागुरु फाल्गुनन्दले सामाजिक तथा धार्मिक अभियन्ताको रूपमा याक्थुङ समाजलाई अतुलनीय योगदान गर्नुभएको पाइन्छ। उहाँको मातृभाषाप्रेमी अभियानले लिम्बुवानमा किरात सिरिजंगा लिपिको जगेर्ना र विकासमा सघाउ पुर्‍याएको तथ्य नकार्न मिल्दैन।

वि.सं. २०४६ सालमा देशमा प्रजातन्त्र पुनर्बहालीपछि याक्थुङहरूले खुलेर आफ्नो भाषा, लिपि, धर्म तथा संस्कारको वकालत र अनुसरण गर्ने अवसर पाए। २०४७ को संविधानले प्रत्येक समुदायले प्राथमिक तहसम्म आफ्नो मातृभाषमा शिक्षा दिन विद्यालय खोल्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गरेपछि समुदायस्तरमा मातृभाषा र लिपिको अध्ययनका बहसहरू पुनः शुरु भए।

महागुरु फाल्गुनन्दको अभियानको हिस्सास्वरूप सत्यहाङ्मा पन्थीहरूले साम्जीक मुन्धुम वाचन गर्नका लागि आआफ्नो घरमा स्वअध्ययन गर्दै आएको किरात सिरिजंगा लिपिको अध्ययन सामुदायिक तहमा हुन थाल्यो। समुदायको अपनत्वमा अनौपचारिक कक्षाहरूमार्फत याक्थुङ भाषा र लिपिको व्यापकरूपमा सिकाइ अभियान शुरु भयो। गाउँगाउँमा बालबालिकादेखि प्रौढसम्मले याक्थुङ भाषा र किरात सिरिजंगा लिपिको अध्ययन शुरु गरे। यसमा सेवासाबा/सेवासामा र सिक्साम्बा/सिक्साम्माले अहम् भूमिका खेले। याक्थुङको बाहुल्यता भएको समाजमा जन्मे हुर्केकाले भाषा बोल्न जानेकी भए तापनि मैले किरात सिरिजंगा लिपि यस्तै अनौपचारिक अभियानमा सहभागी भएर सिकें।

वर्तमान संघीय राज्यव्यवस्था अनुसार याक्थुङ लिम्बु भाषा प्रदेश नं. १ मा सरकारी कामकाजको भाषाको रूपमा सूचीकृत भइसकेको र इलामको माङसेबुङ गाउँपालिकामा प्रयोगमा समेत आइसकेको छ। अन्य स्थानीय तह र प्रदेशमा याक्थुङ भाषा र लिपिलाई प्रयोगमा ल्याउन हामीले याक्थुङ भाषा बोल्न र लिपि लेख्न जान्नुपर्ने हुन्छ। हाम्रा सन्ततिहरूले प्राकृतिक रूपमा घरमै याक्थुङ भाषा बोल्न सिक्ने घरायसी वातावरणको सिर्जना प्रत्येक घर र समुदायमा हुनुपर्छ। याक्थुङ भाषा र किरात सिरिजंगा लिपिको प्रयोग औपचारिक शिक्षामा समेत समाहित भइसकेको अवस्थामा अब समुदायले यसको व्यापकताका लागि विविध प्रायोगिक आयामहरूमा बिस्तार गर्नु जरुरी छ। महागुरु फाल्गुनन्द लगायत याक्थुङ भाषा र किरात सिरिजंगा लिपिको संरक्षण र प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गर्नुहुने सम्पूर्ण महान् व्यक्तित्वहरू सिरिजंगा सिंथेबे, लालसोर सेन्दाङ इमानसिंह चेम्जोङप्रतिको सच्चा श्रद्धा उहाँहरूको योगदानलाई कदर गर्दै हाम्रो मातृभाषा र लिपिको प्रवर्द्धनमा कटिबद्ध रहनुबाट झल्किनेछ।

(यो लेख किरात समाचारको ‘मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती विशेषाङ्क २०८२ कात्तिक २५’ मा प्रकाशित छ।)

विशेषाङ्कमा प्रकाशित लेखहरूः

प्रकाशित मिति : ८ मंसिर २०८२, आइतबार  ८ : ५७ बजे