३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मनोहर आविमा राई पहिरन विद्यालय पोशाक



मोरङको मिक्लाजुङ गाउँपालिका-१ कोलबोटेस्थित मनोहर आधारभूत विद्यालयले किरात राई समुदायको पहिरनलाई विद्यालय पोशाकको रूपमा हप्ताको दुई दिन प्रयोग गर्न शुरू गरेको छ।

विद्यालयमा आइतबार र शुक्रबार राई पहिरन प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक राईले जानकारी दिनुभयो। किरात समुदायको चाड उधौली पर्वका अवसरमा मंसिर १६ गते आयोजित एक कार्यक्रममा मिक्लाजुङ गाउँपालिकका अध्यक्ष बबीकुमार राईले ५० जना विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको थियो।

राई पहिरनमा विद्यार्थीहरू

विद्यार्थीहरूलाई निःशुल्क राई पहिरन वितरण गर्न अभिभावक तथा शुभेच्छुकहरूले एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। राई विद्यार्थीहरूको बाहुल्यता रहेको यस विद्यालयमा स्थानीय पहिरन संरक्षण गर्न राई समुदायको पहिरन विद्यालय पोशाकको रूपमा प्रयोग गरिएको प्रधानाध्यापक कुशलचन्द माझीले बताउनुभयो।

विद्यालयमा स्थानीय पोशाक प्रयोगलाई निरन्तरता दिन आउँदा वर्षमा गाउँपालिकाले बजेट व्यवस्था गर्ने अध्यक्ष राईले प्रतिवद्धता जाहेर गर्नुभयो। विद्यालयमा स्थानीय परिहन प्रयोगले संस्कारसहितको शिक्षा प्रदान गर्ने कार्यमा सहयोग पुगेको गाउँपालिका शिक्षा प्रमुख काशीनाथ खनालले बताउनुभयो।

उधौंली पर्वको अवसरमा राई समुदायको मौलिक नृत्य साकेला र मौलिक खाना बाचिपा वितरण गरिएको थियो।

राई पहिरनमा विद्यार्थीहरू

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ६ : ४१ बजे