१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

अनि शुरु भयो धर्मगुरु आत्मानन्दको जन्मोत्सव कार्यक्रम



  • हर्कवीर योङहाङ

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ र मेरो जन्म भएको गाउँ नजिकै पर्छ। उहाँको गाउँ तत्कालीन इभाङ गाउँ पञ्चायत वडा नं. ५ आगौटेबारी र मेरो वडा नं. ४ पावा हो। यी दुवै ठाउँ अहिले माङसेबुङ गाउँपालिका वडा नं. २ मा पर्छन्। हाम्रो बाल्यकाल त्यहीं बितेका थियो। हाम्रो उमेर पनि धेरै फरक छैन। धर्मगुरुको जन्म २०११ साल मंसिर १८ गते र मेरो २०१३ साल साउन १८ गते भएको हो।

मैले धर्मगुरुलाई पहिलोपटक पावास्थित हाम्रै घरमा २०२५ साल कात्तिकमा भेटेको हुँ। इभाङको चुक्चिनाम्बास्थित चुक्चिनाम्बा सेन्दिपेसाप माङहिमबाट बद्रीनन्द तुम्बापोसँग धर्मगुरु आउनु हुँदा भेट भएको थियो। बद्रीनन्द मेरो साइँला फुपाजु हो। उहाँ ससुराली आउनु हुँदा धर्मगुरुलाई पनि सँगै ल्याउनुभएको थियो। त्यो बेला धर्मगुरुले पहेंलो कपडाको फेटा बाँध्नुभएको थियो। पहेंलो कपडाको जामाजस्तो लुगा लगाउनुभएको थियो। यति बेलासम्म धर्मगुरुलाई ‘बालागुरु’ भनेर चिनिन्थ्यो।

गाउँ नजिकै भए पनि धर्मगुरुसँग नजिक हुने सौभाग्य चाहिँ २०२७ सालमा मात्र जुर्‍यो। उहाँ २०२७ साउन २५ गतेदेखि तत्कालीन इभाङ गाउँ पञ्चायत वडा नं. ८ (हाल माङसेबुङ–३) फुलुङ्गीमा ध्यानसाधनामा बस्नुभयो। सोही साल हामी पनि पावाबाट महमाईको पलाँसे बसाइँ सरेका थियौं। फुलुङ्गी र पलाँसे नजिकै पर्छ। म पलाँसेबाट गाईबस्तु चराउन फुलुङ्गी जान्थें। धर्मगुरु दिउँसो खोलामा नुहाउन झर्नुहुन्थ्यो। उमेर मिल्ने भएकाले होला उहाँले माईखोलामा ‘होडबाजी पौडी खेलौं है जेठा’ भन्नुहुन्थ्यो।

बेलुका घर गएपछि माईखोलामा बालागुरुसँग होडबाजी पौडी खेल्छौं भनेर बुवालाई सुनाउँथें। त्यो बेला गुरु भनेको के हो? किन आउनुभएको? भन्ने मलाई थाहा थिएन। धर्मगुरुका साथमा ६–७ जना हुन्थे। उहाँहरूमध्ये मलाई गुरुआमाका अन्तरे मामा, पान्थर कुरुम्बाका राजवीर लाओती, भिमबहादुर लाओती सम्झना छ।

धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थान आगौटेबारी। तस्वीरः धनबहादुर फागो

मलाई धर्मगुरुले भन्नुभएको थियो, ‘जेठा, तिम्रा बाजेहरूलाई नै महागुरुले किरात धर्ममा प्रवेश गराउनुभएको रहेछ।’ त्यो बेलासम्म मैले किरात धर्ममा विधिवतरूपमा कसरी प्रवेश गर्ने भन्ने जानेको थिइनँ। मलाई यसबारे तत्कालीन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्वज सङबाङफे र पान्थर चोकमागुका जौबारी कान्छा (डिल्लीप्रसाद तुम्बापो)ले बुझाउनुभएको हो। जौबारी कान्छा चुक्चिनाम्बा माङहिमबाट इभाङ गाउँ पञ्चायत वडा नं. ८ मा रहेको (हाल माई नगरपालिका वडा नं. ६) हर्कध्वजको घरमा जानुहुँदा हाम्रो घरमा बास बस्नुहुन्थ्यो। त्यो बेला वहाँले महागुरु फाल्गुनन्दका माङसिवाखाहुन (दिव्योपदेश)हरू पढेर सुनाउनुहुन्थ्यो। महागुरुको जन्मावतरण यसरी भएको र उहाँको अवतारका रुपमा धर्मगुरु आत्मानन्द किरातीहरूको उद्धार गर्न आउनुभएको बताउनुहुन्थ्यो। समाजमा भएका नराम्रा कुराहरू सुधार्न धर्मगुरुको जन्मावतरण भएको हो भनी सुनाउनुहुन्थ्यो। यस्तै, आफ्नो भाषा, लिपि, साहित्य पढ्नुपर्छ। किरात धर्ममा विधिवत प्रवेश गर्नुपर्छ भन्नुहुन्थ्यो। र, २०३६ सालमा हामी विधिवतरूपमा किरात धर्मावलम्बी भयौं। हामीलाई गुरुपिता पूण्यप्रसाद लिङ्देनले दीक्षित गर्नुभयो।

धर्मगुरुबारे जानकारी पाएपछि उहाँको समीपमा कसरी पुग्ने भन्ने मलाई लाग्न थाल्यो। धर्मगुरु २०३४ सालमा चुक्चिनाम्बाबाट झापाको दमक बसाइँ सर्नुभएको थियो। त्यहाँबाट २०३५ सालमा लारुम्बा बसाइँ सर्नुभयो। त्यसपछि गुरु आश्रम जाने आउने क्रम बढ्यो। मैले धर्मगुरुसँग नजिक हुने अवसर पाएँ। धर्मगुरु लारुम्बामा रहेको आश्रमबाट हर्कध्वजको घरमा जानु हुँदा हाम्रो घरमा निस्किनुहुन्थ्यो। चियापान गरेपछि मलाई ‘पिछी जेठा, यो तुम्भाक्सा थिक तुम्सुआङ थाङ्सी (जाउँ जेठा, तल बुढामान्छेलाई भेटेर आऔं।)’ भन्नुहुन्थ्यो। हामी हर्कध्वजको घरमा जान्थ्यौं। हर्कध्वजको घरमा पुगेपछि उहाँहरूबीच धर्मलाई अगाडि कसरी बढाउने, कसरी माथि उठाउने, आर्थिक समस्यालाई कसरी समाधान गर्ने जस्ता विविध कुरामा छलफल हुन्थ्यो। यस्ता कुराकानी सुनेपछि मलाई धर्मगुरुको साथ छाड्न मन लागेन। उहाँले दिनुभएको जिम्मेवारी निर्वाह गर्दै जाने सोंच बनाएँ। अहिलेसम्म त्यो जिम्मेवारी निर्वाह गर्दै आएको छु।

वि.सं. २०३५ चैत २७ गते इलामको इभाङ पुछार आँपडाँडामा पञ्चायती शासकले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले)का केन्द्रीय सदस्य रत्नकुमार बान्तवाको हत्या गर्‍यो। इलाम जाँदै गर्दा बाटोमा मैले उक्त घटना भएको देखें। त्यसपछि इलाम नगइ महमाई नै फर्किएँ। त्यो बेला महमाईको तमाखेमा हाम्रो सामूहिक सेवा भइरहेको थियो। मलाई देखेपछि हर्कध्वज दाइले ‘तिमी इलाम गएनौं?’ भनी सोध्नुभयो। मैले दाइलाई ‘म एकछिनमा भन्छु’ भनें। त्यो बेला सेवा अन्तिमतिर पुगेको थियो। सेवा सकिएपछि दाइलाई इभाङको घटना सुनाएँ।

त्यसको तीन दिनपछि हामी इलाम सदरमुकाम गयौं। हामी इलाम पुगेको भोलिपल्ट बिहान ६ बजे नै हामीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍यायो। इभाङको घटनालाई लिएर नियन्त्रणमा लिएको रहेछ। हर्कध्वज भूतपूर्व प्रधानपञ्च हुनुहुन्थ्यो। तैपनि त्यहाँका नागरिक वहाँका साथमा थिए। त्यसैले उहाँको क्षेत्रमा त्यसरी मान्छे मारिएको बेला इलाम सदरमुकाम आएर बस्नुको कारण के हो भनी सोधपुछ गर्न नियन्त्रणमा लिएको रहेछ। त्यो बेला इलाममा प्रहरी निरीक्षकको कमाण्ड मात्र थियो। इभाङको घटनापछि भने विराटनगरबाट एसपी आएका रहेछन्। उनले हामीलाई चार घण्टा बयान लिए। बयान सकिएपछि ‘गोप्य’ लेखिएको चिठ्ठी दिएर ‘यो लिएर मेरो इन्सपेक्टर (निरीक्षक)लाई तुरुन्तै भेट्न जानू, इभाङ वा गजुरमुखी कहाँ छन्’ भनी पठाए।

यसपछि हामी सदरमुकामको सबै काम छाडेर इभाङतिर लाग्यौं। हामी इलामबाट इभाङ पुग्यौं। त्यहाँ हामीलाई भेट्न बिहान ६ बजेतिर प्रहरी आए। ती प्रहरीका साथमा हामी इन्सपेक्टरलाई भेट्न गजुरमुखीको तोभाङ भन्ने ठाउँमा गयौं। भेटपछि इभाङका ५०–६० जनालाई पक्राउ पुर्जी जारी भएको थाहा भयो। एसपीले हामीलाई ‘तिमीहरूको आफ्नो मान्छे जोगाउनू’ भनेका थिए। हामी पुगेपछि गाउँका मान्छेलाई सहारा भयो।

रत्नकुमार बान्तवाको डायरीमा कुसुम भन्ने नाम पनि उल्लेख रहेछ। त्यसैले फेवाखोला भन्ने ठाउँमा रहेको नैनसिंह राईको घरमा इन्सपेक्टरसहित निस्कियौं। कुसुमबारे सोधुपुछ भयो। घरका ठूला मान्छेले उनी त यहाँ आएकी छैनन् भने। तर, एउटी सानी नानीले ‘हाम्रो दिदीको त ठूलो घाउ छ, माथि यो घोर्लेभीरको पाटामा लुकेर बसेको छ। भात पनि खाँदैन’ भनिन्। अनि हामीले बोलाउन लगायौं। कुसुमलाई इन्सपेक्टरले सोधपुछ गर्न थाले। त्यही बेला मेरा बुवा लाखजित योङहाङ चिट्ठी लिएर आइपुग्नुभयो। त्यो चिट्ठी धर्मगुरुले पठाउनुभएको रहेछ। चिट्ठीमा ‘भूपू प्रधानपञ्चजी, मेरो गुरु भनेर विश्वास छ भने सयौं काम छाडेर मलाई भेट्न तुरुन्त आउनू’ भन्ने लेखिएको थियो। चिट्ठी पढेपछि हर्कध्वज दाइले गोजीमा राख्नुभयो। इन्सपेक्टरले हेर्न खोजे। दाइले म देखाउँदिन भन्नुभयो। तर, नदेखाइ धर पाउनुभएन। चिट्ठी पढेपछि इन्सपेक्टरले झन् चासो लिए।

मेरा बुवाले हर्कध्वजलाई मौखिक भन्नुभएको रहेछ, ‘गुरुको नाममा पनि पक्राउ पुर्जी छ रे! त्यसैले मलाई लिन पठाउनुभएको।’ प्रहरीले चिट्ठीबारे धेरै चासो लिएपछि हर्कध्वज दाइले सोध्नुभयो, ‘गुरुज्यूको नाममा पनि पक्राउ पुर्जी छ रे भन्ने कुरा सुनियो, कुरा के हो? जिल्लाको प्रहरी प्रमुख तपाईं नै हो।’ यो कुरा सुनेपछि इन्सपेक्टर अनकनाए। उनले छैन भन्न सकेनन्।

एकछिनपछि इन्सपेक्टरले ‘गुरुको नाममा पक्राउ पुर्जी छ भन्ने कसले भन्यो? गुरुलाई कसरी थाहा भयो?’ भनी प्रश्न गरे। यो कुरा सुनेपछि हर्कध्वजले ‘गुरु आश्रममा प्रहरीहरू गुरुलाई खोज्दै पुगेका थिए। किन गए?’ भनी प्रतिप्रश्न गर्नुभयो। यो कुरा सुनेपछि इन्सपेक्टरले ‘गुरुको नाममा पक्राउ पुर्जी होस् वा नहोस् तर गुरुलाई पक्राउ नगरे भयो होइन?’ भने। तर, हर्कध्वजले ‘प्रहरीको के विश्वास, प्रहरीले छाड्दैन भन्ने लाग्छ’ भन्नुभयो। यो कुरा सुनेपछि इन्सपेक्टरले ‘गुरुलाई म पक्राउ गर्दिनँ। तर, तपाईंहरूका गुरु किरात धर्म भन्नुहुन्छ। म पनि बाहुनको छोरा, बाहुनले धर्मबारे अध्ययन गरेको हुन्छ। गुरुसँग मलाई भेट गराउनुहोस्। गुरुलाई धर्मबारे केही कुरा सोध्छु’ भने। तर, हर्कध्वजले मान्नुभएन। दाइले प्रहरीको विश्वास लाग्दैन भन्ने कुरा फेरि दोहोर्‍याउनुभयो।

दाइको कुरा सुनेपछि इन्सपेक्टरले भने, ‘लिम्बूले कसम खाँदा कसरी खान्छन्, त्यसरी नै कसम खुवाउनू, म कसम खान्छु। गुरु सबैको हुन्छ। त्यसैले म उहाँलाई पक्राउ गर्दिनँ।’ यसपछि हर्कध्वज दाइले हाम्रोमा कसम खुवाउनेले दुबो, ढुंगो र माटो हातमा उठाउँछ र त्यसलाई खानेको हातमा राखिदिन्छन् र म यी यी कुरा गर्दिनँ। गरें भने यही दुबो, ढुंगो र माटोले मलाई सत्य नाश गरोस् भनेर कबुल गर्नुपर्छ भन्नुभयो। इन्सपेक्टरले त्यसरी नै कसम खाए। कसम खाएपछि दाइले मेरा बुवालाई ‘हामी प्रहरीसँगै गुरु आश्रम आउँछौं। तपाईं गएर आश्रममा नै रहनु होला।’ भन्ने खबरसहित पठाउनुभयो।

२०५९ जेठमा खिचिएको गुरु निजी आश्रम। तस्वीरः धनबहादुर फागो

यो घटना २०३६ साल वैशाखको हो। पानी परेको थिएन। धुलैधुलो थियो। सखुवाका पात झरेका थिए। हामी त्यहाँबाट इभाङको मान्द्रे हुँदै मेक्वाखोला झरेर उकालो चढ्यौं। आश्रम पुगेपछि इन्सपेक्टरले धर्मगुरुको दर्शन गरे। दर्शन गर्न बित्तिकै गर्मी भयो भन्दै युनिफर्म खोलेर गन्जी र लुङ्गी मात्र लगाएर भक्तजन बस्न बनाइएको घरमा गएर आराम गरे। हावा आइरहने त्यो घरमा इन्सपेक्टर निदाए। प्रहरीहरू पनि सबै निदाए। यही मौकामा धर्मगुरु र हर्कध्वजबीच कुराकानी भयो।

कुराकानीको बीचमा धर्मगुरु रिसाउनुभयो। उहाँले भन्नुभयो, ‘होइन, म त आफ्नै काम गर्न मात्र आएको, कसैलाई हानि, नोक्सानी गर्न आएको होइन। तर‚ मलाई किन यसरी आरोप लगाइरहन्छन्। कहिले पूर्वको राजाको संज्ञा दिने त कहिले के दिने! धूप बालेर एउटा डाँडामा गएर चुपचाप रमिता हेर्दै बसौं!’ यति भनिरहँदा धर्मगुरुको आँखामा आँसु देखियो। अनुहार कालो भयो।

धर्मगुरुको कुरा सुनेपछि हर्कध्वज दाइले निवेदन गर्नुभयो, ‘गुरु, जे भए पनि माङलाई एकछिन भन्नुहोस्। हाम्रा मान्छे साह्रै धेरै मर्छन् होला। हाम्रा मान्छेमा अलिकति पनि चेतना आएको छैन। हाम्रा मान्छे त बचाइराख्नुपर्छ गुरु।’ यो सुनेपछि धर्मगुरु एकछिन नबोली बस्नुभयो। उहाँको अनुहार बिस्तारै उज्यालिँदै गयो। धर्मगुरुले भन्नुभयो, ‘साह्रै भएन, अब दरबारमा एउटा झिल्का नपठाइ भएन।’

केही घण्टापछि इन्सपेक्टर उठे। अन्य प्रहरी पनि उठे। रात पर्न लागिसकेको थियो। इन्सपेक्टर उठेर अब जाऔं भन्दै हतार गर्न थाले। हाम्रो टोली रिखुवा खोलैखोला महमाईतिर झर्‍यौं। अँधेरी रात थियो। उज्यालो पार्ने कुनै साधन पनि थिएन। रातको ११ बजे महमाईको आँपटारी भन्ने ठाउँमा पुगेर सुत्यौं।

मैले धर्मगुरुले भन्नुभएको कुराको अर्थ बुझेको थिइनँ। तर, त्यसको केही समयपछि विद्यार्थीहरूले पञ्चायतविरोधी आन्दोलन मच्चाए। विद्यार्थीसँगै  प्रतिबन्धित राजनीतिक दलका नेताहरू पनि सरकारविरुद्ध आन्दोलनमा निस्किए। आन्दोलनलाई मत्थर पार्न राजा वीरेन्द्रले २०३६ जेठ १० गते जनमत संग्रह घोषणा गर्नुभयो। समसामयिक सुधारसहितको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये एउटा प्रणाली छनोट गर्न जनतासँग आह्वान गर्नुभयो। यही बेला मैले हर्कध्वज दाइलाई सोधेको थिएँ, ‘दाइ यो बहुदल भनेके के हो?’ दाइले यसबारे प्रट्याउनुभयो।

तर, जनमत संग्रहमा बहुदल र निर्दलमध्ये कसको पक्षमा उभिने भन्ने निर्क्यौल गरिसकेका थिएनौं। एकदिन हर्कध्वज दाइले बहुदल र निर्दलमध्ये कसलाई छान्ने भनी धर्मगुरुलाई सोध्नुभयो। उहाँले बहुदल नै फराकिलो हुन्छ भन्नुभयो। त्यसैले हर्कध्वज दाइ र इलाम जिल्लाका बहुदल पक्षका नेताहरूको अगुवाइमा हामी बहुदलको प्रचारप्रचारमा लाग्यौं। निर्वाचनको मिति नजिक आइसकेको थियो, पान्थरमा पद्मसुन्दर लावतीको अगुवाइमा निर्दल पक्षधरको जिल्ला सम्मेलन हुने कुरा सुन्यौं। एक बेलुकी रेडियो नेपालको जिल्ला समाचारमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनज्यूको प्रमुख आतिथ्यमा निर्दलको जिल्ला सम्मेलन अत्यन्त सौहार्दपूर्ण रुपमा सम्पन्न भयो भन्ने सुन्यौं! यो समाचार सुनेपछि हामी छक्क पर्‍यौं। चुनाव आउनै लाग्दा धर्मगुरु निर्दलको पक्षमा किन उभिनुभयो भनी सोच्यौं। किन यस्तो निर्णय लिनुभयो भन्ने बुझ्न सकिएन। पछि निर्वाचनको परिणाम निर्दलको पक्षमा गयो।

२०३७ वैशाख २० गते जनमत संग्रहको निर्वाचन सकियो। निर्वाचनपछि धर्मगुरुले निजी आश्रममा बैठक बोलाउनुभयो। हर्कध्वज दाइको अध्यक्षतामा बैठक बस्यो। त्यो बेला धर्मगुरुले ‘मेम्बे नाहेनिन्ले पङ्देमा आइते, आखे चेक्माबे (होइन, आँखीडाहीले हामीलाई उडाउन लाग्यो, के गर्ने होला) भन्नुभयो। उहाँले यो कुरा तीन चारपटक दोहोर्‍याउनुभयो। तर, हामीले त्यसको अर्थ बुझेनौं। त्यो समस्याको समाधान कसरी गर्ने भन्ने पत्तो पाउने सकेनौं।

२०३७ साल कात्तिकको पहिलो सातातिर धर्मगुरुले फेरि बैठक बोलाउनुभयो। महमाईबाट हर्कध्वज दाइको अगुवाइमा हामी गुरु आश्रम जाँदै थियौं। बाटोमा दाइले भन्नुभयो, ‘गुरुले आजको बैठकमा अस्तिकै कुरा उठाउनुहुन्छ होला। तर, हामीले त्यसको समाधान निकाल्न सकेका छैनौं। हामी किरातीहरू भनेको मुन्धुमका धनी हौं। नाहेन् मिक्सो इतिल्ले नाहेन् मिक्सो लेङ्मा माङगेन्ना मुन्धुममा हुन्छ। त्यसैले सावायेहाङ किरातीहरूको सामूहिक माङगेन्ना गर्नुपर्छ। तर, सामूहिक भनेर घोषणा गरेर जान सरकारले दिँदैन। त्यसैले गुरुको मात्र भनेर माङगेन्ना गर्दै जाने प्रस्ताव पारित गर्नुपर्छ। यो कुरा गुरुकहाँ अनुमोदन गर्नुपर्छ।’

२०६३ मंसिर १८ मा धर्मगुरूको जन्मोत्सवमा माङसेबुङमा सहभागी भक्तजन। तस्वीरः धनबहादुर फागो

गुरु आश्रममा पुगेको केही समयपछि दियो–कलश राखेर बैठक शुरु भयो। बैठकको सञ्चालन मैले गरेको थिएँ। बैठकमा धर्मगुरुले ‘नाहेन्ले बोकिलान आँट्यो, के गर्ने होला!’ भनी दोहोर्‍याउनुभयो। उहाँको कुरा सुनेपछि मैले अघि बाटोमा हर्कध्वज दाइले भन्नुभएको कुरा बैठकमा राखें। मेरो कुरा सुन्नुभएपछि धर्मगुरुले ‘हुन्छ त्यसो भए’ भन्नुभयो। यसपछि माङगेन्ना कार्यक्रम गर्ने निर्णय भयो। धर्मगुरुको माङगेन्ना गर्ने निर्णय त भयो। तर, कसरी गर्ने, त्यसका लागि आवश्यक स्रोत कसरी जुटाउने, बजेट कसरी जम्मा गर्ने भन्ने भयो। यसबारे छलफल भयो। कार्यक्रम सम्पन्न गर्न ५–६ सय रुपैयाँ लाग्ने अनुमान गरियो। त्यही अनुसार रकम व्यवस्थापन गर्ने निर्णय भयो। त्यो रकम इलामको गजुरमुखी, बाँझो, इभाङ, पान्थरको कुरुम्बा लगायत ठाउँका भक्तजनहरूले जम्मा गर्ने भनेर निर्णय गर्‍यौं। पहिलो माङगेन्ना कार्यक्रम भएकाले धेरै कुरा जोरजाम गर्नुपर्ने थियो। दियो–कलशको व्यवस्था बाँझोका केहेरसिं योङहाङ र पदमबहादुर साँबाले गर्नुभएको थियो।

माङगेन्ना कार्यक्रम गुरु निजी आश्रमको प्राङ्गणमा भएको थियो। १०८ वटा दियो–कलश राख्न बाँस गाडेर त्यसमाथि काठ राखिएको थियो। धर्मगुरु र गुरुआमाको आसन भुइँमा पराल राखेर त्यसमाथि गुन्द्री र तन्ना राखी बनाइएको थियो। माङगेन्ना मुन्धुम वाचन गरी माङगेन्ना गरियो।

आश्रमको माथिल्लो गह्रामा पाहुना राख्ने डेरा बनाइएको थियो। त्यसको छेउमा भान्सा थियो। कार्यक्रममा आउने सबैलाई खाने, बस्ने व्यवस्था गरिएको थियो। जसका लागि भान्साको संयोजन गर्ने जिम्मा बाँझोका खड्गबहादुर साँबा (जुँगे साइला) र इभाङका धनबहादुर येक्तेन (डाँडाघरे कान्छा)लाई दिइएको थियो। समारोहको कोषाध्यक्षको जिम्मेवारी बाँझोका पदमबहादुर साँबालाई दिइएको थियो। वहाँले निक्कै वर्षसम्म कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो। भक्तजनले चढाएका भेटीलाई व्यवस्थित राख्ने जिम्मेवारी पाँचथर लिम्बाका राजेन्द्र माखिर र मानबहादुर माखिम (एमबी)ले सम्हाल्नुभएको थियो।

मंसिर १९ गते धर्मगुरुले धर्मोपदेश दिनुभयो। भक्तजनका तर्फबाट पाँचथर स्याबरुम्बाका दलबहादुर चेम्जोङ, रबीका २६ भनेर चिनेर छत्रमान साम्पाङ, धनकुटा मुढेबासका सुकबहादुर तुम्सा, इलाम इभाङका हर्कध्वज सङबाङफे र तेह्रथुम आठराईका रामकर्ण इङनामले शुभकामना मन्तव्य राख्नुभएको थियो। २०३६ सालमा बहुदलको पक्षमा प्रचारप्रसार गर्दै हिँड्दा नेताहरूले कार्यक्रममा सञ्चालन गर्ने तरिका अलिअलि सिकाएका थिए। त्यो बेला खड्क सङबाङफे र मैले कार्यक्रम सञ्चालन गर्थ्यौं। धार्मिक कार्यक्रम सञ्चालन गर्ने तरिका चाहिँ धर्मगुरुले सिकाउनुभयो। धार्मिक कार्यक्रम सञ्चालन गर्दा कस्ता शब्द प्रयोग गर्ने भन्ने उहाँले सिकाउनुभयो। धर्मगुरुले सिकाउनुभएको आधारमा नै मैले माङगेन्ना कार्यक्रम सञ्चालन गरें।

पहिलो कार्यक्रम सकियो। हिसाबकिताब भयो। त्यो बेला भक्तजनले एक वा दुई रुपैयाँ भेटी दिन्थे। धेरै दिनेले पाँच रुपैयाँ दिन्थे। कार्यक्रम सम्पन्न हुन आठ सय रुपैयाँ लाग्यो। अर्थात्, हामीले अनुमान गरेको रकमले पुगेन। कार्यक्रममा ३५० रुपैयाँ मात्र भेटी संकलन भएको थियो।

(यो लेख हर्कवीर योङहाङसँग धनबहादुर फागोले कुराकानी गरी तयार पार्नुभएको हो।)

यो लेख किरात समाचारको ‘मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन जन्मोत्सव विशेषाङ्क २०८२ मंसिर १८’ मा प्रकाशित छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  ४ : ४३ बजे