इलामको माङसेबुङमा आयोजना हुँदै आएको ‘पवित्रहाङमा गोल्डकप’को १६औं संस्करण माघ २५ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने भएको छ।
किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा हुने १६औं संस्करणको प्रतियोगिता माङसेबुङ-५ स्थित आत्मानन्द रंगशालामा सञ्चालन हुने आत्मापवित्र हक्चात् यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिनुभयो। प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित आठ फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ।
यस संस्करणमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन्। यसैगरी भारतको हिमालय फुटबल क्लब कर्साङ सहभागी हुने अध्यक्ष आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
प्रतियोगितका विजेताले तीन लाख ७० र उपविजेताले दुई लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने अध्यक्ष आङबुहाङले जानकारी दिनुभयो।
धर्मगुरुमाज्यूको जन्मोत्सवको अवसरमा फुटबलका साथै महिला ब्याटमिन्टन, म्याराथन, छेलो हान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने लगायतका खेलहरूसमेत आयोजना गरिने छ । खेलकुद प्रतियोगिता किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महासेवा समारोह र आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा हुनेछ।


