इलामको माङसेबुङमा आयोजना हुँदै आएको ‘पवित्रहाङमा गोल्डकप’ महिला फुटबल प्रतियोगिताको १६औं संस्करण आजदेखि शुरु भएको छ।
प्रतियोगिताको पहिलो खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरले लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलको हाफमा मिक्लाजुङकी कृतिका राई गरेको गोल निर्णायक बनेको थियो। कृतिका आजको खेलको उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५७० प्राप्त गरेकी छन्| भोलिको खेल पद्मा स्पोर्टस क्लब, ओखलढुङ्गा र दारिम्बा फुटबल क्लब पाँचथरबीच हुनेछ |

माङसेबुङ-५ स्थित आत्मानन्द रंगशालामा माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन प्रतियोगितामा नेपालको फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा र लेटाङ फुटबल क्लब मोरङ सहभागी छन्। यसैगरी भारतको हिमालय फुटबल क्लब कर्साङ सहभागी रहेको छ।

किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा भएको १६औं संस्करणको विजेताले तीन लाख ७० र उपविजेताले दुई लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आत्मा–पवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो।
प्रतियोगिता किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महासेवा समारोह र आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा भएको हो।


