७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दमकमा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुँदै



फागुन १०, दमक । झापाको दमकमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ ।

आज(बिहिबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महोत्सवबारे जानकारी दिएको हो ।

मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो र तेह्रथुमको मेयङलुङ बजारमा दोस्रो महोत्सव आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप दमकको पशुहाटमा याक्थुङ साम्लो महोत्सव आयोजना गर्न लागेको र यसको लागि आवश्यक तयारी सुरु गरेको याक्थुङ साम्लो महोत्सव आयोजक समितिका संयोजक तथा फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)ले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार महोत्सवमा याक्थुङ लिम्बूहरुको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो÷गितको रुपमा बिद्यमान रहेका पालाम, ख्याली, हाक्पारे, माङसिवाखाहुन÷सेवा साम्लो, माङलाङ, केलाङ, येबा लाङ, येमा लाङ, थेबा लाङ, युमा लाङ साथै लोपन्मुख अवस्थामा रहेको तु?हा, ताम्के र याःसाम्लो, माङघ, नुवापमा, सिमेरिङ लगायत साँस्कृतिक प्रसतुति रहने छ ।

यसैगरि याक्थुङ लिम्बूहरुसँग सम्बन्धित मौलिक संस्कृतिको रुपमा रहेका गित, संगीत र कलालाई उजागर गर्दै, यसको उत्थान, संरक्षण र सम्बद्र्धन साथै बिश्वव्यापी रुपमा प्रचार प्रसार गरि पछिल्लो पुस्तासम्म पुर्याउँने महोत्सवको मुख्य उदेश्य रहेको समेत सेर्माले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका याक्थुङ(लिम्बू) कलाकारहरुको बेजोड साँगितिक प्रस्तुतिको साथमा याक्थुङ साम्लोमा माङसिवाखाहुन र याक्थुङ साम्लोमा ताम्के बिषायक दूईवटा कार्यपत्र प्रस्तुत हुने र त्यसबारे टिका टिप्पणीसहित बृहत रुपमा छलफल समेत हुने जनाइएको छ ।

महोत्सवमा दश हजार भन्दा बढी याक्थुङ साम्लोलाई माया गर्ने शुभचिन्तकहरको उपस्थिति हुने र पन्ध्र लाख सम्म खर्च हुने आयोजकको अनुमान रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ५९ बजे