६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश



माङसेबुङ । फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

डसेलडोर्फ एरिनामा सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको ८५औं मिनेटमा रान्डल कोलो मुआनीले गरेको प्रहार जन भेर्टोङ्गेनबाट डिफ्लेक्ट हुँदै भएको आत्मघाती गोलमा फ्रान्स विजयी भएको थियो ।

यसैगरी मंगलबार बिहान भएको खेलमा स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै पोर्चुगल अन्तिम आठमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा गोलरक्षक डिओगो कोस्टाले तीन प्रहार बचाउँदा पोर्चुगल युरोकपको अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि भएको अतिरिक्त ३० मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

जितसँगै पोर्चुगलले अब क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  २ : २२ बजे