२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

आज फाल्गुनन्द जयन्ती‚ धुमधामका साथ मनाइँदै



इलाम। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी नेपाल तथा विभिन्न मुलुकमा मनाइँदै छ।

मुहिङगुम अङसीमाङ फाल्गुनन्द जन्मजयन्तीको मुल कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा झापाको कमल गाउँपालिका-३‚ केरखास्थित फाल्गुनन्द टोलमा हुँदैछ। धर्मगुरु तथा गुरुआमाले फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोःलुङ माङहिम र माङहिम परिसरमा रहेको मुहिङगुम अङसीमाङ फाल्गुनन्दको शालिक अनावरण हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यस्तै‚ आजै अपराह्न दमक नगरपालिका-६ स्थित ६ किरात युमा माङहिम परिसरमा रहेको मुहिङगुम अङसीमाङ फाल्गुनन्दको शालिक धर्मगुरू तथा गुरूआमाबाट अनवरण गर्नुहुने कार्यक्रम रहेको छ।

मुहिङगुम अङसीमाङ फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा आज झापा‚ इलाम‚ पाँचथर‚ ताप्लेजुङ‚ तेह्रथुम‚ संखुवासभा‚ धनकुटा‚ मोरङ‚ सुनसरी‚ काठमाडौं उपत्यका लगायत जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस्तै‚ भारतको दार्जिलिङ‚ सिक्किम‚ असममा पनि मनाइँदै छ। हङकङ‚ मलेसिया‚ युएई‚ बेलायत‚ अस्ट्रेलिया‚ अमेरिका दक्षिण कोरिया‚ कुबेत लगायत मुलुकहरूमा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्द जयन्ती मनाइँदै छ।

ताप्लेजुङको फुङलिङमा रहेको महागुरु फाल्गुनन्दको शालिक। तस्बिरः धनबहादुर फागो

को हुन् मुहिङगुम अङसीमाङ फाल्गुनन्द?

मुहिङगुम अङसीमाङ फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते आइतबार इलामको माङसेबुङ गाउँपालिका वडा नं २ चुक्चिनाम्बामा भएको थियो। उहाँ जगुनबाज र आमा हंसमति बेघाको साइँला छोरा हुनुहुन्छ। उहाँले ८ वर्षको उमेरमा इलामकै देउमाई नगरपालिका-८ खत्रक्पा माईखोलाको किनारमा ज्ञान प्राप्त गर्नुभएको थियो। बाल्यकालमा उहाँलाई नरधोज र फलामसिं नामले पनि बोलाइन्थ्यो। यस्तै‚ उहाँलाई ध्यानी‚ तपस्वी‚ सत्यहाङमा‚ महागुरु‚ मुहिङगुम अङसीमाङ उपनामले पनि चिनिन्छ।

महागुरु फाल्गुनन्दको जन्म गाउँ डाँडागाउँ । तस्बिरः नबिन लिङ्देन

मुहिङगुम अङसीमाङ फाल्गुनन्दले करिब ८ वर्ष सैनिक जीवन बिताउनुभएको थियो। उहाँले बेलायतको तर्फबाट दोस्रो विश्वयुद्ध लड्नुभएको थियो। सैनिक जीवनबाट अवकाश लिएपछि उहाँले आफ्ना समुदायको सुधारका लागि तत्कालीन लिम्बुवानको गाउँगाउँ डुलेर दिव्योपदेश दिनुभएको थियो। मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अगुवाइमा वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गण्यमान्यहरुको भेला गराइ समाज सुधारका लागि साँत बुँदे निर्णय गराउनुभएको थियो। त्यही निर्णयलाई ‘सत्यधर्म मुचुल्का’ भनी नामकरण गरियो।

मुहिङगुम अङसीमाङ फाल्गुनन्द ताप्लेजुङमा रहेको फक्ताङलुङ हिमालको यात्रामा गई त्यस स्थान किरात धर्मावलम्बीहरुका तीर्थभूमि र मुक्तिभूमि रहेको र त्यहाँ जानका लागि ढोका खुला गरी दिनुभएको थियो। यस्तै‚ मौखिक रुपमा रहेको मुन्धुमलाई संग्रहित गर्दै किरात लिपिमा लिखित रुपमा राख्ने परम्पराको थालनी‚ लोपोन्मुख किरात लिपिको प्रचारप्रसार‚ विभिन्न स्थानमा माङहिम स्थापना गर्नुभएको थियो।

उहाँले गर्नुभएको कामको सम्मानस्वरूप नेपाल सरकारले उहाँको तस्वीर अंकित रु.१५ को हुलाक टिकट प्रकाशन‚ विद्यालय स्तरको पाठ्यपुस्तकमा जीवनी समावेश गरेको छ। यस्तै‚ २०६६ मंसिर १६ गते नेपाल सरकारद्वारा राष्ट्रिय विभूति घोणषा गरेको थियो।

मुहिङगुम अङसीमाङ फाल्गुनन्दको २००५ चैत २२ गते पाँचथरको हाङयकमा देहावसान भएको थियो। उहाँको पार्थिव शरीर पाँचथरकै नाम्भुनयक (सिलौटी)मा अन्त्येष्टि गरिएको थियो।

महागुरु फाल्गुनन्दको समाधिस्थल सिलौटी। तस्बिरः धनबहादुर फागो

 

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  १२ : २४ बजे