४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

महागुरु फाल्गुनन्दका माङसिवाखाहुन र वर्तमानमा त्यसको उपादेयता



  • नन्दकुमार नेम्बाङ

महागुरु फाल्गुनन्दका माङसिवाखाहुनमा धर्मदर्शन, मुन्धुम, धार्मिक आचरणको व्याख्या मात्र होइन राजनीतिकरूपमा अघि बढ्न आवश्यक विभिन्न पक्षको पनि उल्लेख भएको पाइन्छ।

विषय प्रवेश

महागुरु फाल्गुनन्द लिङ्देनले पल्टनबाट फर्किनुभएपछि तत्कालीन लिम्बुवानको विभिन्न थुमहरू घुम्दै बिताउनुभयो। यही क्रममा उहाँले समाजलाई अनुशासित, मर्यादित र आचरणशील बनाउनुपर्छ भनी माङसिवाखाहुन (दिव्योपदेश) दिनुभयो। ती दिव्योपदेश तागेरा निङवाभूमाङबाट प्राप्त भएको र आफूले त्यसलाई समाजसम्म पुर्‍याउने काम गरेको बताउनु हुन्थ्यो। घुमफिरकै क्रममा उहाँले आफ्ना शिष्यहरूलाई लिम्बुवानका विभिन्न क्षेत्रमा माङहिमहरू निर्माण गर्न लगाउनुभयो। ती माङहिममा पूजाअर्चना गर्नुका साथै त्यहाँ भेला भएर समाजका लागि आवश्यक छलफल, मातृभाषा र लिपि सिक्ने थलोको रुपमा त्यसलाई उपयोग गर्न पनि निर्देशन दिनुहुन्थ्यो।

महागुरु फाल्गुनन्दले मौखिम रुपमा रहँदै आएको मुन्धुमलाई संग्रहित गरी लिखितरूपमा राख्ने र विभिन्न कर्मकाण्ड गर्दा त्यही लिखित मुन्धुम वाचन गर्ने परम्पराको थालनी गर्नुभयो। मुन्धुमले मानिसलाई प्रकृति र माङ (ईश्वर)सँग नजिक बनाउनुका साथै जपतप गर्दै कर्मसंस्कार र कर्मकाण्डमार्फत समुदायलाई चलायमान राख्ने काम गर्दछ। यो दर्शनशास्त्रलाई किरात साम्जीक मुन्धुम भनिन्छ। महागुरुले समाज चलायमान रहन धर्मदर्शनबाहेक सामाजिक न्याय पनि आवश्यक पर्नेमा ध्यान दिनुभएको पाइन्छ। त्यसैले निरंकुश राणा शासनको समयमा पनि वि.सं. १९८८ वैशाख २४ गते तत्कालीन लिम्बुवानका गण्यमान्य, सुब्बा लगायतको बृहत् भेला गरी ‘सत्यधर्म मुचुल्का’ नामक प्रथाजनित कानुन निर्माण गर्नुभयो। मुचुल्कामा समाजमा रहेका विकृति, विसंगति, भेदभावलाई हटाई शिक्षित र समतामुलक समाज निर्माण गर्न आवश्यक बुँदाहरू समेटिएका छन्।

कामका आधारमा मानिसले महागुरु फाल्गुनन्दलाई विभिन्न रुपमा मान्दै, पुज्दै आएका छन्। मुलतः किरात धर्म दर्शनदाता र समाज सुधारकको रुपमा उहाँ परिचित हुनुहुन्छ। तर, काम र विभिन्न समयमा दिनुभएको माङसिवाखाहुन अध्ययन गर्दा उहाँको परिचय यतिमा मात्र सीमित छैन भन्ने देखिन्छ। ती विषयमा खोज अनुसन्धान र अध्ययन आवश्यक छ। यस लेख महागुरु फाल्गुनन्दको माङसिवाखाहुनमा सामाजिक र राजनीतिक लक्ष्य हासिल गर्न आवश्यक पक्षबारे उल्लेख भएका विषयमा केन्द्रित गर्ने जमर्को गरिएको छ।

लिम्बुवानको सामाजिक/राजनीतिक अध्ययन

पल्टनबाट स्वदेश फर्किएपछि महागुरु फाल्गुनन्द तत्कालीन लिम्बुवानको थुमथुमका गाउँगाउँ घुम्नुभयो। घुमफिरका क्रममा आफूले अघि सारेको धार्मिक विचारको प्रचारप्रसार गर्नुभयो। समाजमा विद्यमान संस्कार, रीतिरिवाजको अध्ययन अवलोकन गर्दै त्यसको गुण तथा अवगुणबारे आफ्ना समुदायलाई बताउनुभयो।

लिम्बुवानको गाउँगाउँ घुम्दा आफ्नो समुदायले अँगालिरहेको संस्कार तथा रीतिरिवाजकै कारण समाज अगाडि बढ्न नसकेको, यसकै कारण समाजमा गरिबी छाएको उहाँले देख्नुभयो। यस्तो हुनुमा मानिसमा भएको अहंकार र अशिक्षा कारक रहेको पाउनुभयो। महागुरु फाल्गुनन्दले पाँचथरको लब्रेकुटीमा वि.सं. १९८८ वैशाख २४ गते भएको चुम्लुङ (भेला)मा उपस्थितलाई दिनुभएको दिव्योपदेशमा यही कुरा समेटिएको छ। उहाँको दिव्योपदेश संग्रह पुस्तक ‘मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन’ (२०७३: ४८) उल्लेख छ :

ᤀᤠᤸᤗ ᤂᤧᤵᤛᤧᤶᤔᤧ, ᤌᤡᤒᤠᤣᤱ ᤏᤡᤱᤘᤠ ᤆᤠᤣᤁ᤻ᤔᤠᤠᤖᤧ ᤔᤢᤰᤛᤠᤶ ᤔᤕᤧ, ᤜᤠᤱᤛᤠᤶ ᤔᤕᤧ, ᤏᤡᤛᤠᤶ ᤔᤕᤧ॥ ᤂᤢᤏᤧ᤹ ᤕᤠᤶᤒᤠ ᤀᤡᤱᤃᤠ᤹ ᤕᤶᤒᤠ ᤗ᤹ᤔᤠᤖᤧ, ᤀᤠᤱᤍᤡᤱ ᤗ᤹ᤔᤠᤖᤧ, ᤛᤢᤕᤰ ᤔᤢᤍᤱ ᤗ᤹ᤔᤠ ᤔᤧᤴᤈᤠᤔᤠ ᤆᤠ ᤆᤠᤔᤠᤖᤧ ᤀᤍᤱ ᤗ᤹ᤔᤠᤖᤧ ᤙᤰᤙᤰ ᤛᤠᤵᤔᤠ ᤔᤕᤣᤒᤧ, ᤔᤢᤴᤎᤢᤶ ᤜᤠᤒᤣᤁ᤻ ᤔᤕᤧᤒᤣ, ᤂᤠᤈᤠᤣᤅ᤻ ᤂᤠᤒᤒᤋ᤻ ᤔᤕᤣᤒᤣ, ᤆᤠᤰᤈᤠᤗᤰ ᤁᤣᤈᤠᤒᤠ ᤁᤣᤒᤠᤣᤂᤡᤸᤗᤧᤃ ᤔᤠᤱ ᤀᤡᤱᤄᤱ ᤌᤠᤛᤠᤱ ᤑᤠᤣ᤹ᤘᤠ ᤛᤠᤛᤣ॥

(अर्थः अब सुन, दशथरी विचार हुनाले शक्तिविहीन भयौ, राजनीतिविहीन भयौ, शिक्षाविहीन भयौ। तँ ठूलो म ठूलो भन्ने प्रवृत्तिले, अहंकार गर्नाले, अपवित्र खानपिन गरेर अज्ञानी हुनाले, लिपि, कीर्ति हरायो, दर्शन, कर्मकाण्ड सबै हराएर गोठाला, खेतालो मात्रै भएपछि यो दिव्यज्ञान दिएको छु, प्यारा कान्छो सुपुत्र हो।)

आर्थिक, शैक्षिक तथा राजनीतिक रुपमा माथि उठ्न नसकेका र रीतिथितिका नाममा समाजलाई बोझ हुने कर्म गरिरहेका याक्थुङ र मानव समुदायलाई अघि बढाउन महागुरु फाल्गुनन्दले पाँचथरको लब्रेकुटीमा वि.सं. १९८८ वैशाख २४ गते लिम्बुवानका सत्र थुमका गण्यमान्य, आगेसुब्बा, तालुकदार, कारबारी, थरी र भद्रभलाद्मीहरूको उपस्थितिमा विराट चुम्लुङको आयोजना गर्नुभयो। उक्त चुम्लुङले सात बुँदे निर्णय गर्‍यो। त्यसलाई नै ‘सत्यधर्म मुचुल्का’ भनी चिनिन्छ।

माथि उल्लिखित माङसिवाखाहुन र सत्यधर्म मुचुल्काको अध्ययन गर्दा लिम्बुवान घुमफिरका क्रममा महागुरु फाल्गुनन्दले लिम्बुवानी समाजको गहिरो अध्ययन गर्नुभएको देखिन्छ। त्यति बेला लिम्बुवानमा किपटीया लिम्बूहरूको सुभाङ्गी शासन थियो। सुभाङ्गी शासन व्यवस्था हुकुमी शासन थियो। तसर्थ, किपटीय सुब्बाहरू निरंकुश भइरहेका थिए। व्यवस्थित शासन प्रणाली नभएकाले सुब्बाहरू विभाजित थिए। उनीहरूले आआफ्नो तरिकाले शासन चलाएका थिए। रीतिथिति बसाएका थिए। जसलाई ‘दश लिम्बूको दश रीत’ भनेर परिभाषित गरियो। यस्तो व्यवस्थाले समाजमा वैचारिक विचलन, नैराश्य बढ्यो। एकता भाँडिंदै गयो।

यो अवस्थामा रहेका याक्थुङहरूले आफ्नो धर्म, भाषा, लिपि र साहित्यबारे चिन्तन मनन गर्ने कुरै भएन। आफ्नो इतिहास, मुन्धुम भुल्दै गइरहेका थिए। अहंकारले आफूआफूमा झै झगडा गरेर विनाशको बाटोमा उन्मुख हुँदै गइरहेका थिए।

लिम्बुवानका अगुवालाई महागुरुको प्रश्न

वि.सं. १९८८ वैशाख २४ गतेका दिन सत्यधर्म मुचुल्का तयार गर्नुअघि महागुरु फाल्गुनन्दले लब्रेकुटीमा भेला भएका आगेसुब्बा, सुब्बा, कारबारी, थरी र भद्रभलाद्मीहरूलाई दुईवटा प्रश्न गर्नुभएको थियो। महागुरुले त्यो बेला गर्नुभएको प्रश्न र तुम्याहाङहरूले दिएको उत्तर ‘मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु आत्मानन्द सेइङ रे माङसिवाखाहुन (२०७३:४८) मा उल्लेख छ।

ᤑᤠᤸᤃᤢᤏᤴᤍ: ᤛᤘᤠᤕᤣᤜᤠᤱ ᤀᤠᤒᤢᤗᤠ ᤛᤠᤏᤢ ᤑᤠᤣ᤹ᤘᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤛᤠᤛᤣ ᤌᤡᤒᤠᤣᤱ ᤕᤠᤰᤌᤢᤱ ᤀᤡᤸᤗᤡᤰ ᤁᤣᤕᤢᤅᤡᤒᤡ᥅ (अर्थः मेरा सम्पूर्ण प्यारा किरात सन्ततिहरू‚ दश लिम्बू धेरै छौ?)

ᤋᤢᤔᤩᤠᤜᤠᤱ: ᤀᤠᤍᤠᤱᤔᤣ ᤕᤠᤰᤌᤢᤱ ᤃ ᤌᤡᤰ ᤌᤰ ᤕᤢᤅᤡᤃᤧᤖᤠᤣ॥ (अर्थः हजुर‚ याक्थुङ त सबै एकै भई बसेका छौं।)

ᤑᤠᤸᤃᤢᤏᤴᤍ: ᤌᤣ ᤀᤠᤱ ᤍᤛ ᤗᤡᤶᤒᤢᤘᤠᤏ᤻ ᤁᤧᤔᤧᤋᤠᤛᤡ ᤒᤣ᥅ (अर्थः किन दश लिम्बुवान आफूलाई भन्छौ त?)

ᤋᤢᤔᤩᤠᤜᤠᤱ: ᤀᤠᤍᤠᤱᤔᤣ ᤀᤠᤏᤡᤃᤧ ᤔᤧᤏᤡᤛᤢᤶᤒᤠᤀᤡᤴᤗᤠᤣ॥ (अर्थः हजुर हामीलाई थाहा छैन।)

याक्थुङहरू दश लिम्बू सत्र थुमको नाममा दश लिम्बू दश रीत भनेर अनेकौं समूहमा विभाजित थिए। कसैले कसैलाई नटेर्ने, कसैको नीति र नेतृत्वलाई स्वीकार्ने स्थिति थिएन। महागुरु फाल्गुनन्द लिम्बुवानका थुमथुम घुमी भौतिक र आध्यात्मिक तरिकाले अध्ययन गरेर याक्थुङहरूको समस्याको जड पत्ता लगाउनुभएको थियो। त्यसैले चुम्लुङमा उपस्थित आगेसुब्बा, भद्रभलाद्मीहरूलाई माथि उल्लिखित प्रश्न गर्नुभएको थियो। तर, उनीहरूले उत्तर दिन नसकी ‘हामीलाई थाहा छैन’ भने।

महागुरुका यी माङसिवाखाहुनमा सरल भाषा छ। तर, त्यसको भाव गहिरो छ। कूटनीतिक  छ। किनकि, त्यस बेला निरंकुश जहानियाँ राणा शासनको जगजगी थियो। हरेक सुब्बाहरू दरबारसँग सिधा सम्पर्कमा थिए। गाउँमा तिनै सुब्बाको शासन चल्थ्यो। यस्तो विषम परिस्थितिमा आफ्नो समुदायलाई केन्द्रमा राखेर माङसिवाखाहुन दिनु पक्कै पनि सजिलो थिएन। त्यसैले महागुरु फाल्गुनन्दले कूटनीतिक भाषामा प्रयोग गरेको हुनसक्छ।

अनेकौं समूह र शक्तिमा विभाजित याक्थुङहरूलाई एकतावद्ध भएर अगाडि बढ्न महागुरु फाल्गुनन्दले माङसिवाखाहुनमार्फत शिक्षा दिनुभएको पाइन्छ। धर्मको नाममा एक हुन र आफ्नो गुमेको विरासत पुनः प्राप्त गर्न आह्वान गर्नुभएको छ। एकता नभई अहंकार मात्र गरिरहे समाप्त हुने चेतावनी ‘मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु आत्मानन्द सेइङ रे माङसिवाखाहुन’ (२०७३:४९)मा उल्लेख छ–  ‘ᤁᤣᤔ᤻ᤒᤠ ᤐᤠᤣᤱ᤻ᤔᤠᤔᤧᤴ ᤀᤠᤈᤧᤰᤗᤠᤣ, ᤕᤶᤒᤠ ᤐᤠᤣᤱᤔᤠᤔᤧᤴ ᤀᤠᤓᤧᤰᤗᤠᤣ, ᤛᤱᤈᤢᤶ ᤘᤠᤔᤠ ᤐᤧᤶᤒᤧᤴ ᤘᤠᤔᤠᤀᤠᤱ ᤀᤡᤱᤍᤱ ᤋᤱᤔᤠᤖᤠᤣ॥’ (अर्थः अग्लो नहुनु भाँचिन्छौं, ठूलो नहुनु फुट्छौं। समाजमा सराबरी हिँड्नु र निर्णय गर्नु/मिलाउनु।)

भोगविलास र अहंकारमा डुबेका सभाङ्गी शासकहरूका कारण विशेष गरी याक्थुङहरू अनेकौं कित्तामा विभाजित थिए। त्यसैले महागुरु फाल्गुनन्दले आफ्नो समुदाय (याक्थुङ)बाट नै समाज सुधारको प्रारम्भ गर्नुभएको थियो। दश लिम्बू सत्र थुमका आगेसुब्बा र भद्रभलाद्मीलाई एकै ठाउँमा राखेर माङसिवाखाहुन दिनुभएको थियो। तर, त्यसलाई आत्मसात् गर्नुपर्नेमा याक्थुङ समुदायले उल्टो खिसिट्युरी मात्र गरे। त्यो क्रम अद्यापि छ। किपटीया याक्थुङहरूमा रहेको अनेकता गराउने काम अहिले पनि छ। त्यो समयको समाजमा देखिएका समस्याहरू अहिलेसम्म ज्युँका त्युँ छन्। धर्म, लिपि, भाषा र साहित्यका नाममा अनेकौं विवाद सिर्जना गरिएका छन्। आफ्नो अधिकार स्थापित गर्ने उद्देश्यले अगाडि बढेका याक्थुङ र आदिवासीहरूमा एकता छैन। एकले अर्काको अस्तित्व र नेतृत्व नस्वीकार्ने प्रवृत्ति छ। यो अवस्था रहिरहे, राजनीतिकर्मी र सामाजिक अभियन्ताले महागुरुको दिव्योपदेश आत्मसात् नगरे आफूलाई ठूलाठालो ठानेर फुट्नेछन्, टुट्नेछन्। अहंकारले भाँचिने छन्।

यो पनि पढ्नुहोस् : चुक्चिनाम्बा : सरकारको योजनामा समेटिएर पनि विकास नभएको ठाउँ

एकताका लागि महागुरुको आह्वान

याक्थुङहरू दश लिम्बू सत्र थुमको नाममा अनेक समूहमा मात्र विभाजित थिएनन्; फेजिकुम फेदाङमा, सावाला साम्बा, येभुङ येबा र येमाहरूले गर्दै आएका कर्मसंस्कार र कर्मकाण्डका कारण पनि विभाजित थिए। अर्थात् राजनीतिक र सामाजिक रुपमा नै विभाजित थिए।  समाजमा यस्तो विचलन देखेपछि महागुरु फाल्गुनन्दले याक्थुङ समाज एकताका लागि अभियान शुरु गर्नुभएको ‘मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु आत्मानन्द सेइङ रे माङसिवाखाहुन’मा (२०७३:४९)मा उल्लेख छ।

ᤀᤠᤖ ᤌᤡᤰ ᤀᤡᤜᤢᤵ ᤐᤠᤣᤱᤔᤠ, ᤌᤡᤒᤠᤣᤱ ᤕᤠᤰᤌᤢᤱᤜᤠ᤹ ᤌᤡᤰᤕᤠᤰᤌᤢᤱ ᤐᤠᤣᤱᤔᤠᤀᤠᤱ ᤌᤡᤰ ᤆᤠᤣ᤹ᤗᤢᤱ ᤕᤢᤱᤔᤠ ᤔᤠᤱᤛᤡᤱ ᤁᤧᤵᤔᤠ ᤑᤠᤀᤠᤱ ᤗᤳᤌᤡᤰ ᤂᤐᤩᤠᤀᤠᤣ ᤌᤡᤰ ᤋᤰᤑᤢ ᤆᤠ ᤆᤠᤋ᤻ᤏᤡᤱᤒᤠᤖᤠᤣ॥ ᤀᤠᤖ ᤌᤡᤰ ᤋᤰᤑᤢ ᤆᤧᤶᤔᤧ, ᤌᤡᤰ ᤀᤡᤱᤍᤱᤗᤧ ᤛᤧᤘᤠ ᤆᤠᤣᤃᤧᤶᤔᤧ, ᤔᤢᤒᤣᤁ᤻ᤘᤠ ᤂᤡᤒᤣᤁ᤻ᤘᤠ ᤛᤧᤘᤠ ᤆᤠᤣᤃᤧᤶᤔᤧ ᤀᤠᤣ॥

(अर्थः अब एक हुनु, दश लिम्बू एक ढिक्का भएर धार्मिक एकता गराउनु भनेर एउटै भाँडोमा पाकेको भान्सा खुवाएको हो, अब एउटै भान्सामा खानू, सर्वसम्मतले सेवा गर्नू, उधौली र उभौली सेवा गर्नू।)

गुमेको आफ्नो राजशक्ति, देवशक्ति पुनः प्राप्तिका लागि एकता आवश्यक रहेको महागुरु फाल्गुनन्दले दिनुभएको दिव्योपदेशमा उल्लेख छ। दश लिम्बूको नाममा विभाजन भएका याक्थुङहरूलाई एक गर्न एउटै भाँडामा पाकेको भान्सा खुवाएको र आगामी दिनमा पनि एउटै भाँडामा पाकेको भान्सा खानु तथा तन, मन र वचनले एक भएर काम गर्नु भनी उहाँले आह्वान गर्नुभएको दिव्योपदेश अध्ययन गर्दा देखिन्छ।

महागुरु फाल्गुनन्दले दिव्योपदेशमा कुनै शब्दलाई विम्बको रुपमा प्रयोग गरेको पाइन्छ। जस्तै– ‘भाँडो’, ‘भान्सा’ त्यसको उदाहरण हुन्। यहाँ भाँडालाई उहाँले शुरु गर्नुभएको धर्मको अभियानलाई इंगित गर्नुभएको छ। ज्ञान, शिक्षा र चेतना शून्य भएर बसेका याक्थुङहरूलाई ज्ञान आर्जन गर्ने मुख्य आधार र राजनीतिक, सामाजिक र सांस्कृतिक रुपमा विभाजित समुदायलाई एकताको सूत्रमा धर्मले मात्र बाँध्न सक्ने दिव्योपदेशमा उल्लेख छ। यही कुरा मध्यनजर गर्दै मुन्धुमलाई संग्रहित गरी लिपिवद्ध गर्ने; त्यही मुन्धुम अनुसार कर्मकाण्ड गर्ने कामको शुरुवात गर्नुभएको पाइन्छ।

महागुरु फाल्गुनन्दले ‘विश्व शान्ति तथा मानव एकता’ अभियान पनि शुरु गर्नुभएको थियो। विश्व शान्ति तथा मानव एकता र चराचर सृष्टि रक्षाका लागि उभौली–उधौली सेवा गर्न; समृद्धिका लागि एकचित्त भएर, ईर्ष्या र वैमनस्य त्यागी एकढिक्का भएर माङको सेवाभक्ति गर्न आह्वान गर्नुभएको छ। धर्म र मुन्धुमलाई आधार मानी एक भएर सेवाभक्ति गरे गुमेको दैवी र राजशक्ति पुनः प्राप्त गर्न सक्ने दिव्योपदेशमा उल्लेख छ। त्यो प्राप्त गर्ने समय आएको पनि इंगित गर्नुभएको छ।

महागुरु फाल्गुनन्दको दिव्योपदेशको उपादेयता

किरात मुन्धुम अनुसार, शिरिजङ्गाहाङ पाँचौं युगपुरुष (मुहिङगुम अङसीमाङ) हुनुहुन्छ। उहाँले युमामाङको भक्ति गरेर किरात लिपिको आविस्कार गर्नुभएको थियो। आफूले आविस्कार गरेको किरात लिपि र युमामाङको महिमा उहाँले व्यापक प्रचारप्रसार गर्नुभएको थियो। त्यसैले शिरिजङ्गाहाङलाई महान् युगपुरुषको रुपमा अहिले पनि सम्झना गरिन्छ। समाजलाई अनुशासित र मर्यादित बनाउनका शिरिजङ्गाहाङले माङसिवाखाहुन दिनुभएको छ (चेम्जोङ, किरात इतिहास र संस्कृति २०६३:१०६–१०७)।

ᤀᤡᤳᤏᤢ ᤏᤢ ᤃ ᤀᤡᤳᤋᤧᤱᤏᤧ

ᤘᤠ ᤏᤢᤏᤢ ᤃ ᤘᤠ ᤏᤧᤏ

(अर्थः परिवार राम्रो भए, मित्रता राम्रो हुन्छ।

नदी फरक भए थोरै गहिरो र राम्रो हुन्छ।)

शिरिजङ्गाहाङ (सन् ८८०–९१५) शासक पनि हुनुहुन्थ्यो। उहाँले राज्यशक्तिलाई मजबुत बनाउन भूमि सुधार अभियान चलाउनुभएको थियो। राजालाई सैनिक सहयोग गर्ने सर्तमा परिवारका प्रमुखलाई आफ्नो भूमिमा शासन गर्ने अधिकार दिनुभएको पाइन्छ। त्यसैलाई किपट भनिन्थ्यो, जसको किनबेच गर्न प्रतिबन्ध भएको इमानसिंह चेम्जोङले ‘किरात इतिहास र संस्कृति’ (२०५३: ९८–१०५)मा उल्लेख गर्नुभएको छ।

शिरिजङ्गाहाङले धर्म र राज्यशक्तिको नेतृत्व गर्नुभएको थियो। मानिसलाई सामरिक र वैचारिक रुपमा सबल र सक्षम बनाएर राज्य सञ्चालन गर्नुभएको थियो। शासन व्यवस्था व्यवस्थित गर्न खोजे पनि उहाँकै पालादेखि विद्रोह शुरु भएको पाइन्छ। विभिन्न थुमका किरात याक्थुङ नेताहरूले विद्रोह गरेर आआफ्नो राज्य स्थापना गरेका थिए। विद्रोहपछि शिरिजङ्गाहाङको राज्य कमजोर हुँदै गयो। त्यसको अन्तिम परिणाम दश लिम्बू सत्र थुमको थिति बस्यो। दश लिम्बूले दश रीत बनाएपछि याक्थुङ समुदाय छिन्नभिन्न भए। नेतृत्वविहीन भएर आपुङ्गी भए।

यो समस्या पछिल्लो समय झनै पेचिलो बन्दै आयो। यही समस्यालाई दृष्टिगत गरी महागुरु फाल्गुनन्दले दिव्योपदेश दिनुभएको पाइन्छ। समाज र मानिसलाई सुरक्षित र अनुशासित भएर बाँच्नका लागि नेतृत्व/अभिभावक आवश्यक हुने महागुरुको उपेदश संग्रह ‘मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन’ (२०७३: ४९–५१)मा उल्लेख छ।

ᤛᤡᤱᤏᤢᤸᤗᤧ ᤛᤡᤱᤛᤡᤱ, ᤗᤢᤱᤏᤢᤸᤗᤧ ᤗᤢᤶᤗᤢᤶ,

ᤛᤣᤈᤱᤘᤠ ᤆᤫᤠᤋ᤻ᤗᤧ ᤛᤣᤛᤣ ᤗ᤹ᤖᤧᤶᤔᤧᤀᤠᤱ

ᤌᤔᤧᤴᤍᤡᤱ ᤔᤠᤏᤢᤔᤠᤅᤡᤴ ᤀᤡᤋ᤻ᤋᤧᤶᤔᤧ

ᤔᤠ ᤖᤧ ᤁᤣᤏᤡᤛᤡᤀᤠᤱ ᤐᤠ ᤀᤠᤣᤛᤣᤏ᤻ ᤁᤧᤎᤠᤰᤋᤡ

ᤜᤧᤰᤁᤣᤀᤠᤱ ᤁᤣᤛᤡᤱᤃᤧᤴ ᤐᤠᤔᤠᤱᤏᤢ ᤁᤧᤍᤢᤔᤡᤀᤠᤱᤗᤰ ᤕᤠᤱᤍᤠᤱ ᤁᤧᤒᤠᤣᤃᤡ

ᤐᤠᤔᤠᤱᤗᤧ ᤛᤠᤶᤛᤠᤣ ᤕᤔᤡᤱ ᤁᤧᤘᤠᤏ᤻ᤍᤡᤖᤠᤣ॥

(अर्थः वृक्ष जस्तो सच्चा/सिधा, ढुंगाजस्तो अटल,

सङ्लो पानीभन्दा पवित्र भएर

इष्टदेवी आमालाई सम्झना गर

आमाले देखेपछि पिता देखाउने छिन्

अनि पितादेवसँग भेट भएपछि मात्रै कोक्रो पाउने छौ

पितादेवले न्वारान गरिदिनेछन्)

अभिभावकविनाको परिवार कमजोर हुन्छ। यो प्राकृतिक नियम हो। हरेक सजीव प्राणीमा नेतृत्वको खोजी र महङ्खव हुन्छ। नेतृत्व पाएपछि सुरक्षित महसुस गर्छ। यसका केही उदाहरण हेरौं।

मौरी : मौरी जंगल र घर दुवै ठाउँमा पाइन्छ। यो जीव नेतृत्वविना क्षणभर पनि रहन सक्दैन। यिनीहरूको नेतृत्वलाई रानी/रानो भनिन्छ। रानी/रानोविहीन मौरीहरू एकापसमा चिलाचिल, मारामार गर्छन् र मासिन्छन्। बाँदर : बाँदर मान्छेजस्तै देखिने जंगलमा पाइने स्तनधारी जनावर हो। यिनीहरूको पनि नेतृत्व हुन्छ, जसलाई बाँदरको राजा भनिन्छ। राजालाई आलोपालो बोक्ने र सुरक्षा दिने गर्छन्। यदि बाँदर समूह राजाविहीन भए त्यहाँ विद्रोह र कलह हुने गर्छ।

यी उदाहरणबाट के देखिन्छ भने नेतृत्व मानिसलाई मात्रै होइन सजीव प्राणीलाई नै आवश्यक छ। नेतृत्वविहीन अवस्थामा कुनै पनि प्राणीले संगठित भएर काम गर्न सक्दैनन्। याक्थुङहरू अहिले नेतृत्वविहीन अवस्थामा छन्। त्यही भएर याक्थुङहरूको योजना र कार्यक्रमहरू छरपस्ट भएको छ। नेतृत्वविहीन आन्दोलन, अभियान या क्रान्ति सफल हुँदैन। याक्थुङका साथै समग्र आदिवासी जनजातिले अहिले यही समस्या भोगिरहेका छन्। रानी/रानोविनाको मौरी जस्तै एकापसमा मारामारको स्थितिमा पुगेका छन्।

यो अवस्था आउने देखेर नै महागुरु फाल्गुनन्दले माथि उल्लिखित दिव्योपदेश दिनुभएको भन्ने आँकलन गर्न सकिन्छ। तर, महागुरुको दिव्योपदेशको अध्ययन नगरी उहाँलाई गालीगलौज गर्ने काम भइरहेको देखिन्छ। भौतिक विकासमा रमाइरहेका किरात समाजले महागुरु फाल्गुनन्दका दिव्योपदेशको अध्ययन गरी मनन् गर्दै अगाडि बढ्नु आवश्यक छ। यसो गरे धार्मिक, सामाजिक, राजनीतिक र आर्थिक रुपले समृद्ध हुनेछन्। जबसम्म नेतृत्व चिन्दैनन् र नेतृत्वको पछि लाग्दैनन् तबसम्म उनीहरूको लक्ष्य पूरा हुने छैन।

अन्त्यमा,

महागुरु फाल्गुनन्दको दिव्योपदेशको अध्ययन गर्दा आदिवासी जनजाति, याक्थुङहरूलाई अगाडि बढ्नका लागि त्यो मार्गदर्शन हो। उनीहरूको धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक मुक्तिका लागि सबैखालको मार्गदर्शन केसिङगेन पामाङ (पितादेव) मार्फत प्राप्त हुने दिव्योपदेशमा उल्लेख छ। त्यसैले तत्कालका लागि याक्थुङहरूले राजनीतिक योगभन्दा भक्तियोगमा अझै तल्लीन हुन जरुरी देखिन्छ। धार्मिक रुपमा एक हुन नसके किरात÷आदिवासीहरू राजनीतिक मुद्दामा एक हुने अवस्था छैन । आफ्नो मुक्तिका लागि आराध्यदेवी थामेन्दिङ मानुमाङ (मातादेवी)को भक्ति गर्न सके उनीहरूको मुक्ति अवश्यम्भावी छ।

सन्दर्भ सामग्री

१, मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द नु लिङ्देन आत्मानन्द सेइङ रे माङसिवाखाहुन, २०७३  (तेस्रो संस्करण)। माङसेबुङः किरात चोस्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समिति।

२. चेम्जोङ, इमानसिंह, किरात इतिहास र संस्कृति, २०६३ (दोस्रो संस्करण) ।

३. महागुरु फाल्गुनन्द, २०६६ (प्रथम संस्करण), महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान।

४. कपलान, लिओनेल, पूर्वी नेपालमा लिम्बू जातिको किपट र सामाजिक फेरबदल, सन् २०१० ।

५. किरात समाचार मासिक, वर्ष २२ अंक १, कात्तिक, २०७३।

६. माङसेबुङ सन्देश, वर्ष ६ अंक १, माघ–चैत, २०६६ ।

७. मुहिङगुम अङसीमाङ फाल्गुनन्द विशेषांक, विभिन्न अंकहरू

(यो लेख किरात समाचारको ‘मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती विशेषाङ्क २०८२ कात्तिक २५’ मा प्रकाशित छ।)

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  १२ : ०० बजे