१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

सत्यधर्म मुचुल्का निर्माणमा सहभागीहरू



  • आङबुहाङ अबोध अविरल

प्रारम्भ

कुनै पनि घटनाको लिखित टिप्पणीलाई मुचुल्का भनिन्छ। वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको चोकमागुस्थित लब्रेकुटीमा महागुरु फाल्गुनन्द लिङ्देनको पहलमा लिम्बुवान विभिन्न थुमका सुब्बा, सर्वसाधारण र भक्तजनहरूको चुम्लुङ (भेला)ले सात बुँदे निर्णय गर्‍यो। त्यो लिखित दस्तावेजलाई ‘सत्यधर्म मुचुल्का’ भनी नामाकरण गरियो। उक्त मुचुल्का भाषा, लिपि, मुन्धुम र धार्मिक अनुष्ठानका विषयमा केन्द्रित छ।

सत्यधर्म मुचुल्काको निर्माण किरात लिम्बू समुदायमा प्रचलित ‘तुम्याहाङ’ प्रणालीमा आधारित छ। मुचुल्काको पृष्ठभूमिमा ‘लिखितम थुम–थुम गाउँ–गाउँको हामी तपशिल बमोजिमका तालुकदार लगायत गैरलिम्बुहरू’ भन्ने वाक्य उल्लेख छ। यसैगरी पृष्ठभूमिको अन्त्यमा ‘दफा–दफा लेखिया बमोजिम गर्न हामी सबैको चित्त बुझ्यो’ भन्ने उल्लेख छ। साथै ‘दफा–दफामा लेखिया बमोजिम गरौला सो नरही जस्ले लंघन गरौला त्यसलाई यसै सत्यधर्म मुचुल्काले उजुर गरी अदल नागी काम गरे वापत सजाय गराउनु’ लेखिएको छ।

मुचुल्कामा उल्लिखित ती वाक्यहरूले थुमथुमका तालुकदार (जिम्मावाल) र गैरलिम्बू भेला भई सबैको सहमतिमा प्रथाजनित कानुन निर्माण गरिएको भन्ने देखाउँछ। लिम्बुवान क्षेत्रमा प्रचलित तुम्याहाङ प्रणाली सामाजिक रीतिथिति बनाउँदा तुत्तु तुम्याहाङ (भद्रभलाद्मी) भेला भएर निर्णय गर्ने चलन थियो। यो मौखिम परम्परामा हुने गर्थ्यो। तर, महागुरु फाल्गुनन्दले भने लेख्य परम्परा शुरु गर्नुभयो। वि.सं. १९८८ वैशाख २४ गतेदेखि २८ गतेसम्म भएको चुम्लुङले गरेका निर्णयहरूको लिखित दस्तावेजलाई ‘सत्यधर्म मुचुल्का’ भनी पृष्ठभूमिको अन्तिममा उल्लेख गरिएको छ।

मुचुल्कामा तीन मुख्य खण्ड छन्। पहिलो खण्डमा पृष्ठभूमि, दोस्रोमा सात बुँदा र तेस्रोमा मुचुल्का निर्माण गर्न चुम्लुङमा सहभागी र समर्थन गर्ने व्यक्तिहरूको नाम र ठेगाना रहेको छ। करिब १६ हात लामो मुचुल्का पहाडे नेपाली कागजमा बाँसको कलम र घरायसी मसीको प्रयोग गरी लेखिएको छ। यस लेखमा सत्यधर्म मुचुल्का निर्माण गर्दा सहभागी सुब्बा, सर्वसाधरण र भक्तजनबारे उल्लेख गर्ने प्रयास गरिएको छ।

साङसेन वरक चोःलुङ माङहिम‚ सत्यधर्म मुचुल्का निर्माण गरिएको ठाउँ। तस्बिरः धनबहादुर फागो

सात पटकमा १९४ जनाको सहीछाप 

सत्यधर्म मुचुल्कामा १९४ जनाको नाम उल्लेख छ। तीमध्ये ६० जनाभन्दा बढीले औंठा छाप र १७ जनाको औंठी छाप र केहीले हस्ताक्षर गरेका छन्। बाँकीको नाम मात्र उल्लेख छ। तर, ती सबैको नाम टिपोट र छाप लगाउने काम एकै समयमा गरिएको थिएन।

वि.सं. १९८८ वैशाख २४ गते हावाहुरी आउनुका साथै मेघगर्जनसहित चट्याङ परेको थियो। त्यो बेला लब्रेमा बसोबासका निम्ति व्यवस्थित डेराधुरा पनि थिएन। त्यसैले चुम्लुङमा सहभागी अधिकांश अन्तिम दिनसम्म बस्न सकेनन्। २८ गते मुचुल्कामा हस्ताक्षर उठाउने दिनमा ७४ जनाको नाम र ठेगाना समावेश छ। कतिपयले चुम्लुङको निर्णयहरू मान्न गाह्रो हुने सोचेर छाप, हस्ताक्षर नगरी फर्किए। चुम्लुङमा सहभागीहरूमध्ये केही हिंडेर र केही घोडामा लब्रेसम्म आएका थिए।

वि.सं. १९९० र १९९१ का विभिन्न समयमा थप १२० जनाले मुचुल्कामा सहमति जनाएर नाम उल्लेख गराएका छन्। तीमध्ये धेरै जसो १९८८ वैशाख २४ गतेको चुम्लुङमा सहभागी भएर नाम छुटेका थिए। बाँकीले चुम्लुङमा लागेको खर्च व्यहोर्न सघाएर नाम समावेश गराएका थिए।

मुचुल्कामा सहीछाप गरेको मिति र गर्नेको संख्या

१७ सुब्बाको औंठीछाप

वि.सं. १९८८ वैशाख २४ को सत्यधर्म मुचुल्कामा १७ जनाले औंठीछाप हानेका छन्। औंठीछाप लगाउनेमध्ये १६ जना सुब्बा र एकजना सर्वसाधरण छन्। हाल विभिन्न पदका मानिसहरूले पद अनुसारको छाप प्रयोग गरेजस्तै त्यो बेलाका अमाली सुब्बा र नामी सुब्बाहरूले औंठीको छाप चलाउने व्यवस्था थियो। अमाली सुब्बा ठूलो क्षेत्र हेर्ने सुब्बा थिए।

मुचुल्कामा तुम्बुङवा, फेदाप, फाक्तेप, जौबारी, चोकमागु, उम्लाबुङ, इम्बुङ, हाङयक्मा, यासोक, पित्लुङ, याङरुप, याङवरक, आङबुङ आदि क्षेत्रका सुब्बाहरूले सहीछाप लगाएका छन्। मुचुल्कामा ‘सुब्बा’ र कतिपय सुब्बाको छोटकरीमा ‘सु’. भनी उल्लेख गरेको पाइन्छ। चुम्लुङमा उपस्थित सुब्बाहरूमध्ये कतिपयले औंठीको छाप प्रयोग नगरेको पनि पाइन्छ।

१० थुमका प्रतिनिधि सहभागी

तत्कालीन पल्लो किरात लिम्बुवान क्षेत्र १७ थुममा विभाजित थियो। तीमध्ये १० थुमका सुब्बा तथा प्रतिनिधिहरूको नाम सत्यधर्म मुचुल्कामा उल्लेख छ। तीमध्ये सबैभन्दा बढी पान्थर थुमबाट सहभागी छन्।

लामो समयसम्म चलेको चुम्लुङमा स्थानीय पान्थर थुमका प्रतिनिधि ठूलो संख्यामा अन्तिमसम्म सहभागी भएको पाइन्छ। पान्थर थुमका करिब दुई दर्जन गाउँबाट सहभागी भएको मुचुल्कामा उल्लेख ठेगानामा पाइन्छ। वि.सं. १९८८ वैशाख २४ मा भदौरे, स्याब्रुम्बा, यासोक, इम्बुङ, चोकमागु, हाङयक्मा, कुरुम्बा, फाक्तेप, उम्लाबुङ, माङजाबुङ र आङसराङका प्रतिनिधिहरूको नाम उल्लेख र सहीछाप देखिन्छ।

यसैगरी पछिल्लो वर्षहरूमा साखेवा, आङना, फेजङ, वासुम, पुधुक, लालीखर्क, यङनामका समेत प्रधिनिधिहरूको मुचुल्कामा नाम उल्लेख छ। पान्थर थुम हाल पाँचथर जिल्लामा पर्दछ।

यस्तै, याङरुप थुमको ढाँडे, सुभाङ, आङबुङ, सिनाम, थर्पु, सिङ्गेनजङ, मादिबुङ, माङदेन आदि गाउँका प्रतिनिधिहरूको नाम सत्यधर्म मुचुल्कामा उल्लेख छ। याङरुप थुम हाल पान्थर र ताप्लेजुङ जिल्लामा विभाजित छ।

चुम्लुङमा चौबिस थुमको खापिगाउँका पनि सहभागी भएका छन्। चौबिस थुम हाल धनकुटा जिल्लामा पर्दछ।

पित्लुङ थुमको नागीबाट पनि चुम्लुङमा सहभागी भएको पाइन्छ। पित्लुङ थुमको नागी उल्लेख भए पनि नागी भन्ने ठाउँ याङरुप थुममै पर्ने देखिन्छ। मुचुल्कामा उल्लेख भएको पित्लुङ थुम हाल पान्थर जिल्लामा पर्दछ।

चारखोला थुमको चुक्चिानाम्बा र खान्द्रोङ गाउँबाट पनि सहभागी भएको पाइन्छ। चारखोला चुक्चिनाम्बा महागुरु फाल्गुनन्दको जन्मस्थान हो। चारखोला थुम हाल इलाम जिल्लामा पर्दछ।

सुदाप थुमको सिलिङ गाउँबाट प्रतिनिधि सहभागी भएको देखिन्छ। सुदाप थुम हाल तेह्रथुम जिल्लामा रहेको छ।

फेदाप थुमको म्याङ्लुङ, समिलिङ गाउँबाट पनि चुम्लुङमा प्रतिनिधि सहभागी भएको पाइन्छ। यस थुमबाट सुब्बा काजीमान तुम्बाहाङफे सहभागी भएका थिए। अधिकांश सहभागीहरूको नामको पछि ‘लिम्बू’ लेखेको पाइन्छ। तर, सुब्बा काजीमानको चाहिँ थर ‘तुम्बाहाङफे’ उल्लेख छ। उनी त्यसबेलाका नाम चलेका सुब्बा थिए। फेदाप थुम हाल तेह्रथुम जिल्लामा पर्दछ।

छथर थुमको हेमादेन र पासोरीका सहभागी उल्लेख छन्। तत्कालीन छथर थुम हाल तेह्रथुम र धनकुटा जिल्लामा बाँडिएको छ।

याङवरक थुमको मादिबुङ, लिम्बुदेन र पेदाङका प्रतिनिधिहरू चुम्लुङमा उपस्थित भएको सत्यधर्म मुचुल्कामा उल्लेख छ। याङवरक थुमका उल्लेख भएका ठाउँहरू अहिले ताप्लेजुङ जिल्लामा पर्छन्। याङरुप थुमको भने अधिकांश भाग पान्थर र केही भाग ताप्लेजुङमा पर्ने देखिन्छ।

आठराई थुमको चुहानडाँडा, बोखिम र हायेमा गाउँका प्रतिनिधिहरूले पनि सत्यधर्म मुचुल्कामा सहभागी देखिन्छन्। मुचुल्कामा उल्लेख यी ठाउँहरू हाल तेह्रथुम जिल्लामा पर्छन्। तत्कालीन आठराई थुम हाल ताप्लेजुङ र पान्थर जिल्लामा विभाजित छ।

मुचुल्कामा तीन महिलाको नाम उल्लेख

सत्यधर्म मुचुल्कामा सहमति जनाउनेहरूको नाम वि.सं. १९८८, १९९० र १९९१ साल समावेश गरिएको थियो। सहमति जनाउने १९४ को नाम सत्यधर्म मुचुल्कामा उल्लेख छ। नाम उल्लेख भएकामध्ये तीनजना महिला छन्। १९८८ वैशाख २४ देखि चलेको चुम्लुङमा धेरै महिला सहभागी भए पनि मुचुल्का उठाउने समयमा दुई जना महिला उपस्थित थिए। १९८८ वैशाख २४ गते ७४ जनाले हस्ताक्षर गरेको थिए। तीमध्ये दुई जना महिला थिए। उनीहरू पान्थर कुरुम्बाका साइली साधुनी लिम्बूनी र अर्थरानी लिम्बू रहेका छन्।

वि.सं. १९९० लब्रेमा भएको अर्को चुम्लुङमा उपस्थित सुब्बा र सर्वसाधरणहरूको मुचुल्कामा नाम समावेश गरिएको छ। उनीहरूमध्ये कतिपय १९८८ को चुम्लुङमा सहभागी भएका थिए। कतिपय नयाँ सहभागी थिए। तीमध्ये एक थिइन्, पान्थर इम्बुङको धनमती लिम्बू।

सत्यधर्म मुचुल्का निर्माण गरिएको ठाउँमा राखिएको ‘सत्यधर्म मुचुल्का समाज सुधार स्मारक’। तस्बिरः धनबहादुर फागो

इमानसिंह चेम्जोङ पनि सहभागी

सत्यधर्म मुचुल्का निर्माण गर्न आयोजित बृहत् चुम्लुङमा किरातविद् इतिहासकार इमासिंह चेम्जोङ पनि सहभागी भएका थिए। उनी १९८८ वैशाख २४ गतेको चुम्लुङमा सहभागी भएर आफ्नो विचार राखेका थिए। चेम्जोङले दार्जिलिङ, सिक्किम र नेपालका मानिसहरूको अवस्थाबारे चर्चा गरेका थिए। उनले नेपालमा शिक्षाको आवश्यकताबारे बोलेको थिए। उनले विचार राख्दा महागुरु फाल्गुनन्द भावुक भई रुनुभएको बताइन्छ। तर, ‘साँझ सुत्ने बस्ने प्रबन्ध राम्रो नभएकाले गुरुसँग बिदा मागेर गाउँ पस्नुभयो’ रमेश तुम्बापो र मनकुमार फेजङको पुस्तक ‘निस्सेहाङमा महागुरु फल्गुनन्दको जीवनी’ (२०७९:१००) मा उल्लेख छ।

चेम्जोङको पुर्ख्यौली थलो पान्थर भए पनि दार्जिलिङको कालिम्पोङमा सन् १९६१ मा जन्मिएका थिए। त्यसैले उनले दार्जिलिङमा उच्च शिक्षा लिने अवसर पाएका थिए। उनी किरात जातिको इतिहास, मुन्धुम र संस्कृतिको विषयमा खोज, अनुसन्धान कार्यमा थिए। त्यसैले उनलाई चुम्लङमा निमन्त्रणा गरिएको थियो।

दोहोरिएका नाम

सत्यधर्म मुचुल्कामा केही नामहरू दोहोरिएका छन्। मुचुल्कामा सुब्बा शेरबहादुर लाओती र कृपालाल राईको नाम दोहोरिएको छ। सुब्बा लाओती पान्थर भदौरे निवासी हुन्। सत्यधर्म मुचुल्काको लेखन नै सुब्बा लाओतीले गरेका हुन्। वि.सं. १९८८ वैशाख २४ को विशाल चुम्लुङ सम्पन्न गर्न लाओतीको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। उनी त्यसबेला लिम्बुवान क्षेत्रका सबैभन्दा नामी सुब्बाको रुपमा चिनिन्थे। त्यतिमात्र नभएर उनी लेखापढी गर्न सक्ने सुब्बा थिए।

सुब्बा लाओतीको १९८८ वैशाख २४ को उपस्थितिको पहिलो नम्बरमा नाम समावेश छ। यसैगरी वि.सं. १९९१ माघ १६ मा पनि उनी उपस्थित भई मुचुल्कामा नाम समावेश गराएको देखिन्छ। कृपालाल राई सत्यधर्म मुचुल्कामा हस्ताक्षर गर्ने एक्लो राई समुदायको प्रतिनिधि हुन्। उनको १९८८ वैशाख २४ मा उठाएको मुचुल्कामा र १९९० चैत ११ मा थपिएको नामावलीमा नाम उल्लेख छ। तर, पहिलोपल्ट उनको ठेगाना चोकमागु र दोस्रो पल्ट लालीखर्क उल्लेख छ। त्यसैले मुचुल्कामा १९४ जनाको नाम समावेश भए पनि जम्मा १९२ जनाको नाम देखिन्छ।

निष्कर्ष

सत्यधर्म मुचुल्का उठाउने काम महागुरु फाल्गुनन्दले पहल गर्नुभएको एक महत्त्वपूर्ण कार्य हो। निरंकुश राणा शासनकालमा महागुरु फाल्गुनन्दले मुचुल्काको माध्यमबाट संस्कारगत एकता, मातृभाषामा शिक्षा, आध्यात्मिकता, नारी समानता, अहिंसा र लिखित मुन्धुममा जोड दिनुभएको पाइन्छ।

तत्कालीन समयमा मुलुक सडक सञ्जालले जोडिएको थिएन। सञ्चार माध्यमहरूको स्थापना भएको थिएन। निरक्षरता सतप्रतिशत रहेको अवस्थामा यतिका ठूलो संख्यामा सहभागी गराउने कार्य निकै नै कठिन हुनसक्छ। अर्कोतर्फ राज्यले सभा/सम्मेलनहरू गर्न दिंदैन थियो। राजा र राणाहरूको हुकुमी शासनको बेला महागुरु फाल्गुनन्दले पल्लोकिरात १७ थुम १० लिम्बुवानका प्रतिनिधिहरू सहभागी गराएर सत्यधर्म मुचुल्का निर्माण कार्य एक लोकतान्त्रिक अभ्यास थियो।

सन्दर्भ सामग्री

तुम्बापो, रमेश र फेजङ, मन कुमार (वि.सं. २०७९)। निस्सेहाङमा महागुरु फल्गुनन्दको जीवनी। दमक: रमेश तुम्बापो र मन कुमार फेजङ

सत्यधर्म मुचुल्का

(यो लेख किरात समाचारको ‘मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती विशेषाङ्क २०८२ कात्तिक २५’ मा प्रकाशित छ।)

विशेषाङ्कमा प्रकाशित लेखहरूः

प्रकाशित मिति : १४ मंसिर २०८२, शनिबार  ५ : ४२ बजे