किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को ७२औं जन्मोत्सव आज विविध कार्यक्रम गरी देश तथा विदेशमा भव्य रुपमा मनाइँदैछ।
धर्मगुरुको जन्मोत्सवको अवसरमा मंसिर १८ गते इलामको माङसेबुङ गाउँपालिका–५, माङसेबुङमा धर्मगुरु तथा गुरुआमा पवित्रहाङ्मा साँबा लिङ्देनको उपस्थितिमा केन्द्रीय कार्यक्रम हुँदैछ। किरात धर्मावलम्बीहरुको केन्द्रीय माङहिम ‘किरात हाङसाम मुजोत्लुङ’को प्राङ्गणमा हुने कार्यक्रममा दिउँसो विशेष कार्यक्रम आयोजना हुनेछ।
उक्त कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङ्गेन्ना सेवा एवं चेसोक तङनाम महासमारोहका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो।
यस्तै, विभिन्न जातीय झाँकी तथा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन हुनेछ। बेलुका ७२ जना सेवासाबा तथा सेवासामाहरूले माङगेन्ना मुन्धुम सामूहिक वाचन गरी धर्मगुरु तथा गुरुआमाको माङगेन्ना गर्ने कार्यक्रम रहेको छ। माङगेन्ना कार्यक्रमपछि नाहेन लाङ (आँखीडाही हटाउने नृत्य) पनि नाचिने आयोजकले जनाएको छ। राति किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोका कलाकारहरूले सांस्कृतिक कार्यक्रम गर्नेछन्। १९ गते मुहिङगुम अङसीमाङबाट आशीर्वचन कार्यक्रम रहने छ।
जन्मोत्सवको अवसरमा मंसिर ७ गतेदेखि १७ गतेसम्म माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा १८औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएको छ। यस्तै, ‘किरात हाङसाम मुजोत्लुङ माङहिममा चेसोक सेवा, विश्वशान्ति तथा मानव एकताका लागि विशेष सेवा सम्पन्न भएको छ।
किरात धर्मगुरुको जन्मोत्सव नेपालका विभिन्न जिल्लामा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। यस्तै, भारत, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत‚ दक्षिण कोरिया‚ युएई लगायत मुलुकमा पनि मनाइँदै छ।
संक्षिप्तमा धर्मगुरु आत्मानन्द लिङ्देन
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म वि.सं. २०११ मंसिर १८ गते शुक्रबार माङसेबुङ गाउँपालिका वडा नं. २, चुक्चिनाम्बा, आगौटेबारीमा भएको थियो। बुवा पूण्यप्रसाद लिङ्देन र आमा चन्द्रमाया चेम्जोङ (श्यामजिरी)को उहाँ पहिलो सन्तान हुनुहुन्छ। ज्योतिष नाम श्यामबहादुर भए पनि उहाँ आत्मानन्द लिङ्देनको रूपमा सुपरिचित हुनुहुन्छ। उहाँकी बोजु जोगमाया तुम्बापोले आत्मा, परमात्मा जान्ने भन्ने अर्थमा आत्मानन्द नाम राखिदिनुभएको हो। यस्तै‚ धर्मगुरुले ‘सेइङ’ उपनाम राख्नुभएको छ। किरात लिम्बू भाषामा ‘से’ भन्नाले पवित्र र ‘इङ’ भन्नाले कीर्ति भन्ने बुझिन्छ।
धर्मगुरु बालक हुँदा उहाँलाई ‘बालागुरु’ उपनामले पनि चिनिन्थ्यो। महागुरु मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको अपूरो कामलाई पूर्णता दिँदै किरात धर्मलाई सही दिशातर्फ डोर्याउने काम गर्नुभएकाले उहाँलाई फाल्गुनन्दपछि महान् व्यक्तित्व सम्झी माङलाङ ताक्मा (देवी स्वागत) गरेपछि किरात धर्मगुरुको रूपमा पुजिँदै आइएको छ। यस्तै‚ मुहिङगुम अङसीमाङको पुनः अवतारको रुपमा पनि उहाँलाई मुहिङगुम अङसीमाङको उपाधिले सम्बोधन गरिँदै आइएको छ।
धर्मगुरु आत्मानन्द लिङ्देनले २०४९ माघ ३ र ४ गते र २०८२ जेठ २३ गते इलामको माङसेबुङ-५ मा सार्वजनिक कार्यक्रम आयोजना गरी विश्व‚ ब्रह्माण्डबारे भविष्यवाणी दिइसक्नुभएको छ। यस्तै‚ किरात साम्जीक मुन्धुम भाग–१ देखि भाग–८ सम्म सम्पादन गर्नु भएको छ। उक्त मुन्धुम प्रकाशन भइसकेका छन्।
मुन्धुमको सम्पादन तथा विश्लेषणका साथै सेवासाम्लो, गीत, कविता लेख्ने एवं गाउनमा पनि धर्मगुरुको रुचि रहेको छ। उहाँले रचना गर्नुभएको केही गीतहरु रेकर्ड पनि भएका छन्।


