पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा जनता सेबेन क्लब इलाम र दारिम्बा पाँचथर प्रवेश गरेको छ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बिहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै जनता सेबेन क्लब इलाम फाइनल प्रवेश गरेको हो।
जनताका लागि सरिता नाथले ३, रेखा विष्ट र सानिमा लामाले १–१ गोल गरेका थिए। यस्तै‚ मिक्लाजुङको तर्फबाट रेजिता आले मगरले गोल गरे पनि खेलमा फर्कन सकेन।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा दारिम्बा फुटबल क्लब याङवरक पान्थर फाइनल पुगेको छ। फेयर फुटबल क्लब धरान सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै दारिम्बा फाइनल प्रवेश गरेको हो।
दारिम्बाका मनिता तुम्ब्रोकले गरेको गोल निर्णयक बन्न पुगेको थियो। खेलको उत्कृष्ट खेलाडी मनिता तुम्ब्रोक र जनता सेबेनका सरिता नाथले नगद ३ हजार ५ सय ७० प्राप्त गरे।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप प्रतियोगिताको फाइलन खेल आगामी फागुन २ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगितको विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्। प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरूलाई आमन्त्रण गरिएको थियो।
सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा र लेटाङ फुटबल क्लब मोरङ रहेका थिए। यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब कर्साङ दार्जिलिङ सहभागी थियो।

तस्बीर: योगेश लाओती


