११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य (पूर्ण पाठ)



आर्थिक वर्ष २०८३/८४ को  बजेट वक्तव्य

माङसेबुङ गाउँपालिका गाउँसभाको १८ औं अधिवेशनमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद कुमार नेम्बाङले गाउँसभामा पेश गर्नु भएको आर्थिक वर्ष २०८३/८४ को  बजेट वक्तव्य

माङसेबुङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

इभाङ, इलाम

गाउँसभाका अध्यक्ष महोदय,

सभाका सम्पूर्ण सदस्यज्यूहरु ।

१.माङसेबुङ गाउँपालिकाको यस गाउँसभाको  गरिमामय बैठकमा माङसेबुङ गाउँपालिकाको आगामी आ.व.२०८३/०८४ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु ।

२. सर्वप्रथम मुलुकमा प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशीता लगायत विभिन्न सकारात्मक परिवर्तनको लागि विभिन्न आन्दोलनहरुमा शाहदत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते र वेपत्ता भएका नागरिकहरुप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु र आआफ्नो ठाउँबाट योगदान पुर्याउनु हुने दिदी बहिनी तथन दाजुभाइहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु।

३.मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि स्थापीत ३ तहका सरकारहरु वीचको सहकारिता, समन्वय र सह अस्तित्वको मूल मर्मलाई आतमसात गर्दै ” समृद्ध नेपाल सुखी नेपाली ” को राष्ट्रिय आकंक्षा, प्रदेश सरकारको ” स्वच्छ, सुखी र समुन्नत प्रदेश ” को अभियानसँगै माङसेबुङ गाउँपालिका समेत ” दिगो विकास समृद्धिको आधार, स्थायीत्व र पर्याप्त पूर्वाधार ” भन्ने दीर्घकालीन सोचका साथ कृषि, पर्यटन र पूर्वाधार  विकास मार्फत विकास र समृद्धिको गतिमा अघि बढिरहेको छ ।

४.स्थानीय तह गठन भएपछिको संक्रमणकालीन अवस्थालाई पार गर्दै विभिन्न नीति, कानून तथा संस्थागत संरचना निर्माण गरी आवश्यक जनशक्ति र भौतिक पूर्वाधारहरुको व्यवस्था गर्दै उपलब्ध सीमित साधन स्रोतको अधिकतम परिचालन गर्ने प्रयासका साथ संघीय सरकार,प्रदेश सरकार तथा आम नागरिकहरु सँगको सम्न्वय र सहकार्य सहित विकासका अरु संभावना र अवसरको खोजी गर्दै हामी अघि बढिरहेका छौ ।

५.यस बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, संघ तथा प्रदेश सरकारले जारी गरेका विभिन्न नीति तथा मापदण्डहरु, माङसेबुङ गाउँपालिकाको आवधिक योजना, मध्यकालीन खर्च संरचना, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा योजना तर्जुमा समितिका निर्णयहरु समेतलाई आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।

गाउँसभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु ।

६.अव म गत आ.ब. २०८२/८३ को वास्तविक आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।

७. गत आ.ब. २०८२/८३ मा कुल आय तर्फ ४९ करोड ३९ लाख ६८ हजार ८२३ अनुमान गरीएकोमा ४५ करोड ७२ लाख ५७ हजार ३१ वास्तविक आम्दानी भएको थियो । यस मध्ये जेठ मसान्त सम्म चालू तर्फ ६० %  र पूजिगत तर्फ ४० % यथार्थ खर्च भएको छ ।

८. अव म आगमी आ.ब. २०८३/८४ को बजेटका उद्धेश्य तथा प्राथमिकताहरुलाई निम्न बमोजिम प्रस्तुत गर्ने अनुमति चहान्छु ।

बजेटका उद्देश्यहरु

  • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी जवाफदेही  र पहुँचयोग्य बनाई सुशासनको प्रत्याभूति गराउने
  • नागरिकहरुको  लागि आवश्यक खानेपानी सरसफाई, सडक जस्ता स्थानीय पूर्वाधारका क्षेत्रमा लगानी गरी नागरिकको दैनिक जीवनयापनमा सहजता ल्याउने ।
  • स्वास्थ्य सेवालाई सर्वसुलभ बनाई स्वास्थ्यमा आम नागरिकको पहुँच वृद्धि गर्ने ।
  • सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी गुणस्तरीय शिक्षामा सर्वसाधरण नागरिकको पहुँच वृद्धि गर्ने ।
  • कृषि तथा पशुपंक्षीको क्षेत्रमा नागरिकलाई सेवा तथा व्यवसायी उन्मुख गरी  उत्पादकत्व वृद्धि गर्ने ।
  • सीमित साधन स्रोतको अधिकतम उपयोग मार्फत स्थानीयको क्षमता विकास गरी रोजगारीको सिर्जना गरी गरिवी न्यूनीकरण गर्ने ।
  • सिमान्तकृत समुदायको रुपमा रहेका महिला, आदिवासी जनजाति, दलित तथा अपाङ्गत भएका व्यक्तिहरुलाई विकासको मूल प्रवाहमा ल्याउने ।
  • विकासका नयाँ संभावता र अवसरहरुको खोजी गर्दै सुखी र समृद्ध गाउँपालिका निर्माणको आधार तयार गर्ने ।

बजेटका प्राथमिकताहरु

  • सार्वजनिक सेवा प्रवाहमा सुदृढिकरण
  • सामुदायिक विद्यालयको भौतिक र गुणस्तरमा सुधार ।
  • स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तरमा बृद्धि ।
  • खानेपानी, साना सिंचाई कुलो, विधुत, सडक जस्ता पूर्वाधारको निर्माण तथा स्तरोन्नति ।
  • धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान,प्रचार प्रसार तथा पूर्वाधार निर्माण ।
  • विपदजन्य घटनाबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा वातावरण संरक्षण ।
  • साना तथा घरेलु उद्योग र सीपमूलक तालिम मार्फत स्थानीय रोजगारीको सिर्जना ।

गाउँसभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

९.अव म यिनै उद्धेश्य र प्राथमिकताको आधारमा आगमी आ.ब २०८३।८४ को स्रोत अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न अनुमति चाहान्छु ।

आर्थिक वर्ष २०८३/८४ को लागि कुल ४९ करोड ५० लाख २४ हजार  सय ९७ हुने गरी स्रोत अनुमान पेश गरेको छु । विभिन्न स्रोतहरूबाट गरिएको स्रोत अनुमान यस प्रकार छ :

नेपाल सरकार समानीकरण अनुदान तर्फ रु ८ करोड ९३ लाख, राजस्व बाँडफाँड तर्फ रु ८ करोड ६९ लाख ९९ हजार, सशर्त अनुदान तर्फ १९ करोड ३१ लाख, विशेष अनुदान तर्फ रू. १ करोड र समपूरक अनुदान तर्फ रू. २ करोड २९ लाख हुने स्रोत अनुमान  गरेको छु ।

प्रदेश  सरकार समानीकरण अनुदान तर्फ रु ७८ लाख २६ हजार , राजस्व बाँडफाँड तर्फ रु ७२  लाख ९९ हजार ६९७ , सशर्त अनुदान तर्फ ३६ लाख, र समपूरक अनुदान तर्फ रू. १ करोड ४० लाख हुने स्रोत अनुमान  गरेको छु ।

गाउँपालिकाको आन्तरिक आय तर्फ रू. ३ करोड र यस आर्थिक वर्षको अन्त्य सम्म रहने बैंक मौज्दात रु. ३ करोड हुने अनुमान गरेको छु ।

 

 

 

१०.अव म माथि उल्लेखित संघीय तथा प्रदेश सशर्त अनुदान, संघीय तथा प्रदेश विशेष अनुदान र संघीय तथा र समपूरक अनुदान बाहेक २५ करोड १४ लाख २४ हजार ६९७ ।- को विनियोजन विवरण प्रस्तुत गर्न अनुमति चाहान्छु ।

  • वडा समिति मार्फत निर्णय हुने गरी ६ वटा वडाहरुको लागि रु २ करोड ७० लाख विनियोजन गरेको छु ।
  • किरात राई मुन्दुम पाठशाला सञ्चालनतथा व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • गाउँ कार्यपालिकाको कार्यालय तर्फ कार्य संचालन र पालिका स्तरीय योजना तथा कार्यक्रमहरुको लागि १९ करोड  ८  लाख विनियोजन गरेको छु ।
  • यस गाउँपालिका भित्रका विद्यालयको बाल विकास सहयोगी कार्यकर्ता , विद्यालय सहयोगी कर्मचारी र कम्प्युटर प्रशिक्षकहरुका तलबमान रु. २ हजार ५०० ले वृद्धि हुने गरी बजेट व्यवस्था गरेको छु । खेलकुद कार्यक्रमलाई प्राथमिकता राख्दै अध्यक्ष कप लगायत अन्य खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । शिक्षा तथा खेलकुदशाखा तर्फ रू.  २ करोड ५७ लाख ५९ हजार २०० विनियोजन गरेको छु ।
  • कृषि क्षेत्रको विकास गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । कृषि विकास शाखा  तर्फ २० लाख र पशु सेवा शाखा तर्फ २५ लाख विनियोजन गरेको छु ।
  • अपाङ्ग नागरिकको घर परिवारको स्वास्थ्य बीमाको रकम गाउँपालिकाले नै व्यहोर्ने गरी बजेट व्यवस्था गरेको छु । आत्मानन्द स्वास्थ्य केन्द्र, माङसेबुङ–३, इलाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेडिकल अफिसर (MBBS Doctor) को व्यवस्थाका लागि बजेट विनियोजन गरेको छु । स्वास्थ्य शाखा तर्फ ३५ लाख विनियोजन गरेको छु ।
  • आगामी आ.ब. २०८३/८४ मा संचालन गरिने योजना तथा कार्यक्रमहरुको विस्तृत विवरण माङसेबुङ गाउँपालिकाको विनियोजन विधेयक २०८३  सहित यस सभामा पेश गरिनेछ

 

 

 

 

 

 

 

गाउँसभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

११. अव म आगमी आ.ब. २०८३/८४ को राजश्व परिचालन सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु । आगमी आ.ब. मा राजश्व परिचालन गर्दा निम्न नीतिहरुको अबलम्वन गरिनेछ ।

  • करको दर र दायरालाई फराकिलो पार्दै आन्तरिक आयमा वृद्धि गर्ने ।
  • कर प्रशासन तथा राजश्व प्रशासनका विषयहरुमा कर्मचारीको क्षमता विकास गर्ने ।
  • राजश्व प्रशासनलाई प्रविधिमैत्री बनाई सरलिकृत गर्ने ।
  • स्थानीय राजश्व परामर्श समितिलाई थप सकृय बनाउने ।

१२.आगमी आ.व. २०८३/८४ मा संकलन गरिने कर र गैरकर राजश्वका दर तथा क्षेत्रहरु माङसेबुङ गाउँपालिकाको आर्थिक विधेयक २०८३ बमोजिम हुने गरी स्वीकृतिको लागि यस सम्मानित सभामा पेश गरेको छु ।

१३. माङसेबुङ गाउँपालिकाको आ.ब २०८३/८४ को सेवा र कार्यहरुको लागि स्थानीय संचित कोषबाट रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको माङसेबुङ गाउँपालिकाको विनियोजन विधेयक २०८३ लाई समेत स्वीकृतिको लागि यस सम्मानित सभामा पेश गरेको छु ।

१४.गाउँपालिकालाई प्राप्त अनुदान, राजश्व बाँडफाँड र आन्तरिक स्रोतबाट मात्र संचालन गर्न नसकिने खालका योजना तथा कार्यक्रम संचालनको लागि नेपाल सरकार,  प्रदेश सरकार र दातृ निकायहरुसँग अनुरोध गरिनेछ ।

१५.अन्तमा यो बजेट तथा कार्यक्रम तर्जुमा प्रकृयामा मार्ग निर्देशन गर्नुहुने गाउँपालिकाका अध्यक्ष ज्यू , बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचरीहरु, सबै वडाका वडाध्यक्षहरु, विषयगत समितिका संयोजक तथा सदस्यहरु, राजनैतिक दल एवं सबै माङसेबुङवासी जनताप्रति आभार प्रकट गर्न चाहन्छु र यो बजेटको कार्यान्वयनमा सम्बन्धित सरोकारवाला सबै पक्षको पूर्ण सहयोग प्राप्त हुनेछ विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ३ : ५६ बजे