७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

फाल्गुनन्द मार्ग फागुन महिना भित्रमा कालोपत्रे सम्पन्न हुने



माङसेबुङ : दमक चिसोपानी सडक (फाल्गुनन्द मार्ग) आगामी फागुन महिनाभित्र कालोपत्रे सम्पन्न हुने भएपछि स्थानीय र सरोकारवाला खुशी भएका छन् ।

दुई दशक अघिदेखि बाटोको ट्र्याक खन्ने कार्यबाट सुरु भएको यस सडक निर्माण कार्यले गति लिएपछि यातायातका साधन गुडाउन मात्रै सहज भएको छैन । स्थानीय उत्पादन बजार पुर्याउन र शिक्षा र स्वास्थ्य सुविधाका लागि दमकलगायत नजिकका सहरहरुमा पुग्न पनि सहज भएको स्थानीयवासीहरु बताउँछन् ।

गत बुधबार दमक चिसोपानी रवी सडक (फाल्गुनन्द मार्ग) निर्माण उपभोक्ता समितिको अगुवाईमा सडक डिभिजन कार्यालय दमक, हाल सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी लुम्बिनी गणपति जेभिका प्रतिनिधिलगायत राजनीतिक दलका अगुवा र सञ्चारकर्मीको टोली दमकदेखि चिसोपानी पञ्चमी बजारसम्म अनुगमनमा पुगेको थियो ।

बाटो निर्माणको कामले गति लिँदै गए पनि चाहे जस्तो प्रगति नभएको स्थानीय व्यवसायी सर्मिला राईको भनाइ छ । हिउँदको समयमा राम्रो भए पनि बर्खाको समयमा हिलो हुने र बाटो अवरुद्ध हुदाँ तराईसम्मको आउजाउमा समस्या आउने उनको भनाइ छ । उनी भन्छिन् –‘धेरै समय भयो बाटो बनेको छैन, गतसाल देखि अहिलेसम्म हेर्दा बाटो बनेको जस्तो देखिन्छ तर, बर्खाको समयमा बाटो ठप्प हुँदा बिरामी पर्दा अस्पतालसम्म जानआउन समस्या हुन्छ ।’हाल तीन वटा अलग–अलग प्याकेजमा बाटो निर्माणको काम चलिरहेको र आगामी फागुन महिनाभित्रमा मर्चिभुङ चिसोपानी सडक खण्डमा बाटो कालोपत्रे कार्य सकिने ठेकेदार कम्पनीको भनाइ छ ।

दमकदेखि पञ्चमी बजारसम्मको ३३ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न भए पश्चिम–उत्तरी इलाम र पश्चिम–दक्षिणी पाँचथरका उपभोक्ता जनता लाभान्वित हुने छन् । पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर (चपेटी मर्चिभुङ खण्ड) कालोपत्र गर्ने भनिए पनि २ किलोमिटर मात्रै पीच गर्ने कार्य सम्पन्न भएको छ  । पहिलो खण्डको सडक निर्माण समय थप गरि २०७८ चैत्र मसान्तभित्र काम सम्पन्न गर्नु पर्ने छ । तर हालसम्म ५० प्रतिशत मात्रै काम भएको निर्माण कम्पनीका डाइरेक्टर कमल राईले बताए । यो पहिलो खण्डमा पहिले पेटि ठेक्कामा काम गर्ने टिमले काम सम्पन्न नगरेपछि फर्मवाला आफै आएका काम थालेको हो ।

यस खण्डमा सडक निर्माणको लागि २२ करोड ५९ लाख रुपैयाँको लागतमा किरातेश्वर कन्स्ट्रक्सन एण्ड डिलिङ कम्पनीले निर्माणको जिम्मा पाएको हो । दोस्रो खण्डकको १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख रुपैयाँमा र तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर ५९ करोड १५ लाख रुपैयाँमा कालोपत्रेका लागि लुम्बिनी गणपति जेभिले निर्माणको काम जिम्मा लिएको हो । २०७६ भदौ २५ गते सडक डिभिजन कार्यालय दमकले बोलपत्र आह्वान गरेको ठेक्का प्रक्रियाबाट लुम्बिनी गणपति जेभिले निर्माणको काम जिम्मा लिएको छ ।

दोस्रो र तेस्रो खण्डमा भौतिक रुपमा काम तिव्र रुपमा भइरहे पनि प्रयोग गरिएका सामग्रीहरु कम गुणस्तरको प्रयोग भएको दमक चिसोपानि (फाल्गुनन्द मार्ग) निर्माण सरोकार समितिका संयोजक देवाहाङ राई बताउछन् । काम भइरहेको तर, प्रयोग गरिएको गिटि वालुवाहरु कम गुणस्तरको रहेको उनको भनाइ छ । निर्माण गरिएको मेसिनरी वाल तथा ड्रेनमा क्यूरिङ समेत नगरिएकोले कम्जोर रहेको राई बताउँछन् । तर यता निर्माणको काम जिम्मा पाएको निर्माण कम्पनिले भने कुनै पनि सामग्री कम गुणस्तरको नरहेको बताएको छ । सबै सामग्रीहरु ल्याब टेष्ट गरेर प्रक्रिया पुराएर मात्र प्रयोग गरिएको निर्माण कम्पनिका डाइरेक्टर तुलसीराम भण्डारीले बताए ।

बाटो निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गर्न उपभोक्ता समिति लागि परेको दमक चिसोपानी रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरी दावी गर्छन् । सडक क्षेत्रको स्तरोन्नति अन्तिम चरणमा पुगेको र स्तरोन्नतिको कार्य सकिए लगत्तै कालोपत्रेको कार्य अघि बढ्ने अध्यक्ष पुरीले बताए । उनले भने–‘जुन गतिमा काम हुनु पर्ने हो, जति हामिले अपेक्षा गरेका थियौ त्यो अनुसार काम अगाडि बढेको छैन, तर अन्य सडक निर्माणको कामहरुलाई तुलनात्मक रुपमा हेर्ने हो भने कामको प्रगति देखिएको छ ।’

हिजको दिनमा कृषिजन्य तथा अन्य उत्पादनको बजारिकरणको लागि माङमालुङ रवि, राँके हुदै इलामको बाटो विर्तामोड पुग्नु पर्ने बाध्यता रहेको दमक चिसोपानि (फाल्गुनन्द मार्ग) उपभोक्ता समितिका महासचिव हेमन्त राईले बताए । तर यो छोटो दुरीको ट्र्याक खुले पछि इलामको पश्चिमि क्षेत्र साथै पाँचथर र धनकुटाका वासिन्दाहरुलाई समेत सहज भएको महासचिव राई बताउँछन् ।
आर्थिक वर्ष २०७५/०७६ बाट राष्ट्रिय सडक सञ्जालमा परेको यो सडकका लागि नेपाल सरकार भौतिक निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत बजेट विनियोजन हुन थालेको हो । त्यसका अतिरिक्त प्रदेश नम्बर १ सरकारले यस सडकलाई प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा राखेर आर्थिक वर्ष २०७६/७७ मा कालोपत्रे सहितको बजेट विनियोजन भएको थियो ।
दमक–चिसोपानी सडक निर्माण कार्य समयमै पूरा गर्न सरकारी पक्षले पनि तदारुकता देखाउँदै आएको छ । तर कहिले कोरोना भाइरसको संक्रमणले काम रोक्किँदा त कहिले समयमै बजेट नआइदिँदा काम अबरुद्ध हुने गरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ११ बजे