७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हेमन्त राई बिजय



माङसेबुङ :  माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतको झीनो अन्तरले पराजित गर्दै राई अध्यक्ष पदमा विजयी भएका हुन् ।

राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दै नेताबीच दोश्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले बाजी मार्न सफल भए ।
राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।
माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ०५ बजे