९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

‘किरात सगरमाथा’ नामकरणका लागि नेम्बाङसँग बिर्तामोडमा भेटघाट



किरात समाचार : प्रदेश -१ को नाम पहिचानको आधारमा ‘किरात सगरमाथा’ प्रदेश नामकरण गर्न शान्तिपूर्ण नैतिक दवाव समितिका प्रतिनिधिले प्रथम चरणमा शीर्ष नेताहरुसँग भेटघाट गरेको छ।

शुक्रबार झापाको बिर्तामोडमा नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुबास नेम्बाङसँग बिर्तामोडमा दबाब समितिका प्रतिनिधिहरुले भेटघाट गरेको हो ।  किरात धार्मिक पर्यटकीय स्थल माङसेबुङको बिकासका बारेमा पनि छलफल भएको जनाएको छ ।

प्रदेश नं. १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामकरणको लागि विभिन्न जिल्लाहरुमा विभिन्न जातीय संघ संस्थाहरुसँग पनि उत्साहजनक छलफल र लबिङ तीब्र गतिमा भइरहेको दबाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।

पछिल्लो समय प्रदेश नामकरण पेचिलो रूपमा उठिरहेको छ । पहिचानको आधारमा नामकरण राख्नुपर्ने माग गर्दै किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३५ वटा पहिचान सम्मीलित लिम्बुवान किरात संयुक्त संघर्ष समितिले लिम्बुवानमा किरात आन्दोलन प्रदर्शन , धर्ना जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

त्यस्तै किरात राई यायोक्खाले पनि पहिचानको आधार ‘किरात प्रदेश’ माग गर्दै र्याली ,धर्ना  र प्रदर्शन गर्दै आइरहेको छ ।

यता दवाब समितिका सदस्य सचिब पृतिमान खालिङका अनुसार ‘किरात सगरमाथा ‘ मागका लागि कुनैपनि र्याली,प्रदर्शन उतार्ने कार्यक्रम नरहेकाे बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : २२ बजे