७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्धघाटन आज हुदै



इलामः फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्धघाटन हुने भएको छ ।
सो विमानस्थलको उद्धघाटन गर्न पुर्व प्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउने भएका छन् । गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन् । इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटनका लागि ९ बजे पुर्व प्रधानमन्त्री खनाल सहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी इलाम आउने खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

विमानस्थलबाट आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिँदैछ । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो ।

प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुने जनाइएको छ । तारा एयरको १६ यात्रुु क्षमताको जहाज यहाँबाट चल्नेछ । इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११÷११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ ।

गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएपनि उडान–अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो । विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी गरिएको नगरले जनाएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा बुधवार नेपाल एयरलान्यले सफल परिक्षण उडान गरेपछि खनाल उद्धघाटनका लागि इलाम आउन लागेका हुन् । यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो ।
लोकल सन्देशबाट

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ४ : २० बजे