पाँचथर – लिम्बुवान आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सहिदहरु राजकुमार आङ्देम्बे ‘माङ्तोक’ र मनिल तामाङको नाममा पान्थर फेदेनमा सहिद माङ्तोक-मनिल स्मृति प्रतिष्ठान’ गठन भएको छ ।
फेदेनस्थित सिङ्गापुर होटेलको सभाहलमा शनिबार सम्पन्न भेलाले डिआर हाङ्सरुम्बाको अध्यक्षतामा माङ्तोक मनिल प्रतिष्ठान गठन भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा मनकुमार अधिकारी, सचिवमा कुमार यवा ‘मौसम’ र अर्थसचिवमा देउकुमार नेम्बाङ्लाइ चयन गरेको छ ।
सदस्यहरुमा सम्झना योङ्हाङ, सुरेन्द्र लावती, भक्त नेम्बाङ, दलप्रकाश लावती, सिर्जना पयाङ्गु, कुमार पदालुङ, बिकेन्द्र नेम्बाङ, रुद्र लावती, चन्द्रकुमार लिङ्देन रहेका छन ।
लिम्बुवान आन्दोलनको क्रममा २०६४ साल असोज २० गते झापाको कमलमा राज्यद्वारा गोलि हानी मारिएको राजकुमार आङ्देम्बे ‘माङ्तोक’ र समानुपातिक स्ववियु आन्दोलनको क्रममा धुलाबारी क्याम्पस झापामा राज्यद्वारा गोलि हानी हत्या गरिएका मनिल तामाङ्को नाममा उक्त प्रतिष्ठान निर्माण गरिएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल पान्थरको चौथो जिल्ला अधिबेशन २०७७ फिदिमबाट पारित विनियम अन्तर्गत गठन गरिएको जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बेले बताए ।
कार्यक्रममा संगठनका संघीय सहसचिव सागर केरुङ, प्रान्तीय सचिव सुनिता केरुङ, जिल्ला सचिव सुबास केरुङ, संघीय लेखक मञ्चका केन्द्रीय सचिव तथा यासोक क्याम्पसका प्राध्यापक डिकध्वज लावती लगायतको उपस्थिति रहेको थियो ।


