काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गर्दै शनिबारदेखि धूम्रपान निषेध गर्ने भएको छ ।
बिहिवार महानगरले सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ ।
अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ । सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याएको थियो ।
सार्वजनिक स्थलमा के के पर्छ ?
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा कस्ता स्थानलाई सार्वजनिक स्थल भनिने भन्ने पनि स्पष्ट किटान गरिएको छ ।
राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।
यस्तै सार्वजनिक स्थल भित्र चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यापाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिमार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टरलाई पनि समेटिएको छ ।
माथि उल्लेख गरिएका बाहेक अतिरिक्त कुनै ठाउँको महत्व र संवेदनशीलतालाई विचार गरी सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका अन्य स्थल पनि सार्वजनिक स्थल मानिने छन् ।


