इलाम – मंसिर ४ गतेको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएकी जुनुकुमारी माखिमले मनोनयन फिर्ता गरीनन् ।
नेपाली कांग्रेसका नेताहरुले मनोनयन फिर्ता गराउन अनेक प्रयास गरेपनि माखिमले उम्मेद्वारी फिर्ता गरीनन् । पार्टीका नेताहरुले उनको उम्मेद्वारी मनोनयन फिर्ता गराउन प्रयास असफल भएको थियो ।
निर्वाचन आयोगको तालिका अनुसार आज ( बुधबार ) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गराउने समय तोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि आजै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
इलाम क्षेत्र नम्बर २ मा जुनुकुमारी माखिम र दिपेश बोहोराले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता फिर्ता लिएनन् । त्यस्तै प्रदेश सभा २ “ख” मा स्वतन्त्र उम्मेदवार हर्कप्रसाद साम्वाले स्वतन्त्र उम्मेदवारी मनोनयन फिर्ता लिएनन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार माखिमले खर्पन बोकेको मान्छे चुनाव पाएकी छिन् । त्यस्तै गरी अर्का स्वतन्त्र उम्मेद्वार दिपेश बोहोरालाई ‘मुढा’ चुनाव चिन्ह प्रदान गरिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ “ख” का स्वतन्त्र उम्मेद्वार हर्कप्रसाद साम्बाले ‘जेब्रा’ चुनाव चिन्ह पाएका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी माखिमले प्रदेश सभामा समानुपातिक उम्मेद्वार बन्न चाहेकी थिइन् । उनको नाम सिफारिस भएको थियो । तर, समानुपातिक उम्मेद्वारको बन्द सूचिमा नाम नपरेपछि माखिमले पार्टी परित्याग गरेकी थिइन् ।
इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा गठबन्धन तर्फबाट कांग्रेसको भागमा परेको छ । कांग्रेसबाट इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का चुनाव लड्दैछन् । माखिमले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनका उम्मेदवार खड्कालाई प्रत्यक्ष असर पर्नेछ ।


