इलाम – लोकतान्त्रिक बाम गठबन्धनको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे बजार स्थित विहीबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले चुलाचुलीमा प्रारम्भिक चरणको कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।
सो अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उम्मेद्वारहरुले गठबन्धनको औचित्य सहित आफ्नो चुनावी प्रतिवद्धता चुलाचुलीबासी जनतासमक्ष व्यक्त गरेका थिए ।
इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार खड्काले प्रतिगमनको विरुद्धमा गठबन्धन भएको भन्दै संविधानको रक्षा गर्न र राष्ट्र बचाउनकै लागि गठबन्धनको उम्मेद्वारलाई जिताउन अपिल गरे । ‘संविधान मास्ने, भ्रष्ट्राचारी, तानाशाही र स्वेच्छाचारी केपी ओलीको विकल्पमा गठबन्धन बनेको छ । त्यसैले संविधानको रक्षा गर्न र राष्ट्र बचाउनका लागि हामीलाई मत दिनुहोस्’ खड्काले मतदातामासु अपिल गरे । 
त्यस्तै प्रदेशसभा सदस्य उम्मेद्वार लावतीले लोकतन्त्रको सुदृढ, संविधानको रक्षा एवम् संघीयताको कार्यान्वयनका लागि गठबन्धन बनेको बताउँदै त्यसैका लागि गठबन्धनलाई जिताउन अपिल गरे ।
सो कार्यक्रममा गठबन्धनका नेताहरुले लोकतान्त्रि बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गरेका थिए ।
कार्यक्रममा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार नेपाली काङ्ग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का, क्षेत्र नम्बर २ ‘ख’ प्रदेशसभा सदस्य उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु , कांग्रेस जिल्ला उपसभापति खगेन्द्र देवान, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङलगायत नेताहरुको उपस्थिती थियो । 
आगामी ४ मंसिरमा हुने आमनिर्वाचन ०७९ को लागि लोकतान्त्रिक बाम गठबन्धनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम भोलि इलामको महमाईमा हुने जनाइएको छ ।


