९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

इलाम – २ ‘ख’ बाट नेकपा एमालेका राम राना विजयी



माङ्सेबुङ । प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा इलाम – २ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर राना विजयी भएका छन् ।

रानाले प्रतिस्पर्धी हर्कबहादुर लावतीलाई २ हजार ५ सय ८७ मतान्तर सहित विजयी भएका हुन् । रानाले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए ।

उनका प्रतिष्पर्धी बाम लोकतान्त्रिक गठबन्धन साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर लावतीले ११ हजार १ सय ६७ मत मात्र प्राप्त गरेका थिए ।

राना नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी यसअघि इलाम २ ‘क’ बाट तत्कालिन बाम गठबन्धनबाट निर्वाचित भएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।

सो क्षेत्रमा १ एक स्वतन्त्र सहित ८ जना चुनावी मैदानमा उत्रिएका थिए ।

५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।

उता इलाम १ को प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) र ‘ख’ मा नेपाली कांग्रेसले अग्रतो छ ।

प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ खिनु लङ्वा (लिम्बू) ले अग्रता कायम राखेकी छन् ।

८ हजार ६ सय ८३ मत गणना गर्दा लङ्वाले ७ सय ५६ मतका साथ अग्रता कायम राखेकी छन् । लङ्वाले ४ हजार १ सय १२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी शोभा पराजुलीले ३ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । लङ्वालाई गठबन्धनको समर्थन छ ।

५५ हजार २ सय ४७ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका शम्शेर राईले १ सय ६८ मतका साथ अग्रता कायम राखेका हुन् ।

१० हजार ३ सय ९९ मत गणना गर्दा राईले ४ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिपककुमार थेवेले ४ हजार ३ सय ९९ मतका साथ पच्छाईरहेका छन् । राईलाई गठबन्धनको समर्थन छ ।

५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको थियो ।

इलाम २ को प्रदेश सभा ‘क’ मा भने मतगणनाको तयारी भइरहेको छ । इलाम १ मा भने हिजैदेखि मतगणना स्थगित भएका कारण परिणाममा ढिलाई भइरहेको छ । मतगणना सुचारु गर्ने सम्बन्धमा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ५२ बजे