माङ्सेबुङ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले गुरुको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको बताउनु भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको उद्घाटन गर्नुहुदैं उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
‘विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान हो’ उपराष्ट्रपति पुनले भन्नु भयो, ‘नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको छ ।’ वहाँले भन्नुभयो ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो । यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’
धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।
उपराष्ट्रपति पुनले नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि राज्यले समान दृष्टिले हेर्नपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले सबै क्षेत्रको समानुपातिक विकासका लागि नेपाल सरकार र प्रदेश सरकालाई ध्यानाकर्षण समेत गराए ।
उपराष्ट्रपति पुनले धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा रहेको समेत दावी गरे । उनले सदियौंदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म–संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरेका थिए ।
उपराष्ट्रपति पुनले ५ वर्ष पहिले नै आफूलाई गुरुबाट निमन्त्रणा आएको स्मरण गर्दै यसवर्ष आउने अवसर पाएको भन्दै धर्मगुरु लिङदेनलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले वर्तमान धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो र अपुरो कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।
उपराष्ट्रपति पुनले भालुटारमा निर्माण गरिएको धर्मगुरु लिङदेनको प्रतिमाको समेत अनावरण गरे । धर्मगुरु लिङदेनको जीवित अवस्थामा नै पहिलोपटक प्रतिमा स्थापना गरिएको छ ।