९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

शहिद मनिल तामाङको १४ औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो



दमक । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत् प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।

शहीद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयले धरानमा शहीदको फोटोमा माल्यार्पण गरी मौनधारण गर्दै मनाएका छन् । प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको हो । त्यसैगरी कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्षहरु एवी पन्धाक, भू.पु. डि.एस.पी. कृष्णमान थेवे, महासचिव अशोक चेम्जोङ् लगायत प्रतिष्ठानका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

यसरी नै संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्य समितिले शहीद मनिलको समाधिस्थल पृथ्वीनगर झापामा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष यलम्बर खम्बु, विद्यार्थी नेता मोहन मावो लगायत नेताहरुको उपस्थितिमा मनिलको समाधिमा एकमिनट मौनधारण गरी श्रद्धाञ्जली सहित कार्यक्रम गरिएको जिल्ला उपाध्यक्ष राजा आङ्थुपोले जनाएका छन् ।

मञ्चले काठमाडौं केन्द्रीय कार्यालय, पान्थरको फेदेन लगायत विभिन्न स्थानहरुमा त्यसैगरी प्रवास समिति कतार लगायत अन्य प्रवासहरुमा समेत शहीद मनिल तामाङ्को बलिदानीलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

संघीय विद्यार्थी युनियन लगायतका पहिचान पक्षका विद्यार्थीहरुले स्ववियू निर्वाचन पूर्णसमानुपातिक प्रणालीबाट हुनु पर्छ भन्ने माग राखि शान्तिपूर्ण आन्दोलन गरी स्ववियू निर्वाचन रोक्ने क्रममा प्रहरीको गोली लागी तामाङ् शहीद भएका थिए । उनलाई नेपाल सरकारले १० लाख रुपैयाँ दिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : ३७ बजे