१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

माङमालुङ महोत्सव सम्पन्न



माङ्सेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थल अवस्थित माङमालुङ कृषि तथा पर्यटन महोत्सव २०८० सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव  मूल आयोजक समितिको आयोजनामा स्थानीय कृषि तथा पर्यटन प्रवद्र्धनको लागि आयोजित २ दिने महोत्सव विभिन्न कार्यक्रम गरी शनिबार सम्पन्न भएको हो ।

महोत्सवको पहिलो दिन शुक्रबार महोत्सव उद्घाटन कार्यक्रमसहित लिम्बु समुदायको सांस्कृतिक नृत्य च्याब्रुङ (केलाङ) र राई जातिको साकेला सिली नृत्य प्रदर्शनगरिएको  थियो ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनाल, पाँचथर मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्मा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मिलन लिम्बूले शुभकामना मन्तव्य राखेका थिए ।

दुई दिनसम्म चलेको  महोत्सवमा चर्चित गायिका मेलिना राई, संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, रियालिटी शो भ्वाइस अफ नेपाल किड्सकी फाइनलिष्ट रुक्साना लिम्बू, कल्पना बानु,दिलिप माखिम,स्वस्तिका लिम्बु लगायत स्थानीय कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए ।

माङमालुङमा रहेकको एक औंलाले हल्लिने ढुङ्गा, हरीयाली चियाबारी, थालाचेप्पा (बिजुवानी ढुङ्गा), सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै शिला पत्थरमा कुँदिएका विभिन्न पशुपंक्षी र देवीदेवताका आकृतिहरु अतिथि र सञ्चारकर्मीहरुलाई  अवलोकन गराईएको थियो

दोस्रो दिन शनिबार ५ मिलोमिटर दुरीको पुरुष र महिलातर्फ मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । साथै, ३ किलोमिटर दुरीको मिडिया मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा पुरुषतर्फ १६ देखि ३० वर्ष समूहमा क्रमशः माङसेबुङ २ का दिवस राई पहिलो, सन्तोष लावती दोस्रो र एमसन लिम्बू तेस्रो भए ।

त्यस्तै पुरुषकै ३१ देखि ४५ वर्ष उमेर समूहतर्फ भने माङसेबुङ ६ का जगत राई पहिलो, राजेश राई दोस्रो र अरुण राई तेस्रो भए ।

महिलातर्फ भने माङसेबुङ ६ की सुमी राई पहिलो, माङसेबुङ ५ की नानीफुङमा हाङमा वाजी दोस्रो र माङसेबुङ ६ की कल्पना राई तेस्रो भइन् ।

मिडिया खुलातर्फ झापा दमकका चिरञ्जीबी घिमिरे पहिलो, इलाम फाकफोकथुमका भगिरथ भण्डारी दोस्रो र झापा दमकका कमन देवान तेस्रो भए । महिलातर्फ इलामका भूमिका सुब्बा फियाक पहिलो भइन् ।

विजेताहरुलाई माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ ६ का वडाध्यक्ष प्रदिप साङपाङलगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  २ : ०५ बजे