माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिकामा धनीपूर्जाका लागि फारम भरेका दुई हजार ५८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपूर्जाको लागि निस्सा वितरण सुरु गरेको छ ।
मंगलबार भूमि आयोगको समन्वयमा चिसोपानी पञ्चमीमा एक कार्यक्रमको आयोजना गरी माङ्सेबुङ–६ का ९ जना भूमिहीन सुकुम्बासी र तीन सय ७८ अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेर सुरु गरिएको हो ।
निस्सा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसीलगायतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेका थिए ।
माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकामा भूमिहीन दलित २३, भूमिहीन सुकुम्बासी २२८ र अव्यवस्थित बसोबासी दुई हजार ३०६ जना रहेको जानकारी दिए। उनले गाउँपालिकाको समस्याको रूपमा रहेको जग्गाधनी प्रमाणपूर्जा समाधान गर्न लागि परेको समेत बताए ।
धनीपूर्जाका लागि निस्सा वितरण ६ वटै वडामा निस्सा वितरण कार्य थालिएको छ । यसैगरी वडागत रुपमा वडा नम्बर ३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ सम्ममा सक्ने गरी काम गरिरहेको गाउँपालिकाका प्रवक्ता सुसन राईले जानकारी दिए ।


