१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

अमेरिका र बेलायतले रुसको तेल तथा ग्यासमा प्रतिबन्धको घोषणा




एजेन्सी : युक्रेनमाथि आक्रमण जारी राखेको विरोधमा रुसविरुद्ध चौतर्फी घेराबन्दी तिब्र पारिएको छ।

अमेरिका र बेलायतले रुसको तेल तथा ग्यासमा प्रतिबन्धको घोषणा गरेका छन्। युरोपेली संघले पनि इन्धनको परनिर्भरता घटाउने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई नै प्रहार गर्ने बताए।

रुसको आम्दानीको महत्वपूर्ण स्रोत इन्धन निर्यात नै हो। यो निर्णयले आफ्ना नागरिकलाई असर पर्न सक्ने भन्दै पश्चिमा देशहरुले भने इन्धन आयातको विकल्प खोज्न थालेका छन्। यहीबीचमा भेनेजुयलाले रुसी तेल प्रतिस्थापनका लागि सहयोग गर्न आफ्नो तेल उत्पादन वृद्धि गर्ने घोषणा गरेको छ।

भेनेजुयलाका तेल च्याम्बर प्रमुख रोनाल्डो क्विन्टेरोले आफ्नो उत्पादन स्तरलाई हालको दैनिक आठ लाख ब्यारेलबाट बढाएर १२ लाख पु¥याइने बताएको बिबिसीले उल्लेख गरेको छ। युक्रेनमाथि आक्रमणकै विरोधमा थुप्रै बहुराष्ट्रिय कम्पनीले रुसमा आफ्नो उत्पादन तथा बिक्री बन्द गरेका छन्। यस्तो निर्णय गर्नेमा कोकाकोला, पेप्सी, युनिलिभिर, स्टारबक्स, म्याकडोनल्ड्सलगायत रहेका छन्।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले रुसविरुद्ध जस्तो सुकै परिस्थितिमा पनि नझुक्ने अठोट व्यक्त गरे। वेलायतको तल्लो सदन हाउस अफ कमन्समा बेलायती सांसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले आफूहरु जंगल, मैदान, समुद्री तट र सडकमा लड्न तयार रहेको बताए।

थाहा खबरबाट साभार गरिएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ५७ बजे