७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : डिफेन्डिङ च्याम्पियन छथर तेह्रथुमलाई हराउँदै मोरङ सेमिफाइनलमा प्रवेश



माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप  फुटबल प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज(आईतबार) भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजङगा मोरङ सेमिफाईनलमा प्रवेश गरेको हो ।

मोरङको जितमा एक मात्र विजयी गोल सञ्जय धिमालले गरेका थिए । उनले खेलको २८ औं मिनेटमा गोल किपरसँग वान भर्सेज वानमा जाली चुमाएका थिए । ए डिभिजन लिग खेलेका बिजु भुजेल, अशोक खवास र अफ्रिकी देशका खेलाडी पेपे, जस्ता खेलाडीको साथमा उत्रेको छथर सुरुवाती समयमा नै आक्रमक देखिएका थिए । अनुभवी खेलाडीको साथ पाएको डिफेन्डिङ च्याम्पियन छथरले थुप्रै अवसरहरु सृजना गरेपनि जाली भने चुम्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ ।

खेलको म्यान अफ दी म्याच विजेता टिम मोरङका सञ्जय धिमाल घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि(सोमबार) गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत सञ्चालन भईरहेको आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ३८ बजे