७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : एमएफसी दार्जिलिङ सेमिफाइनलमा



माङसेबुङ ।  आत्मानन्द कप  फुटबल प्रतियोगिताको सेमिफाईनलमा एमएफसी दार्जिलिङ, भारत प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो ।

दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे ।  गोलबजार सिराहाका लागि मनिष मगरले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै दार्जिलिङले सुजल मुण्डाको गोलमा सुरुवाती अग्रता बनाएको थियो । तर ,खेलको ११ औं मिनेटमा मनिष मगरले गोल गर्दै गोलबजारलाई बराबरीमा फर्काएका थिए । त्यसपछि भने दूबै टिम आक्रमक देखिएको खेलमा मुण्डाले पुनः ३७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै दार्जिलिङलाई २–१ को अग्रता दिलाएका थिए । यस्तै खेलको दोस्रो हाफ्को २२ औं मिनेटमा दार्जिलिङका लागि श्याम मुर्मुले गोल गर्दै ३–१ को जित दिलाए ।

गतबर्ष मात्रै सि डिभिजनमा बढुवा भएको गोलबजार सिराहाले आत्मानन्द कपमा पहिलो पटक सहभागिता जनाएको हो । ए डिभिजन लिग बिजेत चर्ज ब्वाईजबाट खेलिसकेका गोल किपर रेम्बो चौधरीको साथमा मैदानमा उत्रेको गोलबजारले हार टार्न नसक्दा पहिलो चरणबाटै बाहिरिनु परेको छ । खेलको म्यान अफ दी म्याच विजेता टिम दार्जिलिङका सुजल मुण्डा घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि(मंगलबार) पहिलो सेमिफाईनल खेलमा घरेलु टिम माङसेबुङ गाउँपालिका र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन । प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : ३६ बजे