७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विद्यार्थी र अभिभावकको आवाज सुन्दैन सरकार, अरूमाथि दोष थुपार्छन् सञ्चालक


२६ पुस २०७८, सोमबार  

0
Shares

काठमाडौं : नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत विद्यार्थी र अभिभावकले पछिल्लोपटक आन्दोलन थालेको करिब एक महिना हुन लाग्यो।

तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कलेज प्रशासनलाई उनीहरूले ज्ञापनपत्र बुझाए। माग सम्बोधन नभएपछि विद्यार्थीले धर्नालगायत विरोधका कार्यक्रम सुरु गरे।

त्यसपछि स्थानीय प्रशासनले चासो दियो। प्रमुख जिल्ला अधिकारीको संयोजनमा दुवै पक्षलाई बोलाएर यही पुस ५ गते छलफल गराइयो। त्यसबेला दुवै पक्षबीच छलफल भयो तर सहमति भएन।

त्यसयता सहमतिका लागि कुनै प्रयास भएन। बरु अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थीको आन्दोलन बढ्दै गयो।

एकातिर कोरोना महामारीको तेस्रो लहर सुरु भइरहेको छ अर्कोतिर मेडिकल कलेजका विद्यार्थी र अभिभावकको आन्दोलन झन् बढ्दैछ। दिनहुँजसो धर्नाको कार्यक्रम भइरहेको छ। सोही माग राखेर आन्दोलन गरेका काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरूसँग गत शुक्रबार कलेज प्रशासनले सहमति गर्‍यो। तर, सञ्चालक एउटै रहेको भनिएको विराटनगरको मेडिकल कलेज त्यस्तो सहमति गर्न तयार छैन।


गत बिहीबार कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति कलेजले स्थानीय प्रशासनसँग गरेको थियो। आइतबार सो सहमतिविपरित अतिरिक्त शुल्क बुझाउने विद्यार्थीलाई राखेर कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरू तोडफोडमा उत्रिए।

त्यसक्रममा नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि केही विद्यार्थी घाइते भए। विद्यार्थीको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनहरूको समेत समर्थन छ। तर, कलेजले राजनीतिक कारणले आन्दोलन भएको बताएको छ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ४६ बजे