७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ :लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश



विराटनगर :मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को शुक्रबार भएको खेलमा जहदा—५ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश गरेको छ ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा—५ लाई १ विकेटले पराजित गर्दै आयोजक टीम फाईनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा—५ ले निर्धारित २० मध्ये १८ औं ओभरमा सबै विकेट गुमाई १२९ रनको स्कोर खडा गरेको थियो । जहदा—५ का लागि मोहम्मद निजामुद्दिनले सर्वाधिक ३३ रन जोडदा सरोज महतोले २८, रबिन मण्डलले २६, आर्यन साहले १० र रुपेश मण्डलले ९ रनको योगदान दिएका थिए । जहदा—५ का लागि बुधन महतोले २ विकेट लिँदा आर्यन साह र रामप्रवेश शर्माले पनि २÷२ तथा मुकेश मण्डल र रुपेश मण्डलले १÷१ विकेट लिएका थिए ।

१३० रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लबले १५ औं ओभरको प्रगतिमा ९ विकेटको क्षतिमा सो विजयी लक्ष्य भेट्टाएको थियो । लक्ष्मिनिया युवा क्लबका अभिषेक साहले ३९ रन बनाउँदा अभिषेक सिंह राजपुतले २६, निरञ्जन अधिकारीले १८, बलराम कामतले १५, मुन्ना मण्डलले १० र अंकित सिंह राजपुतले ९ जोडेका थिए । क्लबका लागि खेलका ‘म्यान अफ द म्याच’ जयकिशोर सिंहले ४ विकेट लिँदा श्यामसुन्दर मण्डल र अभिषेक सिंहले २÷२ तथा बलराम कामतले १ विकेट लिएका थिए ।

लिगकम नकआउटको खेलाईएको टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते शनिबार दिनको १ बजेदेखि सुरु हुनेछ । केही आन्तरिक कारणले खेलको पहिलो सेमिफाईनल पनि शनिबार नै हुने जनाईएको छ । बिहान ९ बजेदेखि सुरु हुने जहदा—३ र जहदा—४ बिचको पहिलो सेमिफाईनल सकिएपछि फाईनल चरणको खेल हुने आयोजक संस्थाका अध्यक्ष नितेश साहले जानकारी दिए ।

खेलको विजेता तथा उप—विजेताले भने क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण—पत्र र रनिङ शिल्ड प्राप्त गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ३७ बजे