दमक : भुटानी शरणार्थी मानवअधिकारवादी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय डा. राईको आज बिहान दुई बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामो समय देखि पेट सम्बन्धी गम्भीर रोगबाट ग्रसित डा. राईको पाँच दिन अघि दमक लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरेका थिए ।
शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । उनलाई दमकका अर्का डा. बेदनिधी खतिवडाले शनिबार मध्यान्हमा विराटनगर नोवल अस्पताल पुराएका थिए ।
तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राई हाल दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए ।
राईको पार्थिव शरीरको आइतबार नै किरात धर्मसंस्कारअनुसार झापाको कमल पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको किरातसमाधी स्थलमा अत्येष्टि गरिने जनाइएको छ ।
२९ बर्ष दमक ८स्थित खगेन्द्र गुरागाईको घरमा डेरा बस्दै आएका डा. राईलाई हाल दमक नगरपालिकाले निःशुल्क व्यवस्था गरेको आवास दमक ५स्थित खेम भण्डारीको घरको भुईतलाको किचन सहितको फ्ल्याटमा बस्दै आएका थिए ।