१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

‘लिम्बूवान-किरात नभए बिद्रोह हुन्छ’ – बिक्रम फागो वनेम



प्रदेश १ को नामाकरण लिम्बूवान,किरात नभए बिद्रोह हुने  सामाजिक अभियान्ता बिक्रम फागो वनेमले बताए ।

मंगलबार बिराटनगरमा अवस्थित प्रदेश १ को संसद भवन अगाडि प्रदेश १ को नामाकरण पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्ने माग सहितको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अभियान्ता वनेमले सो कुरा वताएका हुन् ।

प्रदेश १ को नामाकरण लिम्बूवान किरात हुन सक्दैन भने अरु केहि केहिपनि हुन सक्दैन ।’ अभियान्ता वनेमले भने, ‘हामीले कहिले सम्म अधिकार मागि रहने, अवत माग्ने होइन, लिम्बूवानको कित्ता काट गर्नुपर्छ ।’ उनले भने, ‘प्रदेश १ को नामाकरण लिम्बूवान, किरात भएन भने मर्न र मार्न पनि तयार छौं । भोलि लिम्बूवान किरात हुन सकेन भने हाम्रो साथमा बन्दुक पनि हुन सक्छ ।’ वनेमले भने,  ‘यो मुलुकलाई लिम्बूवान चाहिन्दैन भने, लिम्बूवानलाई पनि यो मुलुक चाहिदैन ।’

यसैगरि धर्ना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लेखक भवानी बरालले हामी सडकमा रहरले आएको होइन राजनीतिक बिज्ञानले, राजनितिक भाषाले, राजनितिक पहिचानले गर्दा आएको बताए । उनले भने, ‘हामीलाई सडक प्यारो लाग्छ । हामीलाई पहिचान सहितको लिम्बूवान, किरात चाहिन्छ ।’

यता प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा दलहरूबीच पनि छलफल चुलिएको छ तर, निष्कर्षमा भने पुग्न सकेको छैन ।

भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नामाकरणको विषयलाई लिएर पछिल्लो समय पहिचानवादी विभिन्न सङ्गठनहरुले दैनिक जस्तो सडक आन्दोलन गरिरहेको बेला प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान नाच, केलाङ (च्याब्रुङ) नाचेर प्रदर्शनी गरेका छन् ।

प्रदेश १ को नामकरण लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै एक बर्ष अघि किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित समितिले साझा मुद्दाको रुपमा लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

लामो समयदेखि पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति त्यसैगरी एमाले, कांग्रेस लगायत दलका जातीय मोर्चाका शिर्ष नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ११ बजे