६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

लिम्बुवान, किरात प्रदेश नामाङ्कन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



विराटनगर : लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा लिम्बुवान, किरात नामाङकन विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा पहिचानवादी नेता पदम अधिकारीले प्रस्तुत् गरेका कार्यपत्र माथि टिप्पणी गर्दै वक्ताहरुले लिम्वुवान किरात नामकरणका आधारहरु प्रस्तुत् गरेका थिए ।

कार्यपत्र माथि संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देन, नेपाली काँग्रेसका प्रदेश सदस्य मित्रसेन योञ्जन, माओवादी केन्द्र सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका प्रेम मिभक, जसपा सम्वद्ध लिम्वुवान राष्ट्रिय मोर्चाका महासचिव केदार धिमाल, अखिल नेपाल लिम्बु राष्ट्रिय मुक्ति मोर्चाका सहअध्यक्ष पारस लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश ईन्चार्ज भक्तशेर लिम्बु लगायत नागरिक समाजका अगुवाले आ–आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा उठेका सवालका विषयमा प्रदेशका आर्थिक मामिला तथो योजना मन्त्री ईन्द्र आङ्बो मौसम, स्वास्थ्य मन्त्री जयराम यादव, सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे, प्रदेशसभा सदस्य सिता थेवे र सुयर्मा राईले टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।

प्रदेशको नामाकरणको संभावना टर्दै गएको र पहिचान बिनाको नाम आफूहरुले ल्याउन नचाहेको सहभागि सांसदहरुले एकै स्वरमा बताएका थिए । प्रदेशको नामाकरणका लागि बरु ताजा जनादेश लिएर बनाउने जिम्मा दिन उपयुक्त हुने अर्थमन्त्री ईन्द्र आङ्वोले बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले प्रदेश नं. १ को नाम यहाँको ईतिहाँस र सभ्यताको आधारमा लिम्वुवान किरात हुनुपर्ने धारणा राखेका थिए । साथै पहिचानको आन्दोलन कमजोर भएको कारण नामको विषयमा साझा बनाएर यायोक्खा र चुम्लुङ एक ठाउँमा उभिनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रम समापन गर्दै बोल्ने क्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले एक्लाएक्लै लड्दा पहिचानको मुद्धा कमजोर हुने भएको हुँदा किरात राई यायोक्खा र चुम्लुङ बिच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसको लागि सहज वातावरण बनाउन आफूहरु तयार रहेको उने बताएका छन् । साथै अब चुम्लुङले आन्दोलनको स्वरुप फेर्ने बताएका छन् । आगामी निर्वाचनमा चुम्लुङले पहिचानवादी नेतालाई छानेर मत दिने भूमिकासम्म निर्वाह गर्ने पनि बताएका छन् ।

कार्यक्रम चुम्लुङकी महासचिव निरन्ती तुम्वापोले संचालन गरेकी थिईन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : १९ बजे