२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

इलाम २ मा ‘हेभिवेट’ नेतासंग जुनु माखिमको रोचक चुनावी प्रतिस्पर्धा



माङ्सेबुङ – आगामी ४ मंसिरमा आमनिर्वाचन देशैभर एकै चरणमा हुदैछ । निर्वाचन नजिकीदै गर्दा पाचौं पटक चुनाव लड्दै गरेका नेकपा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र – २ इलाममा चुनावी चर्चा बढ्न थालेको छ ।

प्रतिनिधि सभामा इलाम क्षेत्र – २ मा १४ जनाको उम्मेदवारी परेको छ। चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार जुनु कुमारी माखिम हेभिवेट नेता सुवासचन्द्र नेम्बाङसंग चुनावी मैदानमा उत्रीएकी छिन् ।

सो क्षेत्र – २ बाट एमाले नेता सुवास नेम्बाङले उम्मेदवारी दिएका छन् । नेम्बाङको प्रतिद्वन्दीको रूपमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा लड्दैछन ।

प्रतिनिधिसभाको १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधि सभा तर्फ महिला उम्मेदवारको संख्या २२५ मात्रै छ । इलाममा प्रतिनिधिसभा सदस्यमा २५ जनाले र प्रदेशसभा सदस्यमा २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ५ हजार बढी उम्मेदवार चुनावी दौडमा रहेका छन् । तीमध्ये ४ सय ९५ जना चयन हुनेछन् । निर्वाचन मुख्यतः दुई गठबन्धनसहित स्वतन्त्र उम्मेदवारबीच देशैभरि प्रतिस्पर्धा हुदैछ ।

को हुन जुनु माखिम ?

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुनु कुमारी माखिम इलाम क्षेत्र – २ मा स्वतन्त्र उम्मेदवार बनेका छन् । माखिमले नेपाली कांग्रेस पार्टीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेकी हुन् ।

डेढ दशकयता नेपाली कांग्रेस इलाम जिल्लामा रहेर जुनु कुमारी माखिम राजनीतिमा होमिएकी हुन् । नेपाली कांग्रेस महिला संगठन माङ्सेबुङ पुर्वअध्यक्ष र १३ औ क्षेत्रीय प्रतिनिधि र १४ औ महाधिवेशन प्रतिनिधिको रूपमा रहेर राजनीतिमा क्रियाशील रहेकी थिइन् ।

जिल्लामा उदाउँदो महिला नेतृको रूपमा परिचीत माखिम प्रदेश सभामा इलाम क्षेत्र नम्बर – २ बाट समानुपातिकमा सिफारिस  भएकी थिइन् । तर, बन्दसूचीमा नाम समावेश नगरिएपछि उनि पार्टीप्रति असन्तुष्ट जनाउदै माखिमले असोज २२ गते पार्टी परित्याग गरेकी छन् ।

वि.स २०६१ सालमा किरात साम्यो थामेन्दिङमा पान्जुम्भो संगठनमा आवद्ध भइन । सामाजिक धार्मिक संघसंस्थामा रहेर राम्रै छवि बनाएकी माखिम वि.स २०६३ सालको अधिबेशनबाट धार्मिक संगठन थामेन्दिङमा पान्जुभोको उपाध्यक्षमा निर्वाचित भइन । त्यसैगरी ०६५ – ०७० गरी दुईकार्यकाल सम्म अध्यक्षको जिम्मेवारी सम्हालिन ।

राजनीति तथा सामाजिक सेवामा सक्रिय माखिम जिल्लामै चिरपरिचित छिन् । दर्जनौं संघसस्थामा आवद्ध रहेर आफ्नो कार्यकौशल देखाईसकेकी छिन् । जिल्लाको पश्चिम दक्षिणी क्षेत्र विकास निर्माणबाट पछि परेको क्षेत्रबाट माखिमको उम्मेदवारीलाई स्थानियले चासोको रुपमा हेरिरहेका छन् ।

इलाम २ मा प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारी

आगामी ४ मंसिरमा हुने निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गरेका छन् ।

को को छन् त मैदानमा ?

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी सो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् । त्यस्तै जुनु कुमारी माखिम र दिपेश बोहोराले स्वतन्त्रमा मनोनयन दर्ता गराएका छन् ।  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेपाली कांग्रेस पार्टी बलियो पार्टीको रूपमा रहेको  छ । यि दुई पार्टीको जनलहर राम्रो देखिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ४५ बजे