१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

माङ्सेबुङमा प्रथम अठासी गोल्डकप १८ कार्तिकदेखि संचालन हुने



माङसेबुङ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक लालीगुँरास युवा क्लवले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले कार्तिक १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे जानकारी गराएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष योङ्हाङले भने ।

अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए । उनका अनुसार ९ साइड खेलाइने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक १६ गतेभित्र इन्ट्री गर्नुपर्ने छ ।

माङसेबुङ गाउँपालिका, वडा नम्बर ५ कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक स्रोतबाट प्रतियोगिता सञ्चालन गरिने क्लबको भनाइ छ ।

प्रतियोगिता बारे हालसम्म पालिकामा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको विकासका लागि माङसेबुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य एवम् प्रवक्ता सुसन राईले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ४३ बजे