२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

नेकपा एमाले सरकारबाट बाहिरियो



काठमाडौँ । नेकपा एमाले पनि सरकारबाट बाहिरिएको छ । एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन  फिर्ता लिएको छ ।

पार्टीको केन्द्रिय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले सरकारबाट फिर्ता हुने निर्णय  गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्रीले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएकोले उक्त निर्णय गरिएकाे बताए ।

‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ । तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ ।’

प्रधानमन्त्रीकाे पछिल्लाे हर्कतबाट राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर पारेको  उनले बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको उनकाे भनाइ थियाे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : २८ बजे