६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पहिचानवादी सहिद लाजेहाङको शवयात्रासहित शनिबार अन्त्येष्टि गरिने



दमक ।  पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिले परिवारसँग सवन्वय गरी शव अन्त्येष्टि गर्ने जनाएको हो ।

अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२ः३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउँदै २ः३० बजे शहीद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने संघर्ष समितिले जनाएको छ ।

संयुक्त संघर्ष समितिको मंगलबार बसेको जुम बैठकले शवको अन्तयेष्टि गर्ने निर्णय गरेको हो । चैत्र ५ गते विराटनगरमा प्रदेश नं. १ को नाम कोशी खारेजीको माग गर्दै आयोजित बृहत जनप्रदर्शनको क्रममा प्रहरीको लाठ्ठी प्रहारबाट टाइकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बुको उपचारको क्रममा धरानस्थित बि.पि. मेमोरियल प्रतिष्ठानमा निधन भएको थियो ।

संघर्ष समितिले शवलाई घोपास्थित मर्चरीमा राखी निरन्तर आन्दोलन गरिरहेको छ । सरकारले लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको छ । सरकारले आन्दोलनकारीहरुको मागलाई भने सम्बोधन नगरेको हुँदा आन्दोलनलाई पुन निरन्तरता दिने संघर्ष समितिले शनिबार जारी गरेको विज्ञप्ति उल्लेख गरेको छ । जारी बिज्ञप्तिमा बैशाख १० गते इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : २७ बजे