२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

इलाममा एमाले अध्यक्ष ओलीलाई पहिचान पक्षधरहरुले देखाए कालो झन्डा



इलाम ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिलाई इलाम सदरमुकाममा पहिचान पक्षधरले बिहिवार कालो झन्डा देखाएका छन्  ।

जिल्ला कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन इलाम पुगेका एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्बाङ र रामबहादुर राना मगर सहभागी कार्यक्रम चलिरहँदा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको कार्यकर्ताले इलामको चोक बजारमा  ‘कोशी प्रदेश खारेज गर ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै    कालो झण्डासहित प्रदर्शन गरेका थिए ।

कालो झण्डा प्रदर्शनसहित नाराबाजी गर्ने क्रममा ९ प्रदर्शनकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदम, बिक्रम फियाक, सपना राई, रोङ गाउँपालिकाका विक्रम राई, देउमाई नगरपालिकाका धर्म लिम्बू, कुमार फत्र, महेश फियाक, पाँचथर फाल्गुनन्द गाउँपालिकाका गणेश लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको थियोे ।

प्रदर्शनको क्रममा पक्राउ परेका प्रदर्शनकारीहरुलाई  छुटाउन नाराबाजी सहित जिल्ला प्रहरी कार्यालय घेर्न पुगेका थिए । प्रदर्शनकारीलाई करिब दुइ घन्टा पछि बिनासर्त रिहाई गरिएको समेत संघर्ष समितिले जनाएको छ ।

प्रदर्शन कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचान विरोधी भारतीय नाम कोशीलाई खारेज नगरेसम्म सरकारसँग वार्ता समेत नगर्ने जानकारी गराए ।

प्रदर्शनकारीले जिल्ला खेदकुल विकास समितिको कोशी प्रदेश लेखिएको बोर्ड समेत भत्काई दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : ०१ बजे