७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा



काठमाडौं । घरेलु टोली भारत आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार वानखडे स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले उपाधिका लागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।

भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा अलआउट भयो । न्युजिल्याण्डका लागि डेरिन मिचेलले १ सय ३४ रनको शानदार इनिङ्स खेले । कप्तान केन विलियम्सले ६९ रन र ग्लेन फिलिप्सले ४१ रनको योगदान गरे ।


भारतकाे जितमा मोहम्मद सामीले ५७ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यस्तै जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप कार्कीले समान एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । बिराट कोहलीले कीर्तिमानी ५० औं शतक प्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले । दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए ।विराटले एकदिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन् ।

ठुलो रनतर्फ अघि बढेका सुभमन गिल ८० रनमा रिटायड हर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रनको योगदान गरेका थिए । केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए ।उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । सुर्यकुमार यादव १ रनमा आउट भएका थिए । न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट हात पारेका थिए ।दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका खेल्नेछन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ९ : २६ बजे