७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फिफा विश्वकप छनोटमा आज युएईसँग खेल्दै नेपाल



दमक । फिफा विश्वकप छनोट अन्तर्गत आज युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल   युएईसँग खेल्दैछ। दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ । जस अनुसार पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ। पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो । चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

नेपाली टिम

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : १० बजे